काठमाडौँ, २९ भदौ ।
भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएको छ। प्याज निर्यातसम्बन्धी आफ्नो नीतिमा परिमार्जन गर्दै भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएको हो।
भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको छ। मन्त्रालयको वैदेशिक व्यापार विभागका महानिर्देशक अमित यादवले गरेको हस्ताक्षर गरेको सूचनामा सबै किसिमका प्याजको निकासीमा प्रतिबन्ध लगाएको उल्लेख छ।
भारत सरकारको यो निर्णयसँगै अब भारतीय प्याज नेपाली बजारमा आउने छैन। नेपालले भारतबाट प्याजको आयात गरिरहेको छ। भारतले आफ्नो बजारमा प्याज अभाव हुन थालेको र मूल्य बढ्ने क्रम नरोकिएका कारण प्याजको निकासीमा प्रतिबन्ध लगाइदिएको हो।
भारतीय निर्णयसँगै अब त्यसको असर नेपाली बजारमा देखिन्छ। गत वर्ष पनि भारतले प्याजको निकासी रोक्दा नेपाली बजारमा प्याजको मूल्य आकाशिएको थियो। भारत सरकारले हार्मोनाइज्ड सिस्टम कोड ७०३११०१० र ०७१२२००० मा पर्ने सबै किसिमका प्याजको निकासीमा रोक लगाउने निर्णय गरेको हो।
नेपालमा गत आर्थिक वर्षमा भारतबाट मात्रै २ करोड ५८ लाख किलोग्राम सुख्खा प्याज आयात भएको थियो। यसैगरी ७ करोड ४८ लाख किलोग्राम ताजा प्याज पनि भारतबाट गत वर्ष आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏