काठमाडौ,१४ असार ।
मुढेको आलु भनेपछि तपाईंको जिब्रोमा नै झुण्डिएको होला । हिउँ पर्ने लेकमा फल्ने मुढेको आलु खानको लागि स्वादिलो र पौष्टिक पनि छ । त्यसैले यसको स्वाद सबैको जिब्रोमा झुण्डिएको छ ।
सबैले मन पराउने मुढेको आलु कहाँ फल्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । सिन्धुपाल्चोकको मुढे बजारमा बेचिने भएकाले स्वादिलो लेकाली आलुको नाम नै मुढेको आलु रहन गयो ।
मुढे र आसपालको क्षेत्रमा पनि केही आलुको उत्पादन त हुन्छ तर, मुढेको आलुको ठूलो हिस्सा भने रामेछापको दोरम्बा गाउँपालिकाले ओगटेको छ । दोरम्बा गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारा लगायत क्षेत्रको आलु मुढेको आलुको नामले बिक्री हुन्छ ।
‘पहिला त स्थानीयले गाउँदेखि ढाकरमा बोकेर यहाँको आलु मुढेसम्म पुर्याउँथे, अहिले बाटो खुलेकोले डडुवा, गौश्वारा र दोरम्बाको आलु लिन गाउँमै व्यापारी आइपुग्छन्’, दोरम्बा गाउँपालिका–१ डडुवाका दावाछिरि शेर्पाले भन्नुभयो । गाउँबाट मुढेसम्म पुर्याएको आलु काठमाडौं लगायतका सहरमा मुढेको आलुको नामले बिक्रि हुने गर्छ ।
आफ्नो गाउँको उत्पादनको पहिचान गुमेपछि रामेछापको दोरम्बा गाउँपालिकाले अब दोरम्बाकै ब्राण्डमा त्यहाँ उत्पादित आलु बजार पठाउने भएको छ । जसले गर्दा किसानले उत्पदान गरेको आलुको ब्राण्ड बन्ने र उपभोक्ता पनि नठगिने ठम्याई गाउँपालिकाको छ ।
गाउँपालिकाको आर्थिक वर्ष ०७७-०७८ को नीति तथा कार्यक्रममा दोरम्बाको आलुको राष्ट्रिय स्तरमा पहिचान बनाउनका लागि लोगोसहितको आलु प्याक गर्न ५०, ३० र १० केजीको बोरा छपाई गरी कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने योजना रहेको उल्लेख गरेकाे छ ।
दोरम्बाको आलुलाई राष्ट्रिय स्तरमा चिनाउनको लागि यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले बताउनुभयो । ‘दोरम्बाको आलु मुढेको आलुको नामले बिक्री हुने, दोरम्बाकै भनेर खाेज्ने उपभोक्तालाई पनि दोरम्बाको नाममा नक्कली आलु बिक्री गर्ने गरेको पाइएकाले लोगोसहितको आलु बजारमा ल्याउन लागिको अध्यक्ष मोक्तानले बताउनुभयो ।
गाउँपालिकाले आलुका साथै चौँरी प्रवर्द्धको कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । चौँरी सैलुङको गहना भएकाले छुर्पी तथा घ्यु उत्पादनका लागि चौरी संरक्षण कार्यक्रमलाई निरन्तरता दिइने उपाध्यक्ष कृषला घिसिङले जानकारी दिनुभयो ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏