जेठ,१५ काठमाडौँ ।
सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कृषि क्षेत्रका लागि ४१ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् ।
कृषिमा छुट्याइएको बजेटको क्षेत्रका बारेमा जानकारी दिँदै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड बजेट छुट्याइएको बताएका छन् ।
उनले रासायनिक मलमा अनुदान बृद्धि गरी ११ अर्ब पु¥याइएको, २ सय खाद्य भण्डारण स्थापनाको लागि १ अर्ब बजेट छुट्याइएको, सबै स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने, सबै स्थानिय तहमा बजार पूर्वाधार निर्माण गरिने बताए ।
सामूहिक खेतीलाई प्रेरित गर्न शीतभण्डारको लागि अनुदान दिइने, २ सय खाद्य भण्डारण केन्द्र बनाउने स्थानीय तहलाई १ अर्ब अनुदान दिइने पनि मन्त्री खतिवडाले जानकारी दिए ।
त्यस्तै फलफूलको विरुवा उत्पादन गर्न १ करोड ५ लाख छुट्याइएको छ भने सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेटमा राखिएको छ ।
आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने योजना पनि बजेटमा राखिएको छ । बजेटमा उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको छ ।
यस्तै कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने व्यवस्था लागू गरिनुका साथै किसान क्रेडिट कार्डको अवधारण सुरु हुने र एपमार्फत किसानलाई मूल्यबारे जानकारी गराइने मन्त्री खतिवडाले जानकारी दिए ।
गतवर्ष कृषिमा ३४ अर्ब ८० करोड रुपैयाँ छुट्याइएको थियो । यसवर्ष कोरोना भाइरसका कारण कृषि क्षेत्रमा रोजगारीमा खोजिनु पर्ने भएका कारण कृषिमा बजेट बढाउनु पर्ने माग बढेका थिए ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेका छन् ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏