संखुवासभा, ७ माघ ।
संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम ठगी गर्ने मुख्य योजनाकार धनकुटा छथर गाउँपालिका–६ का ३३ वर्षीय रमेश भन्ने नरेन्द्र थापालाई नेपालगंजबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
नक्कली कम्पनी स्थापनागरी थापाले कृषकबाट २० लाख भन्दा बढी रकम असुलेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाले बताए । उन्नत जातको गाई पालन तथा चिस्यान केन्द्र स्थापना गर्न भन्दै कृषकबाट रकम असुली गरेका मुख्य योजनाकार थापालाई नेपालगंजबाट मंगलबार सङ्खुवासभा ल्याइएको प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए ।
फरार रहेका मुख्य योजनाकार थापालाई चैनपुर प्रहरीले वडा प्रहरी कार्यालय नेपालगंज बांकेको सहयोगमा नेपालगंजबाट पक्राउ गरेको प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए । जिल्लाको चैनपुर गरपालिका–३ र ४ का विभिन्न कृषकसँग गाईपालन, दुध चिस्यान केन्द्र स्थापना र कम्पनी शेयर सदस्यताबाट थापासहितको समुहले कृषकबाट रकम असुली गरी गरेका थिए ।
प्रहरीले यसअघि ठगीमा संलग्न रहेका चैनपुर–३ का ५६ वर्षीय चन्द्रबहादुर आलेमगर, चैनपुर–४का ३६ वर्षीय मिलन भनिने सुरेन्द्र राईलाई प्रहरी माघ २ मा पक्राउ गरी सकेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । २०७४ चैत्रदेखि विभन्न समयमा उनिहरुले कृषकमार्फत रकम उठाउँदै आएको प्रहरी निरिक्षक खतिवडाले बताए ।
नाफामुखी भन्दै नक्कली कम्पनी पोखरी ग्रुप अफ कम्पनी प्रा.लि.को नामबाट थापाको समुहले कृषकबाट रकम असुली गरेको थियो । उनीहरुले उन्नत जातको गाई पालन कृषकहरुबाट अग्रिम पेश्की बापत १० प्रतिशतका दरले ४ लाख १० हजार रुपैयाँ, दुग्ध चिस्यान तथा डेरि सञ्चालन गर्न भनि १४ लाख ४५ हजार रुपैयाँ उठाएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए ।
त्यसैगरी कम्पनीको शेयर सदस्यता भन्दै विभन्न कृषकबाट १ लाख ५५ हजार रुपैयाँ लिएको खुलेको छ । ठगीमा संलग्नहरुले पोखरी ग्रुप अफ कम्पनी प्रा.ली. नामको नक्कली कम्पनी स्थापना गरी तीनैजना सञ्चालक भई राष्ट्रिय बाणिज्य बैँक चैनपुरमा संयुक्त खाता समेत सञ्चालन गरेका थिए । कम्पनीमा कर्मचारी समेत नियुक्त गरी कृषकका घरघरमा गएर कृषकबाट विभन्न शिर्षकमा उनीहरुले रकम उठाएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक खतिवडाका अनुसार यो समूहले अन्य ब्यक्तीहरु समेत ठगी गरेको हुनसक्ने अनुमान गरिएको बताए । उनीहरुबाट ठगिएको भन्दै आउने क्रम जारी गरेको उनले बताए । साउदी अरेबियाको अलडाना भिजन कम्पनीको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लागानीमा भारतको पञ्जाबमा उन्नतजातको गाई ल्याउने भन्दै कृषकबाट उनिहरुले रकम उठाएका थिए । गाई ल्याएपछि दुग्ध चिस्यान केन्द्र स्थापनाका लागि समेत उनीहरुले कृषकबाट रकम असुली गरका थिए । त्यसैगरी चैनपुरको पोखरी बजार नजिकै मिनिरल वाटरको फ्याक्ट्री खोल्न सेयर सदस्यहरुसँग उनिहरुले रकम असुली गरेको प्रहरीले जनाएको छ ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏