अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण गरेपछी… भयो यस्तो

कृषि पोष्ट संवाददाता

काठमाडौं, २६ जेठ ।

मोरङको बेल्बारी नगरपालिकाले किसानलाई झुक्याएर बाख्रा वितरण गरेको पाइएको छ । संखुवासभाको ग्रो अर्गानिक कृषि फर्मले लिएको बाख्रा खरिदको ठेक्कामा नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनी नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको हो । बाख्रा खरिदकालागि ग्रो अर्गानिक कृषि फर्मले नगरपालिका सँग जेठ ३ गते एक करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।

सप्लायर्सले जेठ १५ गते बोका ल्याएपछि वितरण गर्दा किसानले विरोध जनाएका थिए । किसान झुक्याएर बाख्रा वितरण गरेको भन्दै किसानहरुले बिरोध गरेको थियो । बिरोध भएपछि सत्यतथ्य पत्ता लगाउन छानमिन समिति टोली समेत बनेको छ । किसानले विरोध गरेपछि नगरपालिकाले उपप्रमुख ढाकाकुमारी पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले ठेकेदार र बेलबारी नगरपालिकाको बदमासीले किसान ठगिएको बताए ।

‘राज्य कोषको चरम दुरुपयोग हो, किसानमाथि अन्याय पनि भयो,’ उनले भने, ‘अष्ट्रेलियाबाट ल्याएको बाख्रा होइन, समूहका किसानले पालेको बाख्रा संकलन गरेर पठाएको सूचना छ ।’ बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बाख्रा ल्याउँदा सप्लायर्सको बदमासी देखिएको बताए । ‘आयातकर्ताले भारतको लखनउ हुँदै ल्याएको बताएपछि बाख्रा बाँडियो,’ उनले भने, सप्लायर्सले बाख्रा ल्याएको कागजात अझै नगरपालिकामा बुझाएको छैन ।
कागजात नबुझाएपछि नगरपालिकाले भुक्तानी रोकेको छ । शाहका अनुसार नगरले मागेको कागजात अझै पनि उनिहरुले बुझाउन सकेको छैन् । भन्सारमा बुझ्दा बाख्रा नै आएको देखिएन,’ कागजात बुझाउन नसकेपछि नगरले भुक्तानी रोकेका थिए । अब कार्वाहीको प्रक्रियामा जाने शाहले बताएको पूर्णपुष्टि खबरमा खबर छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏