म्याग्दी, ३१ साउन ।
समयको माग र उपभोक्ताको चाहनालाई पहिचान गरी परिश्रम गर्ने हो भने आफ्नै गाउँ-ठाउँ र पाखा-पखेरामा पनि मनग्गे आम्दानी गर्न सकिँदो रहेछ भन्ने गतिलो उदाहरण बनेका छन् : म्याग्दीका पौरखी किसान तिलक गुरुङ।
२० वर्ष अघिसम्म अनकन्टार पाखो भनेर कसैले वास्ता नगरेको पाखो बारीमा खनी खोस्री गरी तरकारी, फलफूल र पशुपालन गरेका गुरुङले अहिले वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन्। सात वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किँदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका-४ वास्कुनाका गुरुङले गाउँमा फलफूल, तरकारी खेती र पशुपालन थालेका थिए।
२०६७ सालदेखि कृषि क्षेत्रमा लागेका गुरुङको अहिलेको अवस्था देखेर सबै छक्क पर्ने गरेका छन्। २०६७ सालमा केञ्जल बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रुपमा पशु पालन, कुखुरा पालन, र सुन्तला खेती गरेका गुरुङ १० वर्षको अवधिमा जिल्लाकै अगुवा र कृषिबाट बढी आम्दानी गर्ने कृषकमा गनिएका छन्।
गुरुङको गोठमा अहिले नौवटा दुहुना भैंसी र चारवटा गाई छन्। दैनिक ६० लिटर दुध बेच्छन्। ‘दैनिक ६० लिटर दुध बिक्री गरेर मासिक १ लाख ५० हजार रुपैयाँ कमाइ हुन्छ,’ गुरुङले भने। गुरुङले गाईभैंसीमात्रै होइन, आधुनिक तरिकाले कुखुरा पालनसमेत गरेका छन्। अहिले उनको फार्ममा ३० हजारवटा कुखुरा छन्।
गुरुङले भने, ‘कुखुराबाट मासिक ३ लाख रुपैयाँभन्दा धेरै कमाइ हुन्छ।’ कुखुराको दाना लगायत अन्न पारिश्रमिक खर्च कटाउँदा मासिक १ लाख रुपैयाँभन्दा बढि वचत हुने उनले जानकारी दिए। १५ वर्षअघि दुई लाख ऋण खोजेर गुरुङ साउदी गएका थिए। तर, ५ वर्षसम्म काम गर्दा पनि गएको ऋणसमेत तिर्न नसक्ने अबस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँ नै फर्किएका थिए। कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्केपछि धेरैले उनलाई हियाउन थालेका थिए।
गाउँमा सरसापट र ऋण समेत पाउन नसक्ने अवस्था भयो। सबैले पत्याउन छोडे। तर आँटिला र हिम्मती गुरुङले हिम्मत हारेनन्। आफ्नै घरजग्गा धितो राखेर सदरमुकाम बेनीको एउटा वित्तीय संस्थाबाट ७० हजार रुपैयाँ ऋण लिए र भैंसी किनेर दूध बेच्न थाले। १० वर्षअघि एउटा भैसीपालेर दूध बेच्न थालेका गुरुङ अहिले कृषि र पशुपालनबाट मालामाल बनेका छन्।
सवै खर्च कटाएर उनको मासिक कमाइ २ लाख ५० हजार रुपैयाँभन्दा बढी छ। त्यसैगरी गुरुङले घर वरिपरिको जग्गामा सुन्तला लगाएका छन्। गुरुङको बारीमा रहेका ५०० बढि सुन्तलाका बोटबिरुवामध्ये ४०० ले फल दिन्छन् भने १०० विरुवा २ वर्षअघि लगाएका हुन्। सुन्तला बेचेर सिजनमा ७ लाख रुपैयाँसम्म कमाउने गरेका गुरुङले बताए। गुरुङका अनुसार वार्षिक ४५ लाख रुपैयाँ कमाइ हुने गरेपनि खर्च कटाउँदा ३० लाख रुपैयाँ बचत हुने गरेको छ।
उनले कृषिबाट आम्दानी मात्र गरेका छैनन्, छोराछोरीलाई इन्जिनियरिङ समेत पढाएका छन्। ‘एउटा छोरालाई बायो-मेडिकल इन्जिनियरिङ पढाएको छु,’ उनले भने’ ‘एउटा छोरीलाई अष्ट्रेलिया पठाएँ, बाँकीले काठमाडौँमा उच्च शिक्षा अध्ययन गरिरहेका छन्।’ ‘७० हजार रुपैयाँको लगानीबाट मैले आज यति कमाउन सक्ने भएको छु, यसमा परिवारको ठूलो सहयोग रहेको छ,’ गुरुङले भने, ‘अर्काको देशमा बसेर दु:ख गर्नुभन्दा आफ्नै देशमा केही गर्छु भनेर आएँ, सन्तुष्ट छु।’
कृषl पेशाबाट आफू उत्साहित रहेको बताउने गुरुङले आगामी दिनमा अझै फर्मलाई व्यवस्थित गर्दै लैजाने योजना सुनाए। दुध-दहीको बजार माग धेरै भए पनि आफुले भनेजति उत्पादन गर्न नसकेको उनी बताउँछन्। अहिले गुरुङ म्याग्दीका कृषकहरूका बीचमा उदाहरणीय बनेका छन्। भैंसी, कुखुरा र सुन्तला खेतीबाट गुरुङको जीवनले नयाँ पहिचान पाएको छ। उनी उद्यमी कृषकका रुपमा जिल्लामा चिनिन्छन्।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏