बोइलर कुखुराको मासुमा नयाँ रेकर्ड, पहिलो पटक नाघ्यो किलोको ४ सय रुपैयाँ

कृषि पोष्ट संवाददाता

काठमाडौं, २ बैशाख ।

पछिल्लो समय कुखुराको मासुको मूल्य बढ्दै गएको छ। बजारमा कुखुराको अभाव भएपछि मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्। लकडाउनमा प्रतिकिलो १ सय ८० रूपैयाँसम्म झरेको कुखुराको मासुको मूल्य अहिले ४ सय १३ रूपैयाँ पुगेको छ।

बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको भ्याली कोल्ड स्टोरका सञ्चालक हरिकृष्ण रावलले जानकारी दिए। उनका अनुसार विगत २–३ दिन देखि बजारमा कुखुराको मासु प्रतिकिलो ४ सय १३ रूपैयाँ पुगेको हो। यस अघि ३ सय ९८ रूपैयाँ कायम थियो।

पहिलो पटक कुखुराको मासु प्रतिकिलो ४ सय १३ रूपैयाँ पुगेको उनी बताउँछन्। ‘कुखुराको मासुको मूल्य अहिलेसम्म यति पुगेका थिएन, यो पहिलो पटक हो,’ उनले भने।

बजारमा उत्पादन कम हुनु र भएका उत्पादनमा पनि वर्डफ्लु तथा अन्य भाइरसका कारण नष्ट गरिएको हुँदा मूल्य बढेको हो। अहिले काठमाडौंमा ज्युँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ८० रहेको कुखुरा उत्पादक संघका अध्यक्ष झनक पौडेलले जानकारी दिए। त्यस्तै, तराईमा भने प्रतिकेजी २ सय ६० रूपैयाँ तोकिएको छ।

कुखुराको मासुको मात्रै होइन अण्डाको मूल्य पनि बढ्न सक्ने नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए। उनकाअनुसार प्रतिक्यारेट २० रूपैयाँसम्म बढ्न सक्ने छ। हाल अण्डा प्रति क्यारेट ३ सय ४० रूपैयाँ किसानले पाएका छन्।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏