जुम्लामा इटालियन फूजी स्याउ फल्न थाल्यो

कृषि पोष्ट संवाददाता

जुम्ला , १३ भदौ ।

जुम्लामा स्थानीयका अतिरिक्त इटालियन फूजी स्याउ समेत फल्न थालेको छ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउखेती गरिरहेका छन् ।

जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ । जिल्लाभरि लगाइएका अन्य स्याउ नफलिरहेको अवस्थामा फुजी स्याउ लटरम्म फल्दा किसानमा खुशी छाएको छ ।

जुम्ला एग्रो फार्मका व्यवस्थापक रेश्मा श्रेष्ठले १० हजार वर्गमिटर क्षेत्रफलमा लगाइएको दुई हजार २०० स्याउको बिरुवामध्ये एक हजार ७०० बिरुवा फलेको बताउनुभयो । यस वर्ष सो फार्ममा कम्तीमा १० देखि १२ टनसम्म फूजी स्याउ उत्पादन हुने अनुमान गरेको श्रेष्ठले बताउनुभयो ।

फूजी स्याउ एउटा बिरुवामा १० देखि १५ केजी फल्ने गर्दछ । चालू आवदेखि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्लाले किसानलाई प्रतिबिरुवा ५०० अनुदान उपलब्ध गराउने योजना बनाएको सुपरजोन जुम्लाले जनाएको छ ।
रासस

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏