बाँके र बर्दियाका बोइलर र दुध उत्पादन गर्ने किसानलाई १ करोड ३ लाख बढिको राहत अनुदान

कृषि पोष्ट संवाददाता

नेपालगन्ज ।

कोरोना भाइरस (कोभिड १९) बाट नोक्सानि बेहोर्न बाध्य किसानहरुका लागी राहत स्वरुप ५ नम्बर प्रदेश सरकार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक सहयोग गरेको छ ।

दुग्ध उत्पादक कृषक र बोइलर कुखुरा पालन गर्ने किसानलाई राहत अनुदान कार्यक्रम अन्तरगत मन्त्रालयले सहयोग गरेको हो । दुग्ध कारोबार गर्ने सहकारी सस्था मार्फत किसानहरुलाई प्रति लिटर १० रुपैया अनुदान, मासु उत्पादनका लागी कुखुरा पालनगर्ने साना कृषकहरुलाई प्रोत्साहन अनुदान अन्तरगत ५ सय भन्दा कम बोइलर कुखुरा पालन गर्ने कृषकका लागी प्रति चल्ला १ सय रुपैया अनुदान रकम दिएको हो ।

प्रदेश सरकार मार्फत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके नेपालगन्जले ११० जना बोइलर कुखुरा पालक किसानलाई र १९ वटा दुग्ध उत्पादक सहकारीलाई राहत अनुदान दिइएको विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो । बाँके र बर्दियाका बोइलर कुखुरा पालन गर्ने र सहकारी मार्फत दुग्द्य विक्रि गर्ने किसानकालागी १ करोड ३ लाख ७८ हजार ३ सय रुपैया राहत अनुदान स्वरुप वितरण गरेको हो ।

११० कुखुरा फार्म दर्ता गरेर संचालन गरेका किसानलाई र १९ वटा दुग्द्य सहकारीहरु मार्फत किसानलाई कोभिड १९ महामारिका बेला भएको नोक्सानलाई केहि भएपनि राहत स्वरुप आर्थिक सहयोग गरेको हो । ११० बोइलर कुखुरा पालक किसानका लागी ५२ लाख ३ हजार ३ सय र १९ दुग्द्य सहकारीलाई ५१ लाख ६५ हजार ६ सय रुपैया वितरण गरेको हो ।

पशु सेवा विज्ञ केन्द्रका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत कमला अधिकारीले लकडाउनको समयमा किसानहरुले राहत पाउनुपर्छ भनेर कर्मचारीहरु सक्रिय भएर काम गरीदिएपछि राहत दिन सक्ने भएको बताउनुभयो । उहाँले लकडाउन भनेर घर बसेको भए किसानलाई आएको राहत वितरण गर्न असम्भव हुने बताउदै दिनरात भनेर किसानका लागी लागी पर्ने सम्पुर्ण कर्मचारीहरुलाई धन्यबाद दिनुभयो ।

कोरोना भाइरसको असरले गर्दा किसानहरु मारमा परेको भन्दै प्रदेश सरकारले किसानको मागलाई ध्यानमा राख्दै राहतको योजना ल्याएको जनाएको छ । प्रदेश नम्बर ५ मा सबैभन्दा धेरै बाँके र बर्दियाका किसानले कोभिड १९ राहत सहयोग प्राप्त गरेका छन ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏