भगीरथ भण्डारी/इलाम , २५ मंसिर ।
देउमाई नगरपालिका–१ का कृष्ण राईले गत साल १४ मन आलु रोपेका थिए । यो साल भने बीउ नपाएका कारण १० मन मात्रै रोप्दैछन् । १० मन पनि बेलैमा जोहो गरेका कारण राेप्न उनी बताउँछन ।
राईले गत साल खाने आलु २५ मन बेचे । बीउ आलु ४० मन बेचे । आफ्नै बारीको आधा र अरुको बारीमा फलाइएका आधा बीउ गरी आलु रोप्ने गरेका उनले यस वर्ष पनि आधा अरुको बारीमा फलाइएका आलु लिएर रोप्ने मनसायले तीन हजार दुई सयको भाउमा आलुको बीउ बेचेका हुन् । तर अहिले रोप्ने सिजनमा भने आलु बीउ किन्नै पाएनन्।
राई भन्छन, ‘सबै किसान मेरैमा आलुको बीउ किन्न आए । आफू कस्कामा किन्न जानु ? पछि किन्न पाईन्छ भनेर शुरुमा बेचियो अहिले आफ्नै बारी बाँझो भयो । अब यो साल १० मन मात्र रोपेर चित्त बुझाउँछु ।’
इलाम नगरपालिका–३ का किसान गणेश सुनुवार एक मनको ६ हजार रुपैयाँ दिन्छु भन्दा पनि आलुको बीउ नपाएको गुनासो गर्छन । कतै अलिकति पाईएछ भने रोप्ने नभए बारी बाँझै रहने उनको भनाइ छ । माइजोगमाई गाउँपालिका–१ का पेम्बा शेर्पाले आफूले फलाएको दुई सय मन आलु बेचे । ३० मनबाट फलेको आलु ४० मन रोप्ने सोचमा बीउ राखे र दुईसय सय मन बेचे । यसवर्ष आलुको बिक्रि राम्रै भएका कारण आलु खेती थप गर्ने योजना बनाएका शेर्पाले आफूसँग भएको आलु राम्रो भाउ पाउँदा बेचे अहिले बीउ नपाएपछि आफूसँग जति छ त्यतिनै रोप्ने बताउँछन ।
यतिबेला आलु रोप्ने अन्तिम सिजन हो । बेँसीमा यतिबेला रोपेको आलु चैत्र महिनामा खन्ने बेला हुन्छ भने लेखमा जेठ, असारमा खन्ने गरिन्छ । रोप्ने अन्तिम सिजनमा इलाममा आलुको बीउ किन्न नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा आलुको उत्पादन बढे पनि बीउ भने हाहाकार भएको छ । इलाममा उत्पादित आलु स्थानीय बजारसँगै झापा, मोरङ, काठमाडौं लगायतका बजारमा पुग्छ भने बाहिरी
जिल्लाबाट पनि आलु इलाम आउने गर्छ । यस वर्ष कोभिड १९ का कारण बाहिरबाट आलु नआएको र किसान जिल्ला बाहिर अन्य कामका लागि नगएकाले खेती विस्तार भएपनि सहि तरिकाले जिल्लामा बीउको लागि आलु भण्डारण गर्न नसकिएका कारणले यस वर्ष आलुको बीउ नपाउने समस्या भएको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी गणेश राई बताउनुहुन्छ ।
जिल्लामा एमएस, डेजिरे, बिटे, झ्याले, जनकदेव, खुमल उपहार, खुमल सेतो जस्ता जातका आलु रोपिन्छन् । कृषि ज्ञान केन्द्र इलामको तथ्यांक अनुसार इलाममा आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाको ६ हजार आठ सय ३९ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो । २०७५/०७६ मा ६ हजार आठ सय ५९ हेक्टर क्षेत्रफल र २०७६/०७७ मा ६ हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो ।
उत्पादन भने आर्थिक वर्ष २०७४/०७५ मा ९९ हजार पाँच सय ८२, २०७५/०७६ मा एक लाख नौ हजार सात सय ५०, २०७६/०७७ मा एक लाख १० हजार नौ सय २९ मेट्रिकटन उत्पादन भएको केन्द्रको तथ्यांकमा रहेको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिनुभयो ।
आलु खेतिकै लागि स्थापना भएको इलामको बागबानी विकास केन्द्र इलामले चार सय १२ मन आलु बिक्री गरेपनि इलाम जिल्लालाई धान्ने गरी नभएको पाइएको छ । गतवर्षको तुलनामा ४३ मन बढी आलु उत्पादन गरेपनि सँधै भन्दा यस वर्ष माग धेरै रहेको कारण पर्याप्त नभएको हो । गत वर्ष किसानले केन्द्रमा यसवर्षको जस्तो माग गर्देन थिए तर यस वर्ष अत्यधिक माग बढेपनि दिन सक्ने गरिको बीउ नै छैन । केन्द्रले यस वर्ष एक सय ३७ मन रोप्ने तयारीमा छ । यस केन्द्रले जनकदेव, खुमल उपहार, खुमल सेतो जातका आलु बिक्री गर्ने गर्छ । यो साल २४ सय मन आलुको माग रहेको बागबानी विकास केन्द्र इलामका गणेश खत्रीले जानकारी दिनुभयो ।
आलुको बीउ अभाव हुन नदिन इलामका तीन पालिकामा बीउ भण्डारणका लागि राष्ट्रिय स्टोर (घर) निर्माण गरिने भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये तीन स्थानीय तह फाकफोकथुम, सन्दकपुर र माईजोगमाई गाउँपालिकामा स्टोर निर्माण गरिने भएको हो । फाकफोकथुम गाउँपालिकामा भने गतसाल नै निर्माण सम्पन्न भएको छ । यो सालबाट सुचारु समेत गरिएको छ । यो वर्ष सन्दकपुर र माईजोगमाई गाउँपालिकामा निर्माण गरिने भएको केन्द्रका सूचना अधिकारी गणेश राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यस स्टोरमा पाँच मेट्रिकटन आलुको बीउ भण्डारण गर्न सकिन्छ ।’
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏