काठमाडौं, ६ साउन ।
नेपालका गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन्।
पहिचान हुन नसकेको उक्त रोगले अहिले नेपाल-भारत सीमावर्ती इलाकाका गाईहरू थलिन थालेका छन्।
मोरङमा उक्त रोगका कारण करिब एक दर्जन गाई मरेको पशु अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ।
उक्त रोग लागेपछि गाईले दुध दिन छोड्ने वा कम दिने गरेको पशुरोग चिकित्सकहरूको भनाइ छ।
रोगका लक्षण
मेचीनगर नगरपालिका १० की लीला अधिकारीको घरमा पालेको गाईको शरीरभरि घाउ थिए।
केही घाउ फुटेर तरल पदार्थ बगिरहेको थियो भने गाईलाई उठ्न र बस्न समेत गाह्रो भएको देखिन्थ्यो।
केही दिनदेखि गाईले दुध पनि कम दिन थालेको अधिकारीले बताइन्।
उनले भनिन्, “गाई छट्पटाउँछ र धेरै ज्वरो आउने भएको छ।”
स्थानीय पशु प्राविधिकसँग सम्पर्क राखेर ज्वरो नियन्त्रण गर्ने केही औषधि गाईलाई खुवाए पनि गाईले सञ्चो भएको सङ्केत नदेखाएको उनले बताइन्।
उनका छिमेकी लीला खनालको गाईको खुट्टा सुन्निएको छ र दूध कम दिन थालेको छ।
खनालले भने, “केही दिन अघिसम्म त गाउँका एक/दुई वटा गाईमा यो रोग देखिएको थियो। अहिले त गाउँभरि यस्तै गाई छन्।”
नयाँ भाइरल रोग
यस्तो प्रकारको रोग अहिले झापा, मोरङ, सुनसरी तथा सप्तरी जिल्लामा फैलिएको पशुपन्छी अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ।
प्रयोगशालाका प्रमुख डा. सञ्जय यादवले भने, “मोरङमा करिब ३०० गाईमा यो रोग देखिएको छ। अन्य रोगको जस्तो यो रोगले गाई मर्ने दर चाहिँ कम छ।”
उनका अनुसार यो भाइरल रोग नेपालका लागि नयाँ हो। यसको परीक्षण तथा उपचारको विधि नेपालमा अहिलेसम्म छैन।
बर्खापछि सङ्क्रमण बढ्न सक्ने
मनसुनका कारण अहिले प्रायः गाई गोठमा छन्। बर्खाको समयपछि गाईलाई गोठ बाहिर निकालेपछि यो रोगको सङ्क्रमण अझ बढ्नसक्ने पशुरोग चिकित्सकहरूको आकलन छ।
प्रदेश नं १ का पशुपन्छी विकास महाशाखाका प्रमुख पशुपति ढुङ्गानाले भने, “यो एउटा गाईबाट अर्को गाईमा सर्ने रोग हो। गाई चराउन निकाल्दा अन्य स्वस्थ गाईमा पनि यो फैलने सम्भावना छ।”
यो रोगलाई समयमा नियन्त्रण नगरे गाईपालन व्यवसायमै ठूलो नोक्सानी व्यहोर्नु पर्ने अवस्था आउनसक्ने पशुपन्छी अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डा. यादव बताउँछन्। -बीबीसी नेपाली
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏