कृषि विकास कार्यालय हुम्लाले कहाँ खर्चियो सत्र करोड ?

कृषि पोष्ट संवाददाता

काठमाडौं, ५ भदौ ।

कर्णाली प्रदेश सरकारअन्तर्गत स्थापित कृषि विकास कार्यालय हुम्लामा आर्थिक वर्ष २०७६/७७ का लागि १९ करोडभन्दा बढी बजेट छुट्टिएको थियो । कृषि क्षेत्रको विकास र विस्तारका लागि रैथाने बालीदेखि आधुनिक बालीसम्म, हलोदेखि उपयुक्त र आधुनिक कृषि औजारको डेमो र मेमोसम्म, स्याउदेखि केरा र जैतुनसम्म विभिन्न सीप, प्रविधि र संस्कारको विकास तथा विस्तार गरी हुम्लाको कृषिक्षेत्रलाई उत्पादनमूलक, बजारोन्मुख र प्रतिस्पर्धी बनाउन भन्दै सो बजेट विनियोजन भएको हो ।

विनियोजित बजेटमध्ये १० करोड ९४ लाख ८१ हजार चालूतर्फ थियो । यसमा ९ करोड ४३ लाख ६५ हजार ८८१ रुपैयाँ खर्च भएको छ, यो कुल चालू बजेटको ८६.१९ प्रतिशत हो । यसैगरी ८ करोड १३ लाख पुँजीगत बजेट विनियोजन भएकोमा ७ करोड ९२ लाख ४१ हजार १७९ रुपैयाँ खर्च भएको छ । यो पनि कुल पुँजीगत बजेटको ९७.४७ प्रतिशत हो ।

असार अन्तिमसम्म कार्यालयले कुल बजेटको १७ करोड ३६ लाख ७ हजार ६० रुपैयाँ खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जानकारी दिएको छ । कृषि कार्यालयले समष्टिगत रुपमा प्राप्त बजेटको ९१ प्रतिशत रकम खर्च गरेको देखिन्छ ।

नाम र दाम फेरिए पनि काम उही कर्मकाण्डीय रुपमा नप्र, तप्र र सप्रको मूल सिद्धान्तअनुसार भएको हुम्ली किसान र विकासे कार्यकर्ताको विश्लेषण र निचोड छ । स्थानीय बुद्धिजीवी प्रश्न गर्छन्‑ के यो सबै रकम कृषि विकासको बहुआयामिक काममा प्रयोग भएकै हो ?

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏