सरकारले कृषि ऋणमा ब्याज अनुदान सजिलै दिने

कृषि पोष्ट संवाददाता

सुर्खेत , २४ असोज ।

कर्णाली प्रदेश सरकारले कृषकलाई अनुदान नदिए ब्याजमा सहुलियत दिने भएको छ । अनुदानमा दुरुपयोग भएको भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ऋणमा ब्याज अनुदान दिने भएको हो ।

अघिल्ला वर्षहरुमा मन्त्रालयले कृषि तथा पशुपालनको क्षेत्रमा विभिन्न शीर्षकमा कृषकलाई अनुदान वितरण गर्दै आएको थियो । अनुदान वास्तविक कृषकभन्दा अधिकांश पहुँचवाला र गैरकृषकले पाउने गरेको भन्दै आलोचना हुने गरेको थियो ।

मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले यस कार्यक्रमका लागि चालु आवमा सात करोड विनियोजन गरिएको जानकारी दिनुभयो । ऋणको ब्याज अनुदान अवधि पाँच वर्ष राखिएको छ ।

त्यसपछिको ब्याज स्वयं कृषकले तिर्नुपर्नेछ । त्यस अवधिसम्म बढीमा एक करोड ऋण लिने कृषकका लागि सात प्रतिशतसम्म ब्याज प्रदेश सरकारले नै तिरिदिनेछ । यो प्रक्रिया सबै बैंकले पूरा गर्नुपर्नेछ ।

सचिव शर्माका अनुसार चालु आर्थिक वर्षमा यस कार्यक्रमबाट एक सय कृषक लाभान्वित हुनेछन् । कृषकले सबै बैंकिङ प्रक्रिया पूरा गरेपछि सम्बन्धित बैंकबाट बढीमा एक करोडसम्मको ऋण पाउनेछन् र ऋणको सात प्रतिशतसम्म ब्याज प्रदेश सरकारले तिरिदिनेछ । उहाँले भन्नुभयो, “बैंकको ब्याज तिर्न नसक्ने वा शुरु ब्याज तिर्न आम्दानी नहुनेका लागि यो कार्यक्रम धेरै उपयोगी छ ।”

कृषि तथा पशुपालनको क्षेत्रमा २० प्रकारका ऋणको व्यवस्था गरिएको छ । ब्याज अनुदान लिन कृषकले अनिवार्यरूपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ । त्यस्तै १० लाखभन्दा बढी ऋण लिनुपरे व्यवसायको विस्तृत परियोजना तयार गरेर पेश गर्नुपर्ने लगायतका शर्तहरु राखिएको छ । यदि कृषकले ऋण नतिरे कालो सूचीमा राख्ने, चलअचल सम्पति रोक्का गर्ने, सामाजिक सुरक्षालगायतका सेवाहरुमा रोक लगाइनेछ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको दुरुपयोग हुने भएकाले सहुलियत ऋणमा ब्याज अनुदानको नीति ल्याएको बताउनुभयो । यसबाट कृषि व्यवसाय प्रर्वद्धनका साथै कृषि तथा पशुपालनमा रोजगारीका अवसर सिर्जना हुने उहाँको भनाइ छ । नेपाल राष्ट्र बैंकबाट पाँच प्रतिशत ब्याज अनुदान लिइरहेका कृषकहरुले भने प्रदेश सरकारको यस कार्यक्रमबाट लाभ लिन पाउने छैनन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏