जेठ ,२६ काठमाडौं ।
पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेका छन् । आफ्नो पुर्ख्यौली गाउँ पुगेका महरा यतिबेला खेतिपातीमा व्यस्त छन् |
महराले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ ।
उनी तीन दिन अगाडि रोल्पा पुगेका थिए । खेतिपातीको समय सुरु भएकाले उनले पुर्ख्यौली गाउँ आएको बताएका छन् ।
पारिवारिक सदस्यहरुका अनुसार महरा बिहान र साँझ खेतीपातीमा व्यस्त हुन्छन् । दिउँसो भेटघाट र छलफलमा बिताउँछन् ।
सभामुख पदमा रहेकै बेला एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । उनले आफू राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकाले फसाइएको बताउँदै आएका छन् ।
यो प्रकरणपछि महरा धेरैजसो समय आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ र आसपासका क्षेत्रमा कार्यकर्ता भेटघाटका लागि गइरहन्छन् । पछिल्लो पटक करिब एक साताअघि स्वास्थ्य सामग्रीहरु लिएर महरा दाङ गएका थिए । दाङबाट उनी तीन दिन अगाडि रोल्पा पुगेका हुन् ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏