कुखुराको मासुको खपत ७०% ले घट्यो : फेरी घट्यो मासुको मूल्य, मारमा किसान

कृषि पोष्ट संवाददाता

काठमाडाैं, ६ जेष्ठ ।

निषेधाज्ञाले खुकुराको मासु बढि खपत हुने होटल/रेष्टुरेन्टहरु बन्द भएपछि मूल्य क्रमिक रुपमा घट्न थालेको छ। आम उपभोक्ता स्तरबाट पनि कुखुराको मासुको उल्लेख्य माग छैन।

मंगलबारदेखि जिउँदो कुखुरा र तयारी मासुको प्रतिकेजी १० रुपैयाँले घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए।

संघले जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर खरिद मूल्य २ सय ४० रुपैयाँ तोकेको छ। सर्वसाधारण उपभोक्तालाई तयारी मासुको मूल्य प्रतिकेजी ३ सय ४० रुपैयाँ कायम गरेको छ।

बन्दले विहानको समयमा मात्र मासु बिक्री हुने गरेको छ। बजारमा आएका कुखुरा राम्रोसँग बिक्री हुन नपाएको उनले बताए।

यसअघि जिउँदो कुखुरा प्रतिकेजी २ सय ५० रुपैयाँ र मासु प्रति केजी ३ सय ५० रुपैयाँ थियो। गत महिना बजारमा कुखुराको अभाव हुँदा मूल्य बढेर जिउँदो कुखुरा प्रतिकेजी ३ सय १० रुपैयाँ पुगेको थियो। तयारी मासु प्रतिकेजी ४ सय ५० रुपैयाँभन्दा बढी पुगेको थियो।

अहिले माग कम भएका कारण जिउँदो कुखुराको मूल्यनै आधा घटेको संघले जनाएको छ।

प्यारेन्ट कुखुराको आयात समयमा नहुँदा चल्ला र कुखुराको उत्पादन घटेको थियो। उत्पादन कम हुदा बजार भाउ राम्रो पाउने भन्दै कुखुरा पालक किसान तथा पोल्ट्री फार्महरुले महङगो मूल्यमा चल्ला हाल्न थालेका थिए। ती उत्पादनहरु यति बेला बजारमा आउन थालेको छ।

अहिलेको बजारको मागभन्दा बढी नै कुखुरा उत्पादन रहेको छ। पहिलेको अनुपातमा कम उत्पादन भएपनि बन्दका कारण उत्पादन अनुसार खपत छैन। निषेधाज्ञा लम्बिदै गए मासुको मूल्य अझ घट्दै जाने बिसीले जानकारी दिए। गत बर्ष लकडाउनको समयमा कुखुराको खपत नहुदा जिउँदो प्रतिकेजी एक सय रुपैयाँसम्म आइपुगेको थियो।

७० प्रतिशतले मासु खपत घट्यो
संघका अनुसार निषेधाज्ञाले कुखुराको मासुको खपत ७० प्रतिशत घटेको छ। गत बैशाख १६ गतेपछि करिब २५ देखि ३० प्रतिशत मात्र मासुको खपत रहेको संघका सचिव देवकुमार गिरिले बताए।

यति बेला कुखुरा उत्पादन भएर बजारमा आउने उपयुक्त सिजन हो। बिवाह र पार्टीको समय हुने भएकोले मासुको खपत दोब्बरले बढ्थ्यो। यसपाली मूख्य सिजनमै निषेधाज्ञा छ। निषेधाज्ञा देशका ७४ जिल्लामा छ।

निषेधाज्ञाका कारण पसलहरु बिहान ७ देखि १० बजेसम्म मात्र खुल्छन्। होटल/रेष्टुरेन्ट सबै बन्द भएकाले माग घटेको उनले बताए।

पोहोरको लकडाउनभन्दा यसपालीको निषेधाज्ञाले अलिकति ब्यवसायीलाई सहज भने बनाएको छ। पोहोर समय नदिइ लकडाउन गरिएकाले धेरै जना काठमाडौंलगायत काम गर्न गएको ठाउँहरुमा थुनिएको थियो। लकडाउन देशब्यापी पनि गरिएको थियो।

यसपाली काठमाडौंमा निषेधाज्ञा गर्नुअघि गाउँ जानेलाई समय दिइएको थियो। साथै निषेधाज्ञा देशब्यापी नगरिएर स्थानीय प्रशासनहरुलाई आवश्यकता अनुसार गर्न दिइयो। यसले गर्दा गाउँ पसेको जनसंख्याले कुखुराको खपत उत्तै बढाएको छ। ‘नभए जिउँदो कुखुरा १ सय ५० रुपैयाँ केजीमा आइसक्थ्यो,’ सचिव गिरिले भने।

सामान्य अवस्थामा देशभर करिब १० लाख केजीभन्दा बढी कुखुराको मासु बिक्री हुने गरेको थियो। लकडाउनपछि दैनिक साढे पाँच लाख मासु बिक्री भइरहेको थियो।

निषेधाज्ञाले थप उत्पादन घट्ने

पछिल्लो समय कुखुरा पालक किसान तथा पोल्ट्री फार्महरुले पुर्ण रुपमा उत्पादन गरेका छैनन्। कोभिडले प्यारेन्ट आयात नहुँदा चल्ला र दानाको भाउ महङगो भएपछि किसानहरुले क्षमताभन्दा कम उत्पादन गर्दै आएका थिए। कतिपय किसानहरु रानीखेत रोगले ठुलो नोक्सान हुन थालेपछि कुखुरापालन व्यवसाय छोड्न थालेका थिए।

हाल निषेधाज्ञाले गर्दा चल्ला हाल्न कम गरेकोले अबको केही समयमा बजारमा कुखुराको अभाव हुने सम्भावना रहेको व्यवसायीहरुले बताएका छन्।

अहिले जिउँदो कुखुराको मूल्य घटेपनि किसानलाई नोक्सान हुने अवस्था भने आइहालेको छैन। तैपनि हालको अवस्थाले गर्दा नयाँ उत्पादनप्रति किसानहरुको मनोबल घट्न थालेको छ। जसले गर्ला एकदेखि २ सातामा कुखुरा उत्पादन कम हुने देखिएको व्यवसायी विनय केसीले बताए। -सरला सुबेदी/बिजमाण्डू

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏