नेपालगञ्ज , १२ जेठ ।
नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बीउ वितरण शुरु गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण शुरु गरेको हो ।
नगर प्रमुख डा.धवलशम्शेर राणाले आजदेखि शुभारम्भ गरेको कार्यक्रम केही दिनसम्म चल्ने छ । किसानलाई झण्डै १६ मेट्रिक टन धानको बीउ वितरण गर्न लागिएको छ । पचास प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको बीउ लिन किसानहरुको लाम लागेको छ ।
किसानको आवश्यकतानुसार कम्तीमा ३५ किलोको एक बोरी धानको बीउ उपलब्ध गराउने गरिएको छ । राधा–४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सबवन गरी चार किसिमका धानका बिउ वितरण भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।
अरब सागरको ‘ताउ—ते’ सामुद्रिक चक्रवातका कारण नेपालगञ्जमा तीन दिनसम्म परेको अविरल झरीपछि यहाँका किसान धानको बिउ छर्न जुटेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार नेपालगञ्जसहित बाँके जिल्लाभरी यस वर्ष ३६ हजार हेक्टरमा धान खेती हुने आंकलन गरिएको छ । सुरुआती चरणमै राम्रो वर्षा भएकाले रोपाइ सप्रने अपेक्षा गरिएको छ । उत्पादन भएको आधा धान चामलमा परिणत गरी कर्णाली लगायत विभिन्न जिल्लामा निर्यात हुँदै आएको केन्द्रले जनाएको छ ।
नेपालगञ्जसहित बाँके जिल्ला धानबालीमा आत्मनिर्भर भएको जिल्ला हो । जिल्लाका अधिकांश किसानका लागि धानबाली मुख्य आर्थिक स्रोतका रूपमा रहेको छ । धानको उत्पादन वृद्धि गर्नका लागि धान ब्लक, धान पकेट तथा स्मार्ट कृषि गाउँ कार्यक्रम पनि लागु भएको छ । यो कार्यक्रमले पनि धानको उत्पादनमा वृद्धि गर्ने बताइएको छ ।
यसका साथै यस वर्षदेखि सिँचाइ सुविधा उपलब्ध भएका कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको छ । सिक्टा सिँचाइ आयोजनाले किसानका अधिकांश खेतमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याएको छ ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏