व्यवस्थित तरकारी बजार सञ्चालन

कृषि पोष्ट संवाददाता

काभ्रेपलाञ्चोक, २५ साउन ।

नमोबुद्ध नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डेबेँसीमा व्यवस्थित तरकारी बजार सञ्चालनमा आएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाको सहयोगमा स्थापना भएको भकुण्डे कृषि उपज सङ्कलन केन्द्र शुक्रबारदेखि औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो ।

केन्द्र स्थापनाका लागि फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाबाट रु १५ लाख र नगरपालिकाको रु पाँच लाख परिचालन गरिएको थियो । आयोजनाले सङ्कलन केन्द्र स्थापनाका साथै किसानलाई उन्नत जातका बीउबिजन वितरण, आवश्यक तालिम, थोपा सिँचाइ, तरकारी नमूना प्रदर्शनीका लागि रु २४ लाख १९ हजार ७२५ खर्च भएको नगर कृषि शाखा प्रमुख रेशम दाहालले जानकारी दिए ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले अब उपभोक्ताले एउटै स्थानमा विविध तरकारी सुलभ मूल्यमा खरिद गर्नसक्ने बताए । “युवालाई स्वरोजगार बनाउन कृषि र पर्यटनमा आधारित रोजगारमूलक कार्यक्रम तय गरी कृषि पर्यटनको अवधारणासमेत तयार पारेका छौँ”, तिमिल्सनाले भने । उनका अनुसार निकट भविष्यमै खसी–बोका सङ्कलन केन्द्र स्थापना गर्ने र त्यसबाट नमोबुद्ध नगरसहित तेमाल गाउँपालिका, रोशी गाउँपालिका साथै छिमेकी सिन्धुली जिल्लाको पशुपालक किसानसमेत लाभान्वित हुनेछन् ।

नगरले कृषि, पर्यटन र व्यापारलाई एकसाथ अघि बढाउने तथा नगरभित्र उत्पादित मौलिक सामग्री प्रदर्शनी र बिक्रीका लागि कोशेली घरको अवधारणा ल्याएको नगर उपप्रमुख रामदेवी तामाङ बताए । नगरले सबै वडाका किसानको नेटवर्क बनाउने, काठमाडौँका साथै तराईका बजारसम्म किसानको उत्पादन सहजै पुग्ने व्यवस्था मिलाउने तथा तरकारी, मासु र अण्डामा नमोबुद्ध नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना बनाएको जनाइएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏