तरकारी खेतीबाट मनग्य आम्दानी

कृषि पो्ट संवाददाता

काठमाडौं ।

बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । आफ्नै जमीनमा उत्पादन भएका तरकारी बिक्री हुने र दुःख गरेअनुसार आम्दानी पनि हुने भएकाले यहाँका युवा सो खेतीतर्फ आकर्षित भएका हन् ।

बनेपा नगरपालिका–४ नालाका सहदेव दाहालले आफूहरूले काउली, गोलभेडा, आलु, मुला र खुर्सानीलगायत तरकारी उत्पादन तथा विक्री गरी आम्दनी गरिरहेको बताए । उनले आफ्नै खेतबारीमा मौसम अनुसारको तरकारीखेती गरी आम्दानी गर्दै आएका हुन् । बजार नजिक भएका कारण पनि यहाँका युवा मौसमअनुसार तरकारी खेतीगरी आम्दानी गर्दै आइरहेका छन् ।

दाहालले दशैंलाई लक्षित गरी काउली र मुला बिक्री गरेर रु तीन लाख जति आम्दानी गरेको र मुला भने केही बाँकी भएकाले विक्रीका लागि तरकारी सङ्कलन केन्द्रमा लगिएको बताए । फाइदा राम्रो हुने गरेका घरका सबै परिवार खेतीमा नै लागेकाले वर्षमा रू नौं÷दश लाखसम्मको कमाइ हुने उनको भनाइ छ ।

विगत आठ वर्षदेखि तरकारीखेती गर्दै आएका अर्का युवा मनोज दाहालले पनि मौसमअनुसार समयमै उत्पादन गरी बिक्री गर्न सकेमा वर्षको रू चार-पाँचलाखसम्म कमाइ हुने बताए । उत्पादीत तरकारी सङ्कलन केन्द्रमा ल्याएपछि बिक्री भइहाल्ने भएकाले कहाँ लगेर बेच्न भन्ने चिन्ता नहुने दाहालले बताए । दाहालका अनुसार कतिपय ठेकेदार गाउँमै आएर पनि तरकारी सङ्कलन गरी लाने गरेका छन् । गाउँ-टोलमा आउनेले भने अलि कम मूल्य दिने गरेका कारण आफूले उत्पादन गरेको तरकारी भने सङ्कलन केन्द्रमा नै लगेर बेच्ने गरेको उनको भनाई छ ।

कहिलेकाँही दुःख गरेर उत्पादन गरेको तरकारीको भनेजति मूल्य नपाउँदा भने दुःख लाग्ने गर्छ । ‘‘हामीले दुःख गरेर उत्पदान गरेका हुन्छौं, बजारमा मनोमानी भाउ हुन्छ, बाध्यताले उनीहरुको भाउमै बेच्नुपर्ने हुन्छ,’’ दाहालले भने । उनका अनुसार अहिले आफूहरुले किलोको २० रुपैयाँमा बेचेको मुला बजारमा उपभोक्ताले ४०-४५ रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।

तरकारी सङ्कलन गरी खुद्रा पसलमा बिक्री गर्दै आएका व्यापारी पवनकुमार गुप्ताले तरकारी व्यवसायबाट राम्रै आम्दनी हुने गरेको बताए । “यहाँ हामी तरकारी सङ्कलन गर्छौं र बजारमा लगेर बेच्छौ, ’’ भारत घर भएको बताउने उनले भन, “यही पेशा गर्दै आएको ८-१० वर्ष भयो ।’ ’

किसानले उत्पादन गरेको तरकारी मोल गरेर लगेर बेच्ने अनि आएर पैसा तिर्ने गरेका कारण कम लगानीमा व्यवसाय गर्न पाएपछि व्यापारी यस्ता व्यवसायमा आकर्षित भएका हुन् । यसरी सङ्लन गरिएका तरकारी काठमाडौँको विभिन्न ठाउँमा बिक्री हुँदै आएको छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏