भरतपुर,१९ काठमाडौं ।
यसवर्षको तिहारमा स्वदेशी फूलको उत्पादनले पुग्ने विश्वास गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले अहिलेको तिहारमा स्वदेशमै उत्पादन भएको फूलले पुग्ने हुँदा बाहिरी देशबाट फूल आयात नगर्न सबैमा आग्रह गरेको छ । यसवर्षको तिहारमा फूलको माग कम हुने र माग भएजतिको फूल यहीँको उत्पादनले पुग्छ’, फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजूले भने, ‘यसवर्ष बाहिरबाट फूल आयात गरे नष्ट गर्छौं, विगतका वर्षहरुमा नपुगेर आयात गरियो, यसवर्ष पुग्छ आयात गर्न रोक्छौँ । यसवर्षको तिहारमा १५ लाख मालाको माग हुने र त्यति माला बन्ने फूलको उत्पादन स्वदेशमै हुने भएकाले फूल आयात गर्नै नपर्ने उनी बताउँछन् । अध्यक्ष कसजूले भने, ‘देशभर १५७ हेक्टरमा फूलखेती गरिएको छ, देशभर फूल किसान ७०० को हाराहारीमा रहेका छन् ।’ उनका अनुसार गत वर्ष नेपालमा २५ लाख मालाको माग भएको थियो । उनले भने, ‘अहिले कोरोनाले २५ लाख मालाको माग हुँदैन, १५ लाख मालाको माग हुने अनुमान गरेका छौँ, त्यति यहीँको उत्पादनले काफी पुग्छ ।’
भारतबाट आयात भएको एक गाडी कृत्रिम माला नष्ट गरेको बताउँदै उनले भने, ‘स्वदेशी फूलले पुग्ने भएकाले भारतबाट आयात भए हामी नष्ट गर्ने रणनीति बनाएका छौँ, पहिला स्वदेशी फूलको प्रयोग गरौँ, नपुगे बल्ल आयात गरौँ । नेपालमा काठमाडौँ उपत्यका, मकवानपुर, काभ्रे, सर्लाही, सिरहा, चितवन, पाल्पा, सिन्धुली, धनुषालगायतका जिल्लामा व्यावसायिकरुपमा फूलखेती भइरहेको छ । चितवनको फूल उत्पादनले यसवर्षको तिहारमा जिल्लाको माग पूरा गर्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवनले पछिल्लो समय जिल्लामा फूलखेती फस्टाउँदै गएको हुनाले यहाँको माग पूरा गर्ने जनाएको छ ।
फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष प्रकाश पन्तले फूलखेतीमा किसानको आकर्षण बढिरहेको बताए । उनले भने, ‘यसमा पनि अझ तिहारमा मालाको रुपमा बढी प्रयोग हुने सयपत्री र ग्लाडिओलस फूलको खेती बढी भएको छ, यहाँ भएको उत्पादनले यसवर्ष पुग्छ । अध्यक्ष पन्तका अनुसार यसवर्ष चितवनमा झन्डै ६० बिघामा फूलखेती भइरहेको छ । गत वर्ष ५० बिघामा फूलखेती भएको थियो ।
चितवनमा सबैभन्दा बढी सयपत्री, ग्लाडिओलस, मखमली, गोदावरी, गुलाफ, जरवेरा फूलको खेती भइरहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । चितवनका फूलखेती गर्ने किसानहरुले यसवर्षको तिहारका लागि सयपत्री, गोदावरी र मगमली फूल तयार पारिसकेका छन् ।
‘गत वर्ष चितवनमा तिहारको बेला फूल बाहिरबाट आयात भएको थियो, यसवर्ष फूल बाहिरबाट मगाउनुपर्दैन’, अध्यक्ष पन्तले भने, यहाँको मागलाई सजिलै धान्छ । यसवर्ष चितवनमा ६० हजारवटा माला बन्ने फूलको माग हुने अनुमान गरिएको छ । गत वर्ष ५० हजारवटा माला बन्ने फूलको माग थियो । यसवर्ष आफ्नै घरमा निजी प्रयोजनका लागि लगाइएको फूल पनि राम्रो भएको हुनाले फूलको माग धेरै नबढ्ने एसोसिएसनले जनाएको छ । अध्यक्ष पन्तले भने, ‘कोरोनाको कारणले पनि फूलको माग विगतका वर्षहरुको तुलनामा कम हुन्छ ।’