५० % घट्यो कुखुराको मासुको खपत : मारमा व्यवसायी

कृषि पोष्ट संवाददाता

काठमाडौँ, २० साउन ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले गत सोमबार कुखुराको मूल्य घटेको सुचना जारी गर्यो । सुचनाका अनुसार, साविकमा रहेको जिउँदो कुखुरामा प्रति किलो १५ रुपैँयाले घटेको छ भने, कुखुराको तयारी मासुतर्फ १० रुपैँया प्रति किलो घटेको छ । यससँगै प्रति किलो तीन सय ९० रहेको जिउँदो कुखुराको मासुमा गत श्रावण १८ गतेबाट तीन सय ७५ मा झरेको छ भने, प्रति तयारी मासु हाल दुई सय ७० मा पुगेको छ, जुन केही दिन अघिसम्म दुई सय ८० थियो ।

श्रावण महिना लागेसँगै हाल कुखुराको मूल्य घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंग बहादुर बि.सी.ले हलोखबरलाई बताए । उनी भन्छन्, ‘कुखुराको मूल्य घट्नुमा श्रावण महिनामा पर्नेे व्रत तथा धार्मिक आस्थाका कारण पनि कुखुरा खपतमा कमी आउने गर्छ ।’ खपतमा कमी भएसँगै कुखुराको मूल्य घट्नु स्वाभाविक भएको उनले बताए ।

३० देखि ४० प्रतिशतले मासु खपतमा कमी

श्रावण लागेसँगै व्रत तथा धर्मकर्मका कारण धेरै जसोेले मासु सेवन केही समयका लागि त्याग्ने गर्छन् । फलस्वरुप कुखुराको मासु खपतमा कमी आउँछ । संघका अध्यक्ष बि.सी. का अनुसार, साविक दिनमा काठमाडौँमा दैनिक पाँच लाख र नेपालभर करिब ८ लाख किलो बराबरको मासु खपत हुन्थ्र्यो । हाल उक्त संख्यामा भारी गिरावट आई ३० देखि ४० प्रतिशतले बजारमा मासु खपत घटेको उनले जनाए ।

एकतर्फ कुखुराको मासु मूल्य घटिरहेको छ भने, अर्को तर्फ दानाको मुल्य भने निरन्तर उकालिदै गएको छ । यसको प्रत्यक्ष मार कुखुरा व्यवसायीलाई परेको छ ।
कुखुरा व्यवसायीले प्रति किलो दानामा ७० रुपैँया तिर्नु परेको छ । जुन, गत जेठसम्म ६४ रुपैँया प्रति किलो थियो । एकतर्फ कुखुराको मूल्यमा कमी आउनु त, अर्को तर्फ दानाको मूल्यमा भइरहेको मूल्य वृद्धिले कुखुरापालक व्यवसायीलाई ठुलो मारमा पारेको नेपाल कुखुरापालक किसान संघका अध्यक्ष झनक प्रसाद पौडेले बताउँछन् । उनी भन्छन्, ‘दाना मूल्य वृद्धिमा मनपरी भएको छ । दानाको मूल्य बढ्दा, मूल्य बढ्नुको वैज्ञानिक ढंगमा छलफल भएको छैन ।’

दानाको मूल्य बढाउन आवश्यक छ वा छैन किसान तथा सरोकारवालासँग बैठकसमेत नबसी मनोमनी तरिकारले मूल्य बढाएको आरोप उनको छ । यसले कुखुरापालक किसानमा नैराश्यतामा बढाएको उनी अनुभव छ । एउटा कुखुरा तयार हुन दाना तथा ह्याचरी गरी दुई सय ४० लाग्ने उनले बताए । उद्योग विभाग तथा कृषि तथा पशुपन्छी मन्त्रालयले यस विषयमा गम्भिर हुनु पर्ने उनको जोड छ ।

के भन्छन् दाना उद्योग व्यवसायी ?

नेपाल दाना उद्योग संघका अध्यक्ष बाल चन्द्र खनालका अनुसार, दानाको कच्चा पदार्थमा भएको मूल्य वृद्धि तथा अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेको कारण दानामा मूल्य बढाउनु परेको हो । भन्छन्, ‘गत बैशाखबाट हालसालै मात्र साविक मूल्यमा एकदेखि दुई रुपैँया बढेको हो ।’

महिना दिनमै कुखुराका दाना दुई तीन पटक बढ्ने गुनासा सुन्नमा आएको विषयमा भने उनले खण्डन गरेका छन् । ‘मूल्य वृद्धिमा मनोमानी नभई आवश्यकता अनुसार नै भएको उनले हलोखबरलाई प्रस्ट्याए ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏