रोल्पा, २१ असोज ।
परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्।
व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ। जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा वयर जातका बोका भित्रिएको जनाएको छ।
अस्ट्रेलियाबाट खरिद गरी ल्याइएका ती बोकाको बजार मूल्य डेढ लाखदेखि दुई लाखसम्म पर्ने वरिष्ठ पशु विकास अधिकृत डा. गान्धीराज उपाध्यायले बताए।
स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी उत्पादकत्व बढाउने तथा बोका बिक्री गरी आयआर्जन गर्ने उद्देश्यका साथ ती बोका भित्र्याइएको उनले जानकारी दिए।
एउटा वयर जातको बोकाबाट ५० किलोभन्दा बढी मासु उत्पादन हुँदै आएको सम्बद्ध कृषकले बताएका छन्। प्रतिकिलो ८०० रुपैयाँसम्म मूल्य रहेको यो जातको बोकाको मासु स्वादिष्ट र खँदिलो हुने हुँदा बजारको समस्या नभएको कृषक बिना केसीले बताए।
उनका अनुसार वयर जातको बोकाको क्रसबाट स्थानीय बाख्राले समेत तीन वटासम्म पाठापाठी जन्माउने गरेको र ती पाठापाठी ५ महिनापछि १८ हजार रुपैयाँमा बिक्री हुने गरेको छ।
स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी बढीभन्दा वढी आम्दानी गर्न कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ जिल्ला पशु सेवा कार्यालयले यस्तो कार्यक्रम गरिरहेको पशु चिकित्सक नीमबहादुर सिंहले बताए।
खाद्य सुरक्षा परियोजनाअन्तर्गत जिल्लामा ७१ वटा बाख्रापालन समूह, ५ वटा भैँसीपालन समूह, दुईवटा डेरी र २४ वटा नमूना बगैँचा कार्यक्रम सञ्चालनमा रहेका छन्।
साबिकका लिवाङ, गजुल, जंकोट, वडाचौर, जैमाकसला, कोर्चवाङ, घर्तीगाउँ, जुगार, गैरीगाउँ र बुढागाउँ गाविसमा उक्त कार्यालयले खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयन गरिरहेको कार्यक्रमका जिल्ला प्राविधिक अधिकृत विजय देवकोटाले जानकारी दिए। रासस
पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।
तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏