मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा

कृषि पोष्ट संवाददाता

काठमाडौं, २४ बैशाख ।

रोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका छन् । नियमनकारी निकायले बजार अनुगमन नगर्दा कतिपय व्यापारीले उपभोक्तालाई ठगेका छन् ।

कोरोनाको सङ्क्रमण बढेपछि व्यापारीले मास्कको अभाव देखाउँदै प्रति थान दुई रुपैयाँ पर्ने सर्जिकल मास्कको २० रुपैयासम्म बिक्री गर्न थालेका छन् । मेडिकलहरुले औषधिमा समेत मूल्य वृद्धि गरेको देखिन्छ भने खाद्यान्न, सुर्तीजन्य पदार्थ तथा खाने तेलको मूल्यमा अस्वाभाविकरुपमा मूल्य वृद्धि भएको स्थानीयवासी नरराज रावतले बताए । “निषेधाज्ञा हुनुको पहिलो दिन प्रतिकेजी रु ८० पर्ने चिनीको मूल्य ९० पुगेको छ । प्रतिप्याकेज एक सय पर्ने मास्कको मूल्य तीन सय पुगेको छ”, रावतले भने, “अघिल्लो दिनसम्म स्थिर रहेको मूल्य निषेधाज्ञा भएको दिनदेखि व्यापारीले कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका हुन् । यसले निषेधाज्ञाको चपेटामा परेका सर्वसाधारणहरुलाई ठूलो मार परेको छ ।

टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका रामबहादुर चौधरी दैनिक मजदूरी गरी जीवन निर्वाह गर्दै आउनुभएको छ । दैनिक गिट्टी कुटेर साँझ–बिहानको छाक टार्ने रामबहादुरलाई अहिले कोरोना सङ्क्रमणका कारण भएको निषेधाज्ञाले दैनिक मजदूरीको काम रोकिँदा खानका लागि निकै समस्या हुन थालेको छ । “काम छैन । पैसा पनि छैन । नखाएर बाँच्न सकिँदैन”, रामबहादुरले भने, “बजारमा सामानको भाउ पनि छुइसक्नुछैन । जताबाट पनि मर्ने हामी जस्ता गरीब त हो । ठूलाबडालाई त सबै छुट दिएकै छ ।” उनले सरकारबाट राहतको व्यवस्थापन हुन नसके रोगभन्दा पनि भोकले मर्नुपर्ने समय आउने बताएका छन् ।

उपभोक्ता हित संरक्षण समिति टीकापुरले अहिलेसम्मको स्थितिमा प्रेस विज्ञाप्ति निकाल्ने भन्दा अर्को काम गरेको देखिँदैन । समितिका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले बजार अनुगमनका लागि प्रक्रिया अगाडि बढाइएको भए पनि अनुगमन हुन नसकेको बताएका छन् । “बजारमा मूल्य वृद्धि भएको भन्ने गुनासो हामीलाई आएको छ । केही दिनमा हामी बजारको अनुगमन गर्छौं”, समितिका अध्यक्ष तिमिल्सिनाले भने, “अहिले नै बजारमा सामानको अभाव हुने समय भइसकेको छैन । तर बजार अनुगमनमा त्यस्तो देखियो भने हामी व्यापारीलाई कारबाहीको दायरामा ल्याउँछौँ ।

उनले व्यापारीहरुले सामानको खरीद बिल नराख्दा अनुगमनमा समस्या हुने गरेको बताउँदै नगरपालिका बढी जिम्मेवार भएमात्र अनुगमनलाई प्रभावकारी बनाउन सकिने बताए । नगरपालिकाले मासिकरुपमा बजारको सन्तुलन मूल्यको रेकर्ड राख्नुपर्ने हो । त्यो हुन सकेको छैन”, तिमिल्सिनाले भने, अर्कोतिर उपभोक्ताले सामान खरीद गर्दा व्यापारीसँग बिल लिँदैनन् भने व्यापारीहरुले पनि सामानको मूल्य सूची राख्दैनन् । यसले झन् अन्यौलता थपेको छ ।

टीकापुर नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समितिसमेत गठन गरेको छ । समितिले गरेको बजार अनुगमन औपचारिकतामा मात्रै सीमित हुने गरेको गुनासो स्थानीयवासीको रहँदै आएको छ ।

उता, स्वास्थ्य क्षेत्रको अनुगमनका लागि नगरपालिकाले जनस्वास्थ्य प्रवद्र्धन शाखालाई जिम्मेवारी दिएको छ । स्वास्थ्यका कर्मचारी कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका कारण स्वास्थ्य क्षेत्रको अनुगमन गर्न नसकिएको नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले बताए । झलनाथ खनाल,रासस

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏