बहुगुणी रिठ्ठा बारे एक जानकारी , सरकारको प्राथमिकता रिठ्ठा खेती

कृषि पोष्ट संवाददाता

रिठ्ठा अंग्रेजीमा soapnut tree को नाम ले चिनिन्छ |

बैज्ञानिक नामः Sapindus mukurossi ;
परिवारः sapindaceae

यो १० देखि १८ मीटरसम्म अग्लो हुने पतझड रूख हो । यसको बोक्रा गाढा हरियो वा खैरो रंगको हुन्छ । पातहरू हाँगाको टुप्पोमा झुप्पामा रहेको हुन्छ र एउटा संयुक्त पातमा ५ देखि १० जोडी पत्रकहरू हुन्छन् । यसको पात भालाकार र नरम हुन्छ । फूल झुप्पामा फुल्ने, सानो, पहेंलो अथवा प्याजी रंगको लहरेदार हुन्छ र हाँगाको टुप्पोमा फुलेको हुन्छ ।

उपलब्धताः यो ६०० देखि १४०० मीटरको उचाईमा पूर्वदेखि पश्चिम नेपालमा पाइन्छ । तरपनि पश्चिम नेपालमा पहारिलो ठाउँमा यो बढी पाइएको छ । रिठ्ठाको रूखहरू एकै ठाउमा झुण्डको रूपमा नरही यत्रतत्र छरिएर रहेका हुन्छन् । रिठ्ठा प्राय गरेर चिउरी, खोटे सल्लो, धयरो आदि प्रजाति भएको ठाउँमा पाइन्छ ।
व्यापारमा आउने भागः फल र बीउ ।
सङ्कलन समयः कात्तिक देखि मंसिरसम्म ।
व्यापारमा आउने भागबारे सामान्य जानकारीः

यसको फल करीव २ से.मी.गोलाइको, बाहिरी भाग नरम हल्का अथवा गाढा खैरो रंगको, छोकडाको जस्तो बोक्रा भएको र चाउरी परेको हुन्छ । फल धेरै पुरानो भएमा कालो रंगको हुन्छ । फल भित्र गोलो, कालो अनि कडा बीउ हुन्छ र यसलाई सिमेन्ट अथवा ढुंगामा घोट्दा धेरै नै तातो हुन्छ ।

प्रयोगः रिठ्ठामा स्यापोनिन् भन्ने तत्व हुन्छ जुन औषधीय दृष्टिकोणले महत्वपूर्ण छ । यो स्याम्पु, कीटनाशक औषधी, सावुन र डिटर्जेन्ट पाउडरमा प्रयोग गरिन्छ । गाउँघरमा रिठ्ठाको बोक्रालाई साबुन र स्याम्पुको बिकल्पको रूपमा नुहाउने, कपडा धुने आदि काममा पनि प्रयोग गरिन्छ । रिठ्ठाको फलको बाहिरी नरम भागलाई कहिलेकाहीँ माछा मार्ने काममा विषको रूपमा पनि प्रयोग गरिन्छ । यसलाई खोकी, रक्तहिनता र छारेरोगको औषधीको रूपमा पनि प्रयोग गरिन्छ ।

संरक्षणको अवस्थाः नेपाल सरकारले रिठ्ठालाई खेती तथा संरक्षणको लागि प्राथमिकता क्रममा राखेको छ ।

उत्पदान : एक पटक विरुवा रोपेर हुर्काएपछि २०/२५ वर्षसम्म निरन्तर फलिरहने हँुदा रिठ्ठा खेती गर्न कुनै समस्या नपर्ने र जति ठूलो रूख हुन्छ त्यती नै धेरै फल्ने र एउटै बोटबाट ३ क्विन्टल रिठ्ठा उत्पादन भएको देखिन्छ |

बजार : प्रति के जी ३५ देखि ५० सम्म ( ठाउँ अनुसार फरक )

कृषि विज्ञ राजेन्द्र देवकोटाको फेसवुकबाट ।

स्रोत : नेपालका प्रमुख जडिबुटीहरुको चिनारी नामक पुस्तक

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏