जो लाखौं कमाउने व्यवसाय छाडेर खेतीमा लागे

कृषि पोष्ट संवाददाता

काठमाडौं, १८ भाद्र ।

केही दिनअघिसम्म उनलाई चिनेजानेका अधिकांशले ‘बौलायो’ भन्थे। काठमाडौं बसेर लाखौं कमाइ गर्ने काम छाडेर उनी खेतीपाती गर्न थालेका थिए।

उनलाई मान्ने धेरैजसो साथीभाइ र आफन्तले कृषिमा लागेपछि साथै छोडिदिए। परिवारमा कलह निम्तियो। बुवा रिसाएर बोल्नै छाडे। भाइ छुट्टिएर बस्न थाले। अरू कतिपय आफन्तहरू उनलाई मूर्ख भनेर कुरा काट्थे।

सबैले साथ छाड्दा पनि उनले आफ्नो कृषि सपना छाडेनन्। उनी हुन् महोत्तरी, एकडाँरा गाउँपालिका–४ का जासर यादव।

एक वर्षअघिसम्म जासर युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर चलाउँथे। काठमाडौंमा कार्यालय थियो। उनका अनुसार महिनामै पाँच-सात लाख कमाइ हुन्थ्यो।

जासरले म्यानपावर व्यवसाय छाडी त्यसबाट कमाएको पैसा खेतीमा लगानी गरेका हुन्। अहिले उनले रौतहट र महोत्तरीमा गरी ६५ विघा जग्गामा खेती गरिरहेका छन्। यसमध्ये ५३ विघामा माछा, हाँसको अण्डा, कागती, तरकारी, केरा, मेवा, लगायत खेती भइरहेको छ भने १२ विघा खनजोत केही बाली लगाउन तयार राखेका छन्।

यो काम थाल्दा घर-परिवारदेखि सबैजसो चिनजानकाले मलाई यो बौलायो भनेर गाली गरे। भएभरको जम्मै सम्पत्ति बेचेर डुबाउँछ, आफ्नो दुर्दशा आफैं लेखिसक्यो भन्थे,’ जासरले सुनाए।

जोखिम नलिइ अघि जान सकिन्न भन्ने उनलाई लाग्थ्यो। यो भनाइ उनी राजनीतिमा लाग्दा त्यो बेला उनले मानेका नेता सिके राउतले सिकाएका थिए। जासरलाई यो भनाइ मन परेको मात्र थिएन, आत्मसात पनि गर्दै थिए। त्यसैले अरू रिसाए पनि उनले वास्ता गरेनन्।

‘अहिले अलिअलि आम्दानी आउन थालेपछि धेरैले पागल भन्न छोडेछन्,’ उनले हाँस्दै भने।

जासर आफ्नो घरगाउँ छाडेर पैसा कमाउन निस्किएको झन्डै तीस वर्ष हुन आँट्यो। नौ कक्षासम्म मात्र पढेर उनी काठमाडौं हिँडेका थिए। काठमाडौंमा केही समय दुःखजिलो गरेपछि उनले काठको काम थाले। काठका सामान बेच्न थाले। त्यतिखेर काठको काम गर्ने मानिस कम भएकाले आम्दानी राम्रो भयो। दिनप्रतिदिन कमाइ बढ्न थाल्यो।

झन्डै बीस वर्ष काठको काम गरेपछि जासरले २०७० सालमा काठमाडौं, बसुन्धरामा म्यानपावर कम्पनी खोले। त्यतिखेर उनीसँग बचत ३० लाख रूपैयाँ थियो। त्यही धरौटी राखेर अग्रिम ओभरसिज नामक कम्पनी खोलेका थिए।

गोकर्ण विष्ट श्रम तथा रोजगारमन्त्री बनेपछि म्यानपावर कम्पनी चलाइराख्न दुई करोड रूपैयाँ धरौटी पुर्‍याउनुपर्ने प्रावधान आयो। म्यानपावरको कमाइ राम्रो भएकाले धरौटी राख्न गाह्रो भएन।

‘अग्रिम ओभरसिज म्यानपावरबाट बर्सेनि चार सयदेखि पाँच सय जनालाई विदेश पठाइन्थ्यो,’ उनले भने।

व्यवसाय गर्दागर्दै उनलाई राजनीतिको चस्का पसेको थियो। २०६३ सालपछि मधेस आन्दोलनले धेरै युवालाई झैं उनलाई पनि आन्दोलित बनायो। मधेशको मुद्दालाई लिएर विभिन्न राजनीतिक दल हुँदै उनी तत्कालीन स्वतन्त्र मधेस गठबन्धनमा लागे। व्यवसायी जासरलाई लाग्न थालेको थियो, मधेस समृद्ध बनाउने खालको राजनीति गर्नुपर्छ।

कृषिमा क्रान्ति ल्यायो भने मधेसको समृद्धि हुन्छ भन्ने उनले राजनीतिमा लाग्दै सुनेका थिए। सिके राउतको अभियानको एउटा नारा नै थियो कृषि क्रान्ति। आफ्नै खेतबारीमा हुने उब्जनीबाट पैसा कमाएर जनतालाई आर्थिक रूपले सम्पन्न बनाउने आइडिया उनलाई खुब मन परेको थियो। उनले त्यतिबेलै कृषि गर्ने सोच बनाएका थिए।

तर विस्तारै जसारको गठबन्धन नेता राउतसँग भरोसा उठ्दै गयो। राउतसँग आस मरेपछि राजनीति छाडेर उनी पूर्ण रूपमा कृषि कर्ममा लागेको बताउँछन्।

‘समृद्ध मधेस बनाउन हामी पटक-पटक जेल गयौं। धेरैले आफ्नो भविष्य दाउमा लगाएर उहाँको पछि लागे। तर उहाँले प्रलोभनमा फसेर जनतालाई धोका दिएपछि उहाँको साथ छाडेँ,’ उनले भने।

राउतको पार्टीमा उनी विदेश विभाग सम्हाल्थे। उनी पाँच वटा देश पुगेर संगठन विस्तार गरे। संगठन निर्माण गर्न जाँदा विदेशमा नेपालीको अवस्था देखे।

‘खाडीमा युवाहरूलाई मेसिनजस्तै प्रयोग गरिने रहेछ। न श्रमअनुसार पैसा छ, न सम्मान। मधेसी समुदायका व्यक्तिले त्यहाँ झन् बढी कष्ट भोग्नुपरेको देखेँ,’ जासरले सम्झिए, ‘हामीले पठाएका कामदारलाई सम्झौताअनुसार काम नदिइने रहेछ। आफ्नैबाट पनि दिनहुँ ठगिएको गुनासो सुन्नुपर्ने।’

तीमध्ये कतिपय ठगिएको पूर्व म्यानपावर व्यवसायी जासरले पनि स्वीकार गरे।

दुई करोड धरौटी राखेर व्यवसाय गरे पनि सम्मान पाउनु त कता, सबैले ठग/दलाल भन्थे। विदेशमा नेपालीका दुःख देखेपछि उनलाई ‘मान्छेले ठिकै भनेका रहेछन्, यो पेसा नै यस्तो रहेछ’ भन्ने लाग्न थाल्यो। विदेशमा युवाले भोगेका कष्ट र गुलामीपन देखेर आफू खिन्न भएको उनले बताए।

अनि जासरलाई मान्छे विदेश पठाउने काम गर्न मन लाग्न छाड्यो। यही बेला राजनीतिमा हुँदा लगाएको नारा कृषि क्रान्तिले उनलाई राहत दियो।

कृषि थाले यहीँ धेरै युवालाई रोजगारी दिन सक्छु भन्ने सोचले ऊर्जा थप्यो। म्यानपावर कम्पनीमा लगाएको लगानी कृषिमा खन्याउने योजना बनाउन थाले। यो योजना बनाउँदै गर्दा काठमाडौंमा अमेरिकी संस्था ‘आइडिया’ ले कृषिबारे दिएको तालिममा उनी सहभागी भए।

त्यो तालिममा उनले कतारको कथा सुने। चौतर्फी नाकाबन्दी हुँदा पनि कृषिमा आत्मनिर्भर भएकाले कतारलाई केही असर नपरेको कथाले उनलाई दंग बनायो। आधुनिक हिसाबले कृषि पेसा गर्दा व्यक्ति, समाज र देशलाई हुने फाइदाबारे दिइएको कक्षाले जासर प्रभावित भए।

‘तालिम दिने संस्थाले हामीलाई उनीहरूकै फर्ममा काम गर्ने प्रस्ताव पनि राख्यो। तर मैले त्यही आइडियामा आफैं खेती गर्ने योजना बनाएँ,’ उनले भने, ‘युट्युब र कृषि विज्ञबाट आधुनिक खेतीबारे सल्लाह लिएँ। सम्भावना अध्ययन गरी जग्गा छानेँ अनि खेती सुरू गरेँ।’

उनले पोहोर वैशाखमा रौतहटको फतुवा विजयपुर नगरपालिका—५ स्थित एउटा स्कुलको २५ विघा जग्गा लिज लिएर काम थालेका हुन्। खेती सुरू गर्दा उनको पेटमा केही गर्ने आगो रन्केको थियो। यो ताप उनका चिनजानका कसैले सहन सकेनन्। अनेकथरी भने, साथ दिएनन्। तर जासरकी पत्नीले उनलाई कहिल्यै एक्लो अनुभव हुन दिइनन्। सधैं उनको आड बनिरहिन्। हौसला दिइरहिन्।

‘म कृषिमा लाग्छु भन्दा सबैतिरबाट एक्लिएँ। पत्नीले भने पूरै आडभरोसा दिइन्,’ जासरले आफ्नी जीवनसाथीबारे भने, ‘उनले दिएको हौसलाकै कारण मलाई पछि फर्किनुपरेन।’ रोहित महतो / सेतोपाटी

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏