तानसेन,१ जेठ ।
बन्दाबन्दीमा पाल्पाको माथागढीका जङ्गल तथा बारीमा फलेका तरकारी तथा फलफूल करीब रु २२ लाख बिक्री भएको छ । माथागढी गाउँपालिकाको जंगल तथा बारीमा कृषकले उत्पादन गरेको तरकारी तथा काफल राम्रो बिक्री भएको हो ।
बजार क्षेत्रमा तरकारी पु¥याउने कार्य अहिले भने रोकिएको छ । कोरोना भाइरसको संक्रमित वृद्धिसँगै सरकारले एक जिल्लादेखि अर्को जिल्लासम्मको सवारी साधन आवागमनमा पूर्णरुपले रोक लगाएपछि बिक्रीको कामसमेत रोकिएको हो । माथागढी गाउँमा उत्पादित सिप्लिगान, तरुल, भ्याकुर, भुटुक, वनधनियाँ, कोइरालो, कर्कलो, पदिना, लौका, काँक्रो, टमाटरलगायत तरकारी र काफल पाल्पाका तानसेन, बर्तुङ र बाँसटारी, रुपन्देहीका बुटवल, भैरहवा र खैरेनी, स्याङ्जाको गल्याङ तथा नवलपरासीको सुनवललगायत क्षेत्रमा बिक्री हँुदै आएको थियो । “जंगलमा फलेको भुटुक कहिल्यै बिक्री हुन्थेन, अहिले राम्रो बिक्री भएको छ”, माथागढी –२ की देवी घर्तीले भन्नुभयो ।
यसअघि डोकामा बोकेर बिक्री गर्नुपर्ने यस्ता कन्दमूल तथा तरकारी यसपालि भने प्रदेश नम्बर ५ सरकार, कृषि ज्ञानकेन्द्र पाल्पाको समन्वयमा माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले सवारी साधनको प्रबन्ध गरेर बजारसम्म लगेर बिक्री गरिदिएपछि कुहिएर जान्छ कि भन्ने चिन्तामा रहेका कृषक खुशी भएका छन् । रुप्सेका दामोदर घर्तीले करीब १० रोपनी जग्गामा उत्पादन भएको काँक्रो सहकारीले बिक्री गर्ने व्यवस्था गरिदिएकामा खुशी व्यक्त गर्नुभयो । त्यस्तै बक्सादीका हरिमाया सारुले यस पटक सबैभन्दा धेरै काफल बिक्री गर्नुभयो । उहाँले एकपटकमा ५४ मानासम्म बिक्री गरिएको बताउनुभयो । माथागढीको काफल मात्रै रु ११ लाखभन्दा बढीको बिक्री भएको सहकारीका उपाध्यक्ष टोपला पाण्डेले जानकारी दिनुभयो ।
जिल्लाका सपाङ्दी, सिलङ्दी, कसेनी, झडेवा, ज्यामिरे, सिकारकोटलगायत क्षेत्रका जंगलमा उत्पादित लोपोन्मुख जैविक तरकारी तथा कन्दमूल खाएमा स्वास्थ्यमा समेत फाइदा पुग्ने स्थानीयवासी बताउँछन् । ”“दुई रोपनी जग्गामा काँक्रो र एक रोपनीमा लगाइएको बन्दा बिक्री गर्न सम्भव हुन्छ जस्तो लाग्थेन तर अहिले बन्दाबन्दीको समयमा बजारसम्म आफूले उत्पादन गरेको तरकारी सहकारीको सहयोगमा बिक्री गर्न पाएकामा निकै खुशी लागेको छ”, माथागढीका भवानसिंह गाहाले बताउनुभयो ।
कृषकलाई एकताबद्ध गरेर उनीहरुले उत्पादन गरेका तरकारी फलफूल बिक्री गराएर आयआर्जनमा प्रेरित गरिएको माथागढी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थी बताउनुहुन्छ । उहाँका अनुसार तरकारी बेचेरै अन्नको जोहो गर्नेलाई सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ । तरकारी टिप्न, संकलन गर्न र बिक्री गर्न स्थानीयवासीले उत्साहित भएर सघाएका थिए।रासस
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏