स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा बजेट केन्द्रित गर्न माग

कृषि पोष्ट संवाददाता

काठमाडौं, २ जेठ ।

संघीय र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक बजेट ल्याउने तयारी गरिरहँदा उदयपुरका राजनीतिकर्मीले आगामी बजेट मुख्य रुपमा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा केन्द्रित गर्न माग गरेका छन् ।

विगतमा पनि योजनाको निर्माणर प्रभावकारितालाई खासै प्राथमिकता नदिइएकाले स्थानीयले लगानीको प्रतिफल पाउन नसकेको उनीहरुको भनाइ छ । कोरोनाको महामारीबाट उत्पन्न परिस्थितिसँग सामना गर्न पनि आगामी आर्थिक वर्षको बजेट यी क्षेत्रमा केन्द्रीत गर्नु पर्ने राजनीतिकर्मीको सुझाव छ ।
संघीय तथा प्रदेश सरकारले विगतमा साना योजनामा बजेट छर्दा ठोस र दीर्घकालीन काम हुन नसकेको उनीहरुको भनाइ छ । कोरोना महामारीले पारेको असरलाई न्यूनिकरण गर्दै सर्वसाधारणको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थामा सुधार ल्याउन पनि अबको लगानी स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी र अधुरा योजना सम्पन्न गर्ने कुरामा केन्द्रीत हुनुपर्ने प्रदेश सांसद हिमाल कार्की बताउँछन् ।

“कोरोना महामारीले सबै क्षेत्र लथालिंग पारेको छ । बिगतमा बजेट विनियोजन गरे जस्तो अहिलेको अवस्था छैन” सांसद कार्कीले भने, “ अबको बजेट जनमुखी, दीर्घकालीन, उत्पादन तथा रोजगार केन्द्रीत हुनका साथै आयात प्रतिस्थापन गर्ने हुन जरुरी छ ।” कोरोना माहामारीले पारेको चौतर्फी असरलाई नियन्त्रण गर्न सक्ने बजेट ल्याए आम नागरिक लाभान्वित हुने कार्कीले बताए ।

संघ र प्रदेश सरकारले अहिलेको अवस्थामा पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, रोजगार र अधुरा योजना सम्पन्न गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउनु पर्ने अर्का प्रदेश सांसद विमल कार्कीको सुझाव छ ।

“पूर्वाधार निर्माण र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न आवश्यक छ” सांसद कार्कीले भने, “यसका साथै शिक्षा, कृषि, रोजगार र नदी नियन्त्रणलाई प्राथमिकतामा राख्न आवश्यक छ ।” विदेसिएका लाखौं युवा कोरोनापछि नेपाल फर्किने अवस्थामा रहेकाले कृषिको विकासबाटै उनीहरुलाई स्वरोजगार बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ ।
संघीय र प्रदेश सरकारले ल्याउने बजेट स्वास्थ्य, शिक्षा, कृषि, नदी नियन्त्रण र रोजगारमूलक हुनुपर्ने नेपाली कांग्र्रेस उदयपुरका नेता वसन्तकुमार बस्नेत बताउँछन् । “कोरोना महामारीपछि उत्पन्न परिस्थितिको विश्लेषण गरेर बजेट तर्जुमा गर्नुपर्छ” उनले भने, “अब कृषि, सडक यातायात, नदी नियन्त्रण र रोजगारीका क्षेत्रमा पर्याप्त लगानी गर्न आवश्यक छ । स्वदेशमै बेरोजगार युवाहरुको संख्या बढिरहेको बेलामा कोरोनाका कारण विदेशमा भएका लाखौं युवा स्वदेश फर्किदा समस्या झन बढेर जाने उनले बताए ।

कोरोना महामारीले पारेको आर्थिक असरलाई कम गर्न सक्ने गरी स्वास्थ्य, शिक्षा उद्योग, कृषि र रोजगारीका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर संघीय र प्रदेश सरकारले बजेट ल्याउनु पर्ने धारणा सर्वसाधारणको छ ।

#कृषि
#बजेट
#रोजगारी

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏