नागरिक समाज डेस्क :
कृषिमा काम गर्न चाहनेहरुका लागि बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सिगाउँका ७२ वर्षिय गेनालाल मुराउ प्रेरणाका श्रोत हुनुहुन्छ ।
कृषि क्षेत्रमा काम गर्नलाई उमेरले छेक्दैन भन्ने कुराको उहाँ उदाहरण हो ।
गेनालालले आफ्नो जीवन कृषिकर्ममै विताउनुभएको छ । कृषिको काम गरेरै उहाँले धेरै राम्रो प्रगति पनि गर्नुभएको छ ।
आफ्नो घरपरिवारको आवश्यकता पूरा गरेर पनि लाखौंको सम्पत्ति पनि जोडिसक्नुभएको छ ।
मुराउकै विषयमा केन्द्रित कृषि पत्रकार खगेन्द्र दाहालले एक सामग्री तयार पार्नुभएको छ ।
वृद्ध भत्ता बुझ्दै आराम गर्ने उमेरमा पनि १५ विगाहमा व्यवसायिक टमाटर खेती गर्ने गेनालाल मुराउ विहानै देखि खेतबारीमै भेटिनुहुन्छ । यो सिजनमा उहाँलाई टमाटर लगाउन भ्याई नभ्याई छ ।
यहि साउन १ गते देखिनै टमाटर लगाउन सुरु गरीसक्नुभएका गेनालालले व्यवस्थित ढंगले आफ्नो खेतिमा काम गर्दै हुनुहुन्छ ।
अढाई विगाह भन्दा बढिमा अहिले टमाटर लगाइसक्नुभएका उहाँले विगत ४ वर्षयता जस्तै यसपटक पनि १५ विगाह क्षेत्रफलमा खेती गर्दै हुनुहुन्छ ।
पाँच वटा टनेलमा मात्र उहाँले बेर्ना जम्मा गर्नुभएको छ । केहि बेर्ना साना छन त केहि बेर्ना रोप्नका लागी तयारी अवस्थामा ।
रोपेको पनि केहि हुर्किसकेका छन ।
अहिले अलि छिप्पेको बेर्नालाई उखेल्दै रोप्ने काम भैरहेको छ ।
गेनालालले अझै एक महिना सम्म टमाटर बारीमा लगाउनुहुन्छ । २०३५ साल देखि टमाटर खेती गर्दे आउनुभएको मुराउले यसैलाई निरन्तरता दिइरहनुभएको छ ।
उहाँसहित सम्पुर्ण परिवारले खेती नै गर्ने गरेका छन । आफुले शारीरक परिश्रम गर्न नसकेपनि अरुलाई अहएर खेती गर्न सकिने मुराउ बताउनुहुन्छ ।
कतिपय किसानहरुले टमाटरमा फाइदा नभएको बताउने सुन्ने गरेका मुराउले यसमा प्रशस्त फाइदा रहेको बताउनुहुन्छ ।
टमाटर खेतीको उत्पादन विक्रि गरेरै जग्गा किने, पक्की घर निर्माण गरे, पाँच तले शिवको मन्दिर बनाए, छोराछोरीहरुलाई निजि विद्यालयमा पढाएँ भन्नुहुन्छ, मुराउ ।
कृषक गेनालालले दिनहुँ १५ जना बढि स्थानियलाई घरमै रोजगारी दिनुभएको छ ।
आधुनिक प्रविधि अपनायर टमाटर खेती गर्दा सहज र फाइदा बढि हुने उहाँको अनुभव छ ।
२०३५ सालदेखि टमाटर खेतीमा लाग्नुभएका मुराउको परिवारले हाल सम्म घाटा बेहोर्न परेको छैन ।
मुराउले सिजनमा दिनहुँ ३० क्इिन्टल सम्म विक्रि गर्ने गरेको अनुभव सुनाउनुभयो ।
उहाँले नयाँ किसानहरुलाई व्यवस्थित तरिकाले खेती गर्न अनुरोध गर्दै विदेशभन्दा राम्रो कमाई गर्न यहिँ सकिने सन्देश दिने गर्नुभएको छ ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏