‘लोकल’ कुखुराको व्यावसायिक पालन

कृषि पोष्ट संवाददाता

बागलुङ ।

उन्नत जातका कुखुरापालन बढेको बेला यहाँका एक किसानले भने स्थानीय जातको कुखुराको व्यावसायिकरूपमा पालन गरिरहेका छन् । बागलुङ नगरपालिका ३ रातामाटाका बैकुण्ठ सापकोटाले ‘साकिने’ जातको कुखुरापालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । सापकोटाले गत माघदेखि व्यावसायिक कुखुरापालन सुरु गरेका थिए ।

उनको ‘फार्म’मा अहिले तीन सयभन्दा बढी स्थानीय जातका कुखुरा छन् । चार महिनाको अवधिमा एक लाख रुपैयाँभन्दा बढीको भाले बिक्री गरेको सापकोटाको भनाइ छ । ‘मासुसँगै चल्ला र अण्डाको पनि उत्तिकै माग छ’, उनले भने, ‘उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।’ काठमाडौं, हेटौंडा, कपिलवस्तु र पोखराका ‘ह्याचरी’बाट अण्डाको माग आउने गरेको छ । घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको संख्या पनि बढ्दो छ ।

‘अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ’, सापकोटाले भने, ‘स्थानीय जातका कुखुरापालनमा विस्तारै आकर्षण बढ्दैछ ।’ स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । सदरमुकाम बागलुङ बजारमा होटल, रेस्टुराँमै मासुका रूपमा कुखुरा बढी खपत हुन्छ ।

अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्युँदो कुखुरा प्रतिकिलो सात सय रुपैयाँमा बिक्री हुने गरेको सापकोटाको भनाइ थियो । अण्डा १५ र एक साताको चल्ला एक सय २५ मा बिक्री हुँदै आएको छ । कुखुराले दैनिक एक सय ५० भन्दा बढी अण्डा दिन्छ । स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने भएको हुँदा पाँच÷६ महिनापछि मात्र बेच्न योग्य हुन्छ ।

उन्नत जातका कुखुरालाई जस्तो नियमित खोप, औषधि खुवाउनु नपर्ने सापकोटाको भनाइ छ । ‘बारीमा चर्छन्, घरकै गहुँ, मकै, भुसको दाना खान्छन्’, सापकोटाले भने । कुखुरापालनबाट मासिक ३५ देखि ४० हजारसम्म मुनाफा निकाल्न सापकोटा सफल भएका छन् । स्थानीय जातको कुखुरापालनलाई थप व्यवस्थित र विस्तार गर्ने योजना उनको छ । कुखुरापालनका लागि सुरुमा उनले चार लाख रुपैयाँ लगानी गरेका थिए । काठमाडौंबाट स्थानीय जातको कुखुराको चल्ला ल्याएर व्यावसायिकरूपमा पाल्न सुरु गरेको सापकोटाले बताए ।

‘सापकोटा कृषि फार्म’ सञ्चालनमा ल्याएका उनले व्यावसायिक कुखुरापालनसँगै बाख्रापालन र तरकारी खेती पनि गर्दै आएका छन । ‘फार्म’ मा अहिले १६ ओटा बाख्रा छन् । तीन रोपनी क्षेत्रफलमा तरकारी खेती छ । पढाइमा स्नातक सापकोटाको तरकारी खेती भने पुरानै हो । ‘नयाँ सीप र प्रविधिअनुसार तरकारी खेती गरिरहेको छु’, उनले भने, ‘दुईओटा हाइटेक टनेलमा तरकारी खेती छ ।’

सापकोटालाई कृषि पेसामा श्रीमती जमुना, आमा लक्ष्मी र बुबा बद्रीले पनि सघाउँदै आएका छन् । कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित व्यावसायिक कृषिमा लागेको सापकोटाको भनाइ छ । व्यवसाय बढाएपछि अन्य व्यक्तिलाई पनि रोजगारी दिन सकिने उनले योजना बनाए । सदरमुकाम नजिकै रहेकाले कुखुरा र अन्य कृषि उत्पादन बेच्न कुनै समस्या छैन ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏