केराबालीमा लाग्ने कीरा र रोगको व्यवस्थापन कसरी गर्ने ?

कृषि पोष्ट संवाददाता

केराबालीका कीरा
१. केराको थाम घुन (Stem weevil)

पहिचान

वयस्क खपटे कालो वा रातो रङ्गको हुन्छ यसको सुँड निकै लामो हुन्छ । यसका लाभ्रे सेतो शरीर र रातो टाउको भएको हुन्छ ।

क्षतिको लक्षण

लाभ्रे थाम भित्रभित्रै खोतलेर खाने हुनाले थामभित्र छिया छिया हुन्छ । बिरुवा पहेंलिन थाल्छ । साधारण हुरी वतासले पनि बोट ढल्ने हुन्छ

व्यवस्थापन विधि

-रोगाएका बोटहरूलाई जरैदेखि उखेलेर मसिना टुक्रा गरी नष्ट गर्नुपर्छ ।
-एउटा गाँजमा ३ वटा सम्म मात्र बोट राख्ने ।
-लत्रेका वा लत्रन लागेका पातहरू केराको थामको संगमबाटै काट्ने गर्नुपर्छ ।
-एउटा लामो चक्कुले कीरा लागेको थामलाई खोतलेर लार्भाहरूलाई नष्ट गर्ने ।
-काम नलाग्ने केराका बोटहरू काटेर टुक्रा टुक्रा पारी केरा बगैंचामा यताउती राखिदिनाले त्यसमा वयस्क घुनहरू जम्मा हुन्छन् र तिनलाई संकलन गरी नष्ट गर्न सकिन्छ ।

२. केरा गानुको घुन (Rhizome weevil)

वयस्क खपटे चम्किलो कालो हुन्छ ।

क्षतिको लक्षण

यो घुनका लाभ्रेले केराको गानो खाईदिनाले जराहरू कमजोर हुने गर्दछन् । बोट सजिलै ढल्ने गर्दछ । केरा पसाउन सक्दैन र यदि पसाई हाले पनि फल पुष्ट हुँदैनन् ।

व्यवस्थापन विधि

-घुनले आक्रमण गरेको गानु र थामलाई टुक्रा टुक्रा पारी नष्ट गर्नुपर्छ ।
-घुन लागेको गाँजको बिरुवा अन्यत्र रोप्नु हुँदैन ।
-केराको बोटमा लत्रेका पातहरू हटाई गाँजलाई सफा सुग्घर राख्नुपर्छ ।
-घुन लाग्ने बारीमा नयाँ केराको बोट रोप्नुअघि सम्पूर्ण पुराना बोटहरूलाई जरैदेखि उखेलेर हटाउनु पर्छ ।
-केराको प्रत्येक गाँजमा क्लोरपाइरिफस (डर्सवान १० धूलो) ३० ग्रामका दरले बोटको वरिपरि छरेर माटोमा मिलाई दिंदा घुनको नियन्त्रण हुन्छ ।

केरा बालीका रोगहरू
१. ओइलाउने रोग (Wilt)

क्षतिको लक्षण

शुरुमा पुराना पातको किनाराबाट पहेंलिन शुरु भइ मुख्य नशातिर बढ्छ । रोगी पातको भेटनो फुटी तलतिर झुण्डिन्छन् र पात ओइलाउँछ । जमिन छेउका डाँठ ढाक्ने पातहरू लम्बाई पट्टिबाट फाँटछन्।

व्यवस्थापन विधि

-रोगी केरालाई उखलेर जलाउने ।
-रोगी बोटको पातहरू जलाउने र झांगमा चून वा बोर्डेक्स मिक्स्चर छर्ने ।
-एकै ठाउँमा केरालाई सकभर ३ बर्ष भन्दा बढी नलगाउने ।

२. बन्ची टप (Bunchy top)

क्षतिको लक्षण

रोगी पातहरूको आकार साना, पहेला र किनारा माथितिर बटारिएका हुन्छन । रोगी पातमा मसिना हरिया थोप्ला र धब्बा पनि देखिन्छन्।

व्यवस्थापन विधि

-रोगी बिरुवा जम्मा गरेर जलाई दिने ।
-यो लाही कीराबाट सर्ने रोग भएकोले Dimethoate 30% EC (Rogor, Anugor, १ Rogohit च्यनयजष्त मिलि प्रतिलीटर पानीमा मिसाएर छर्ने ।
-बीउको लागि प्रयोग हुने गानाहरू स्वस्थ्य क्षेत्रको बोटबाट मात्र लिने ।

३. कोत्रे (Anthracnose)

क्षतिको लक्षण

रोगी फलहरू पहेलिन्छ र बोक्रामा साना र खैरा थोप्ला देखापर्दछ । यि थोप्लाहरू जोडिएर केहि धस्रेको जस्तो हुन्छन धेरै आक्रमण भएमा फल कालो भई चाउरिन वा सुक्न सक्छ ।

व्यवस्थापन विधि

-फल र बिरुवालाई चोट पटक लाग्न बाट जोगाउने ।
-कपर अक्सिक्लोराइड ३ ग्राम प्रति लीटर पानीको दरले कोसामा छर्ने ।
४. गानो कुहिने (Rhizome rot)

क्षतिको लक्षण

गानामा शुरुमा पानीले भिजेको जस्तो खैरा धब्बाहरू देखापर्दछ । पछि ती धव्वाहरूबाट नै कुहिन शुरु हुन्छ ।

व्यवस्थापन विधि

-स्वस्थ्य ठाउँबाट गानो ल्याई रोप्ने ।
-रोगी बोट जलाएर नष्ट गर्ने ।
-गानालाई स्ट्रे्प्टोमाइसिनमा केही समय डुबाएर रोप्ने ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏