काठमाडौं, ३१ भदौं ।
बजारमा सुकेको प्याजको भाउ आज झन् आकाशिएको छ ।
चाडबाड नजिकिँदै जाँदा २९ भदौमा प्याजको निकासी रोक्ने भारतको निर्णयपछि यहाँ मौज्दात रहेका प्याजको समेत कृत्रिम अभाव सिर्जना गराइएको छ ।
भारतको केन्द्र सरकारले प्याजको निकासी बन्द गर्ने निर्णय लिएसँगै व्यापारीहरुले नेपालको माग धान्दै आएको भारतीय प्याज लुकाउन र आफुखुशी मूल्य तोक्न थालेका छन्। २९ भदौमा कालीमाटी फलफुल तथा तरकारी बजारमा प्रतिकिलो प्याजको होलसेल मूल्य ६० रूपैयाँ थियो। निर्यात रोकिएपछि हिजो ७५ रूपैयाँ पुगेको मूल्य आज किलोको ११९ रूपैयाँ पुगेको छ।
भारतले प्याजको निकासी रोक्ने सूचना पहिलेदेखि पाइसकेका व्यापारीले प्याजको कृत्रिम अभाव समेत गराउन थालेका छन्। कृत्रिम अभाव भएसँगै खुद्रा पसलमा प्याजको मूल्य असामान्य रूपमा बढेको छ। थोक व्यापारीले प्याज दिन छाडेपछि खुद्रा व्यापारीले पहिलेदेखि रहेको स्टक प्याजको मूल्य आफुखुशी कायम गर्न लागेका छन्। खुद्रा पसलमा हिजो बिहान प्रतिकिलो ९० रूपैयाँसम्म पाइने प्याज बेलुका १५० पुगेको थियो।
यस्तै, आज बिहान उपत्यकाका खुद्रा पसलमा प्याजको मूल्य प्रतिकिलो २४० रूपैयाँसम्म पुगेको छ। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका उप निर्देशक विनय श्रेष्ठले भारतले निकासी रोकपछि मूल्य बढ्नु स्वभाविक भएको बताए। उनले प्याजमा पूर्णरुपमा भारतमा निर्भर हुँदा उताको क्रियाकलापले नेपालमा असर पर्ने बताएका छन्।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏