काठमाडौ , १६ भदौ ।
सरकारले किसानका लागि मलखाद वितरण स्थलमा ‘प्रि–स्किन टेस्ट’ अनिवार्य गर्नुपर्ने नियम लागू गरेको छ । वितरण स्थबाट कोरोना भाइरस फैलन सक्ने सम्भावित जोखिम कम गर्न यस्तो व्यवस्था गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘मल आयात, ढुवानी तथा वितरणका लागि कोभिड– १९ सम्बन्धी सुरक्षा विधि’ जारी गरेको हो । मलखादको आयात विन्दुदेखि, ढुवानी र वितरण गर्दासम्म अपनाइनुपर्ने सुरक्षाको विधि उल्लेख गरिएको छ ।
सबैभन्दा धेरै भिडभाग हुन सक्ने सम्भावित स्थल भनेको मलखाद वितरण स्थल हो । “मल वितरणका क्रममा भीडभाड हुन नदिन विभिन्न ठाउँ÷स्थान÷टोलका किसानका लागि छुट्टाछुट्टै मल वितरण गर्ने समय तालिका तयार गरी लागू गर्ने र सोको जानकारी इमेल, टेलिफोन, एसएमएस वा अन्य माध्यममार्फत् सम्बन्धित किसानहरूलाई गराउने,” सहकारी, मल विक्रेता तथा सेवाग्राही किसानको सम्बन्धमा भनिएको छ, “मल वितरण गर्ने स्थानमा आउने सबैको प्रि–स्किन टेस्ट (जस्तैः शरीरको तापक्रम नाप्ने, लक्षणको पहिचानको व्यवस्था गर्ने) तथा व्यक्तिगत अभिलेख राख्ने ।”
कम्तीमा २ मिटर भौतिक दूरी कायम गर्ने, हात धुने तथा स्यानिटाइजरको व्यवस्थ गर्ने, मास्क र पन्जाको प्रयोग गर्ने, ढुवाली गरिएको सवारी तथा अन्य सामग्री डिस्इन्फेक्ट गर्ने र कसैमाथि शंका लागेमा चिकित्सकको निर्देशनअनुरूप गर्ने लगायतका व्यवस्था मल वितरण स्थलमा गर्नुपर्नेछ । वितरण स्थलका कार्यालयहरूका भवन, कार्यकक्ष, कार्य क्षेत्र वरपरका मेसिनरी, फर्निचर आदि समेतको नियमित डिसइन्फेक्सन गर्नुपर्नेछ ।
अनुदानको मलको आयात तथा वितरणको व्यवस्था गर्ने प्रमुख जिम्मेवार निकाय कृषि मन्त्रालय रहेकाले कोभिडलाई लिएर छुट्टै मापदण्ड जारी गरेको मन्त्रालयले जनाएको छ । जसअनुसार बन्दरगाहादेखि भन्सार विन्दुसम्म ढुवानीमा संलग्न चालक, सहचालक तथा सहयोगीहरूका लागि पनि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने छ । भन्सार विन्दुमा खटिने कर्मचारी तथा कामदार, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीसमेतका लागि छुट्टाछुट्टै मापदण्ड तय गरिरएको छ ।
गत सातादेखि मकै र धानबालीलाई लक्षित गरी कृषकहरूलाई अनुदानको मलखाद वितरण थालिएको छ । करिब ३२ हजार मेट्रिक टन मलखाद आयात भइरहेको मन्त्रालयले जनाएको छ ।