कोरोना महामारीपछि विदेशिन रोकिएका युवाद्वारा ३५ लाखको लगानीमा कालिज पालन

कृषि पोष्ट संवाददाता

असोज २४, दोलखा ।

यस जिल्लाको भीमेश्वर नगरपालिका–४ का युवा सरोज केसीले करीब रू. ३५ लाखको लागतमा कालिज पालन शुरु गरेका छन् । कालिजको मासुप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको थाहा पाएपछि उनले कालिज पालन शुरु गरेका हुन् ।

प्रदेश सरकारको रू.१० लाख अनुदान तथा बाँकी आफ्नै लगानीमा भीमेश्वर नगरपालिका–४स्थित जिलु–नागीमा छ रोपनीमा जग्गामा आफूले कालिज पालन व्यवसाय शुरु गरेको उनले बताए ।

उक्त व्यवसायमा हालसम्म करीब रू.३५ लाख खर्च भएको उनको भनाइ छ । छ रोपनी जग्गामध्ये तीन रोपनी जग्गा भने उनले भाडामा लिएका हुन् ।
आठ वर्ष प्लाई उद्योगमा काम गरेको तर जागिर खाएर आर्थिक प्रगति नहुने ठानी विदेश जाने तयारी गरिरहेका उनी कोरोना महामारीका कारण भएको लकडाउन पछि विदेश जानबाट रोकिए ।

तत्काल विदेश जाने सम्भावना नभएपछि कुन व्यवसाय गर्ने भन्ने अन्यौलमा रहेको बेला प्रदेश सरकारले कालिज पालनकालागि अनुदान दिने कुरा सुनेपछि उनले यो व्यवसाय गर्न शुरु गरेको बताए ।रिङनेक जातको कालिजका ३५० ओटा चल्ला पोखराबाट खरीद गरी व्यवसाय शुरु गरेको उनले बताए ।

कालिज पालन व्यवसाय नेपालमा शुरु भएको धेरै समय नभएकोले प्रतिगोटा रू.१ हजा ४५० मा उनले चल्ला खरीद गरेका थिए । छ महीना पुगेपछि कालिज मासुका लागि योग्य हुने उनको भनाइ छ । वयस्क भाले कालिज रू.३ हजार ५०० देखि ४ हजार सम्ममा विक्री हुने गरेको उनले बताए ।

कालिजका चल्ला महँगो पर्ने भएकोले निकट भविष्यमा चल्ला कोरल्ने मेसिन फर्ममा नै ल्याउने आफ्नो योजना रहेको जिरी एग्रो फरेस्ट कम्पनीका प्रोप्राइटरसमेत रहेका केसीको भनाइ छ ।

भीमेश्वर नगरपालिकाको महाँकाल बृन्दावन पार्क जाने बाटैैमा रहेको फर्ममा कालिज हेर्न आउनेहरुको संख्या बढ्दै गएकोले फर्म पूर्णरुपमा संचालनमा आई उत्पादन शुरु भएपछि कालिज रेष्टुरेन्ट समेत खोल्ने योजना रहेको उनले बताए ।कालिज फर्म पूर्णरुपमा संचालन नहुञ्जेलका लागि उनले झण्डै ५०० ओटा स्थानीय जातका कुखुरासमेत पालेका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏