हेटौंडाको हटियामा माछा पालनका लागि प्रदेश सरकारको ४८ लाख अनुदान

कृषि पोष्ट संवाददाता

हेटौंडा, २२ जेठ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा माछा पोखरीको आज उद्घाटन् गरिएको छ । बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयको ४८ लाख रुपैयाँ अनुदान सहयोग रहेको निर्माण भएको माछा पोखरीको आज उद्घाटन् गरिएको हो ।

१० हेक्टर जमिनमा हटियामा माछापोखरीको आज बागमती प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले उद्घाटन् गर्नुभएको हो । आज मन्त्री लामाले कमनकारका भुरालाई पोखरीमा छोड्दै उद्घाटन् गर्नुभएको थियो । एजी कृषि फार्म प्रालिले २ करोड रुपैयाँ लगानी गरेर सुरुवात गरेको फार्ममा प्रदेश सरकारले अनुदान दिएको हो ।

हेटौंडा–१६ का ३४ जना जग्गाधनीसँग कुल १० हेक्टर क्षेत्रफल जमिन लिजमा लिएर ९ वटा माछापोखरी बनाइएको एजी कृषि फार्मका सञ्चालक गणेश दाहालले जानकारी दिनुभयो । माछापोखरीको उद्घाटन गर्नुहुँदै मन्त्री लामाले प्रदेश सरकारले मकवानपुरको मनहरीसँगै चितवन र सिन्धुली जिल्लामा पनि व्यावासायिक माछापालनका लागि अनुदान वितरण गरेको जानकारी दिनुभयो ।

कृषिलाई भरपर्दो पेशाको रुपमा स्थापित गर्न प्रदेश सरकारको सहयोग निरन्तर रहने उल्ले गर्नुहुँदै मन्त्री लामाले कृषिमा आत्मनिर्भर हुन खेतबारी मात्रै नभएर आली पनि खाली छाड्न नहुने बताउनुभयो । एजी कृषि फार्मले माछासँगै लोकल कु्खुरा, हाँस, टर्की, खसी, बोका पालन पनि गर्ने जनाएको छ । कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर योगेन्द्र बहादुर कार्की, प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर हरि कुमार रघु श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏