धादिङ ।
प्रारम्भ एग्रो कम्पनी प्रालिले लकडाउनको मारमा परेका मनिसहरुलाई निशुल्क तरकारी वितरण गरेको छ ।
कोरोनाको कारण विश्वनै लकडाउनको मारमा परिरहेको समयमा आफ्नो कम्पनीले उत्पादन गरेको तरकारी लकडाउनको मारमा परेकालाई लक्षित गरि निशुल्क वितरण गरिएको कम्पनीका कार्यकारी निर्देशक प्रकाश दुवाडीले जानकारी दिए । हालसम्म कम्पनीले ५ क्विन्टल भन्दा बढी तरकारी वितरण गरि सकेको पनि उनले बताए ।
कृषि क्षेत्रलाई व्यावसायिक र सृजनशिल बनाउनु पर्छ, कृषिकर्म इच्छाले मात्रै होइन शिक्षाले गर्नु पर्छ भन्ने उद्देश्यको साथ कृषकहरुलाई व्यावसायिक कृषि पेशामा आकर्षीत गर्न सो कम्पनीको सुरुवात गरिएको दुवाडीको भनाई छ । कम्पनीले अहिले निलकण्ठ नगरपालिका वडा नं १२ मा करिव ३ रोपनी क्षेत्रफलमा आईपिएम बिधीबाट जुकीनी जातको फर्सी उत्पादन गरिरहेको छ । अहिले प्रति दिन ४ देखि ५ क्विन्टल तरकारी उत्पादन भईरहेको पनि उनले बताए ।
लकडाउनको कारण कम्पनीले उत्पादन गरेको तरकारीले अहिले बजार पाउन सकिराखेको छैन । साथै कम्पनीले उत्पादन गरेको १० हजार भन्दा बढी उन्नत जातको मेवाकाे बिरुवा समेत कृषक माझ पठाउन नसक्दा समस्या उत्पन्न भएको दुवाडीले बताए ।
अहिले कृषककाे उत्पादन बजारसम्म नपुग्दा उनीहरु मारमा परेकाले यस विषयमा पनि सरकार गम्भिर हुनु पर्ने र ठोस निर्णय गर्न ढिलाई गर्न नहुनेमा पनि उनले जोड दिए ।
कम्पनीले अहिले निलकण्ठ नगरपालिका वडा नं १२ मा करिव ३ रोपनी क्षेत्रफलमा जिल्लाकै पहिलो हाईटिच नर्सरी संचालनमा ल्याएको छ । सो कम्पनीले बिभिन्न जातका फलफुल लगायत बिरुवाहरु उत्पादन गर्दै आइरहेको छ । साथै कम्पनीले धादिङकै ज्वालामुखी गाउँपालिका वडा नं ४ ढोलामा अहिले करीब १५ रोपनी क्षेत्रफलमा उन्नत जातको बिऊँको लागि अदुवा तथा हलेदो खेती गरेको छ ।
धादिङकै ज्वालामुखी गाउँपालिका वडा नं ४ ढोलामा जन्मीएका दुवाडी अहिले बागवानी विषयमा स्नाकोत्तर अध्यायनरत छन् । पढेर जागिर खाने आफ्नो कुनै सोच नभएकाले कृषि पेशालाई व्यावसायिक बनाई नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफुले यो व्यावसाय रोजेको उनले लेकबेशी खबरलाई बताए ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏