व्यवसायिक अकबरे खुर्सानी खेती गर्दा अपनाउनु पर्ने महत्वपूर्ण बुदाहरु

कृषि पो्ट संवाददाता

काठमाडौं ।

खुर्सानी एक लोकप्रिय तरकारी तथा मसला बाली हो । खुर्सानी सबै खालको हावापानी भएको ठाउँ र बलौटे दोमट माटोमा उपयुक्त हुन्छ । खुर्सानीको खेती पहाडी क्षेत्रमा सामान्यतया गर्मी याममा र तराई क्षेत्रमा हिउँदको समयमा गर्ने गरिन्छ । नेपालका प्राय सबै भू -भागमा अकबरे खुर्सानीको खेती हुने भएता पनि अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ ।

नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा यसको उत्पादन धेरै हुने गर्छ । खुर्सानी धेरै थरीका हुन्छन् । डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि पिरो हुने गर्दछ भने अकबरे खुर्सानी असाध्यै मिठोे र लोकप्रिय खुर्सानी मानिन्छ ।

१. अकबरे खुर्सानीलाई कस्तो हावापानी चाहिन्छ ?

अकबरे खुर्सानी गर्मी र न्यानो मौसममा हुने वाली हो । तुषारो नपर्ने र न्यूनतम तामक्रम ५ डे.सी. भन्दा तल नजाने ठाँउमा हिउदे बालीको रुपमा गरिन्छ । तापक्रम १८ डि.से. र ३२ डि.से को बीचमा खुर्सानीको बृद्धि र विकास राम्रो हुन्छ । तर ३५ डि.से. भन्दा बढी तापक्रम भएमा फल लाग्दैन र १० डि.से. भन्दा कममा फलको आकार विग्रिन्छ । यसले तुषारो र धेरै चिसो पनि सहन सक्दैन ।

२. खुर्सानी खेतीको लागि माटो कस्तो हुनु पर्छ ?

पानी नजम्ने चिम्टिाइलो दोमट माटो यसको लागि उत्तम हुन्छ । बलौटे माटोमा पनि यसको खेती गर्न सकिन्छ तर गोबर मल प्रशस्त राख्नु पर्दछ । माटोको पी.एच. ५.५. देखि ६.५ को हुनुपर्दछ ।

३. खुर्सानीको प्रयोग कसरी गरिन्छ ?

खुर्सानीको पाकेको फलमा Capsaicin भन्ने रसायन पाईन्छ र यसलाई औषधी बनाउन प्रयोग गरिन्छ । फल धेरै पिरो हुने हुँदा यसको मिठो महकले खानाको रुचि बढाउँछ । यसको प्रयोग मसलाको रुपमा गरिन्छ । यसलाई औधोगिक कच्चा पदार्थको रुपमा पनि प्रयोग गरिन्छ । यसको पाकेको फलवाट अचार, Sauces, Ketchup Essence, oleoresim र अन्य नेपाली परिकारहरु बनाउन सकिन्छ ।

४. खुर्सानीको खेती कहाँ गर्न सकिन्छ ?

खुर्सानी खेती नेपालको तराई देखि मध्ये पहाड सम्म सफलता पूर्वक गर्न सकिन्छ ।

५. अकबरे खुर्सानीमा के पाईन्छ ?

अकबरे खुर्सानी धेरै पिरो र स्वादिलो हुन्छ । यसको छिप्पिएको हरियो फलमा भिटामिन “ए, “सि लगायत विभिन्न प्रकारका अन्य भिटामिन, खनिज, तत्वहरु तथा अन्य पोषण तत्वहरु प्रशस्त मात्रामा पाइन्छ ।

६. खुर्सानीको उत्पति कहाँ भएको हो ?

प्राय सबै किसिमको खुर्सानीको उत्पति मध्य अमेरिकाको मेक्सिको र ग्वाटेमालामा भएको अनुमान छ ।

७. अकबरे खुर्सानीको फल कहिले टिप्नु पर्छ ?

अकबरे खुर्सानीको फल बेर्ना सारेको ८०–९० दिनमा पहिलो फल टिप्न तयार हुन्छ । एक मौसममा १० पटक सम्म फल टिप्न सकिन्छ ।

८. खुर्सानीमा लाग्ने मुख्य रोगहरु के हुन ?

खुर्सानीमा एन्थ्या्रकनोज, डढुवा रोग, र गुजुमुजे भाइरस रोगहरु लाग्ने गर्छ ।

९. खुर्सानीको गवारो कसरी नियन्त्रण गर्ने ?

गवाराले विशेष गरी फलमा प्वाल पारेर गुदी खान्छ । यसको रोकथामको लागी नुभान १ एम.एल. प्रतिलिटर पानीमा राखेर छर्नुपर्छ । लगातार ५ दिनको फरकमा ३ पटक नुभान छर्नुपर्छ र छरेको दिन देखि ५ दिन सम्म फल खानु हुँदैन ।

१०. खुर्सानीलाई फेद कटुवा किरावाट कसरी जोगाउने ?

फेद कटुवा किराले भरखर सारेको विरुवाका फेद काटेर नोक्सान गर्छ। वेर्ना सार्दा मालथियान धूलो २ के.जी. प्रति रोपनीका दरले माटोमा मिसाउनु पर्छ ।

११. खुर्सानीको थ्रिप्स किरालाई कसरी नियन्त्रण गर्ने ?

खुर्सानीको थ्रिप्स किरा नियन्त्रण गर्न नुभान १ एम.एल. प्रति लिटर पानीमा ५ दिनको फरकमा ३ पटक स्प्रे गर्ने र ५ दिनसम्म फल टिपेर खानको लागी प्रयोग नगर्ने ।

१२. खुर्सानीमा थ्रिप्स किरा लागेको कसरी पहिचान गर्ने ?

खुर्सानीमा थ्रिप्स किरा लागेमा माउ र बच्चा दुवैले पातको तल्लो भागमा कोत्रेर रस चुस्छन् र यो ठाउँहरुमा खैरा दागहरु देखिन्छन् ।

१३. खुर्सानीमा लाग्ने मुख्य किराहरु के हुन ?

खुर्सानी बालीमा प्राय लाग्ने किराइहरुमा थ्रिप्स, फेद कटुवा र गवारो पर्दछ ।

१४. खुर्सानी खेतीमा सिचाई कसरी गर्ने ?

खुर्सानी खेतीको लागी थोपा सिंचाई प्रविधी अपनाउनु राम्रो हुन्छ । हिंउदमा धेरै सुख्खा भएमा खुर्सानीको वोट प्रायः मर्ने भएको हुनाले यस समयमा विशेष ध्यान पुर्याई समय समयमा सिचाई गरी फेदको वरिपरि विशेष गरी परालको छोप्रा (Mulching) हाल्नु पर्छ ।

१५. खुर्सानीको खेतीको लागि कहिले-२ पटक टोपड्रेसिङ गर्नु पर्छ ?

पहिलो टपड्रेसिङ वेर्ना सारेको २५ दिन पछि, दोश्रो टपड्रेसिङ पहिलो टपड्रेसिङ्ग गरेको २५ दिन वा वेर्ना सारेको ५० दिन पछि र फल टिप्न थालेपछि प्रत्येक टिपाई अथवा कम्तीमा २ पटक फल टिपेपछि गाई भैंसीको गहुँत संकलन गरी एक भागमा ५ भाग पानी मिसाई हरेक वोटमा ५०–१०० एम.एल.का दरले वोटको वरिपरि दिने र स्प्रे गर्नु पर्छ ।

१६. खुर्सानीको वेर्ना प्रति रोपनी कती आवश्यक पर्छ ?

खुर्सानीको वेर्ना २००० देखि ३००० गोटा सम्म प्रति रोपनी आवश्यक पर्दछ ।

१७. खुर्सानीको बेर्ना कसरी रोप्नु पर्छ ?

जरा र पातहरु धेरै र स्वस्थ विरुवा छानेर बेलुकीपख सार्नु पर्दछ । वेर्ना सार्दा नर्सरीमा छदाँ माटोमुनी रहेको भाग जति मात्र जमिनमुनी पर्ने गरेर सार्नुपर्छ । बेर्ना सारेपछि लगातार ५ दिन सम्म हजारीले विरुवाको वरिपरि पर्ने गरी पानी दिनुपर्छ ।

१८. खुर्सानीको बहु–बर्षीय उत्पादनको लागि कतीको दुरीमा रोप्नु पर्छ ?

खुर्सानीको बहुवर्षीय उत्पादनको लागि (४–५ वर्ष सम्म) हार देखि हारको दुरी १५० से.मि. र बोट देखि वोटको दुरी १५० से.मि. हुनु पर्छ ।

१९. खुर्सानीको बैमौसमी उत्पादनको लागि कतीको दुरीमा रोप्नु पर्छ ?

बेमौसमी खुर्सानी उत्पादनका लागि (असार–कार्तिक) हार देखि हारको दुरी ८० से.मि. र बोट देखि बोटको दुरी ६० से.मि. हुनुपर्छ ।

२०. खुर्सानीको मौसमी उत्पादनको लागी कतीको दुरीमा रोप्नु पर्छ ?

मौसमी खुर्सानी उत्पादनका लागि (फाल्गुन–असार) हार देखि हारको दुरी ६० से.मि. र बोट देखि बोटको दुरी ३० से.मि. (हिउँदमा) र ४५ से.मि. (वर्षामा) हुनुपर्छ ।

२१. खुर्सानी खेतीको लागि जग्गाको तयारी कस्तो हुनु पर्छ ?

२–३ पटक राम्रोसंग खनजोत गरी डल्ला फुटाएर झारपात केलाएर जग्गा तयार गर्नु पर्छ । बेमौसमी उत्पादनका लागी भने बर्षाको मौसममा खेती गरिने भएकोले बर्षाको पानीवाट यसलाई जोगाउन र गुणस्तरीय उत्पादनको लागि प्लाष्टिको छानो बनाउनु आवश्यक पर्दछ । बर्षाको चिस्यानवाट जोगाउन जमिनको सतहभन्दा ३० से.मि. अग्लो ब्याड बनाउनु पर्छ ।

२२. खुर्सानीको खेतीमा के कति मल प्रयोग गर्नु पर्छ ?

खुर्सानीको प्रतिवोट कम्पोष्ट १ के.जी. डी.ए.पी. १० ग्राम, पोटास ५ ग्राम युरिया १० ग्राम, जिंक १ ग्राम र बोरेक्स १ ग्राम प्रति बोट बेर्ना सार्नु भन्दा ७–८ दिन दिन पहिले जमिन तयार गर्ने बेलामा हरेक बेर्नाका लागि (१ फिट x १ फिट x १ फिट) धन फिटको खाल्डो बनाई माटोमा मिसाएर खाल्डो भर्ने र मल दिए पछि माटो सुख्खा छ भन्ने हल्का सिंचई गर्नु पर्छ र विरुवा रापेको ३५–४० दिनको फरकमा अर्को पटक गरी दुई पटक हरेक बोटको वरिपरि युरिया ५–५ ग्रामका दरले औठी आकारबाट ५ से.मि. गहिरो कुलेसो बनाई मल दिने र माटोले पुरी सिंचाई गरिदिनु पर्छ ।

२१. खुर्सानीको बीउ दर के हो ?

एक रोपनीको लागि ५० देखि ७५ ग्राम सम्म खुर्सानीको बीउको आवश्यकता पर्दछ ।

२२. उच्च पहाडमा खुर्सानीको उत्पादन कहिले गर्न सकिन्छ ?

उच्च पहाडमा फागुन–चैत्रमा बीउ राख्ने, चैत्र–बैशाखमा बेर्ना सार्ने र असार–भदौमा बाली लिन सकिन्छ ।

२३. पहाडमा खुर्सानीको बैमौसमी उत्पादन कहिले गर्न सकिन्छ ?

असार–साउनमा बीउ राख्ने, साउन–भदौमा बेर्ना सार्ने र असोज–कार्तिकमा बाली उत्पादन लिन सकिन्छ ।

२४. पहाडमा खुर्सानीको मौसमी उत्पादन कहिले गर्न सकिन्छ ?

पहाडमा कार्तिक-फागुनमा बीउ राख्ने, फागुन-चैतमा बेर्ना सार्ने र जेठ-असारमा बाली लिन सकिन्छ ।

२५. तराईमा खुर्सानी लगाउने उपयुक्त समय कुन हो ?

तराईमा साउन भदौमा बीउ राख्ने, भदौ असोजमा बेर्ना सार्ने र मंसिर९फागुनमा बाली लिने गरिन्छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected]l.com मा पाउनुहोला 🙏