काठमाडौ ,२२ भदौ ।
कोभिड १९ का कारण पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका छन् ।ललितपुरको जावलाखेलस्थित बगैचा रेस्टुरेन्ट, बार एण्ड ब्याङ्क्वेट । कुखुरा, टर्की, कालिज लगायत पन्छीको हुल देख्दा तपाईँ अचम्ममा पर्नु भयो होला । कोरोना भाइरस संक्रमणको त्रासका कारण रेस्टुरेन्ट बन्द भएपछि अहिले कुखुरापालन गर्न थालिएको छ ।बैंकको ऋण तिर्न, घरभाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन समस्या हुने भएपछि रेस्टुरेण्ट बन्द गरी पन्छीपालन शुरु भएको बताउँछन् ।
करिब पाँच करोड लगानीमा सञ्चालित बगैँचाले रेस्टुरेन्ट, पार्टीप्यालेस लगायत सेवा उपलब्ध गराउँदै आएको थियो । रेस्टुरेन्टका व्यवस्थापक अर्जुन दाहाल कोरोना भाइरस संक्रमणकोे असरले व्यवसाय नै बदल्नु परेको बताउछन् ।जावलाखेलको बगैँचा रेस्टुरेन्ट मात्र होइन, देशभर सञ्चालित अधिकांश पार्टी प्यालेस व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । चैत ११ गते देखि लकडाउन भयो र साउन महिनामा लकडाउन खुकुलो बनाइए पनि पार्टी प्यालेसहरु खुल्न सकेनन् । सबैभन्दा बढी चल्ने वैशाख, जेठ र असार महिना पार्टी प्यालेस सञ्चालन गर्न नपाउँदा अर्बौं रुपैयाँ नोक्सान भएको व्यवसायीहरुको दुखेसो छ ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघमा आवद्ध देशभरका पार्टी प्यालेस व्यवसायमा ५० हजार भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । अहिलेको अवस्थामा अधिकांश श्रमिक रोजगारीविहीन भएका छन् । कोरोना संक्रमणका कारण मारमा परेका व्यवसायी र रोजगारी गुमाएका श्रमिकका लागि सरकारले तत्काल राहत प्याकेज ल्याउन आवश्यक छ ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏