इतिहासमा पहिलो पटक यति धेरैले बढ्यो कुखुराको मासु ! केजीको कती पुग्यो ?

कृषि पोष्ट संवाददाता

काठमाडौं, ११ बैसाख ।

पछिल्लो समय कुखुराको मासुको मूल्य दिन प्रतिदिन उकालो लाग्नेक्रम जारी छ। काठमाडौँ र चितवनमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। राष्ट्रिय कुखुरा व्यवसायी सङघका अध्यक्ष जङगबहादुर बीसीका अनुसार शुक्रबार कुखुराको मासु प्रतिकेजी काठमाडौँमा ४३० रुपियाँ र चितवनमा चार सय रुपियाँमा कारोबार भइरहेको छ।

साना व्यवसायीले यो मूल्यभन्दा १०÷१५ रुपियाँसम्म बढी मूल्यमा कुखुराको मासुको कारोबार गरिरहेको पाइन्छ। “पछिल्लो एक महिना लगातार कुखुराको मासुको मूल्य बढिरहेको छ। अझै केही समय यही मूल्य कायम रहने देखिन्छ।” अध्यक्ष बीसीले भने, “यो मूल्य अहिलेसम्मकै उच्च मूल्य हो।” व्यवसायीले किसानबाट जिउँदो कुखुरा प्रतिकिलो काठमाडौँमा ३१० र चितवनमा २८५ रुपियाँमा खरिद गर्ने गर्छन्। गोरखापत्रमा खबर छ ।

महँगो चल्ला र दाना

पछिल्लो एक महिनामा चल्लाको भाउ पनि गोटामा ३० देखि ३५ रुपैयाँले बढेको छ । प्रतिगोटा ५५ देखि ६० रुपैयाँमा कारोबार हुने चल्लाको भाउ ९० रुपैयाँभन्दा धेरै भएको नेपाल ह्याचरी उद्योग संघले जनाएको छ ।

प्यारेन्ट कुखुरा अभावमै चल्लाको उत्पादन साप्ताहिक रूपमा १५ लाख गोटाले कम भएको संघका अध्यक्ष टीकाराम पोख्रेल बताउँछन् । हप्तामा ४० देखि ४५ लाख चल्लाको माग भए पनि उत्पादन २५ लाख हाराहारी मात्रै रहेको उनको भनाइ छ ।

‘गत वर्ष यो सिजनमा ५५ लाख हाराहारी चल्ला रहे पनि अहिले धेरै कम भएको छ, अब तत्काल प्यारेन्ट आयात बढाउँदा पनि कम्तीमा ८ महिना त चल्ला उत्पादन बढाउनै लाग्छ’, अध्यक्ष पोख्रेल भन्छन् ।

नेपालमा चल्ला उत्पादन गर्ने माउ प्यारेन्ट कुखुरा थाइल्याण्ड, फिलिपिन्स, जर्मनीलगायत मुलुकबाट आउने गरेकोमा लकडाउनका कारण प्रभावित बनेको पोख्रेलको दाबी छ । यसै हप्ता मात्रै दाना उत्पादक व्यवसायीले ब्रोइलर तथा लेयर्स दानाको भाउ पनि बढाएका थिए ।

दाना बनाउन आवश्यक पर्ने मकै भटमासको भाउ बढेको भन्दै उनीहरूले प्रतिकिलो २ रुपैयाँका दरले दानाको भाउ बढाएको नेपाल ह्याचरी संघले जनाएको छ । नयाँ मूल्य अनुसार ब्रोइलर कुखुराको दानाको भाउ प्रतिकिलो ६० रुपैयाँ र लेयर्सको ५५ रुपैयाँ हाराहारी पुगेको संघका अध्यक्ष टीका पोख्रेलले बताए ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏