फोहोरबाट नयाँ प्रविधिमा मल बनाउने तयारी

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्ने समस्या भइरहेको बेला भक्तपुर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नयाँ उपाय निकालेको छ । नगरपालिकाले फोहोरबाट पनि आयस्रोत बढाउने उद्देश्यले त्यसको कम्पोस्ट मल बनाएर किसानलाई बिक्री वितरण गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले बुधबारबाट रिकिसी प्रविधिबाट कम्पोस्ट मल बनाउने तालिम सुरु गरेको छ ।

नगरपालिकाले जपानको रिकिसी प्रविधिद्वारा कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउनेसम्बन्धी दस दिने तालिम सुरु गरेको हो । कुहिने फोहोर सङ्कलन गरेर त्यसमा टोकोजाई (एक खालको झोल पदार्थ) मिसाएर कम्पोस्ट मल बनाउने जपानी प्रविधि उपयोग गरिने नगरपालिकाका सरसफाइ उपशाखाका प्रमुख दिलीपकुमार सुवालले बताउनुभयो ।

रिकिसी कम्पोस्ट प्लान्टका दीक्षा श्रेष्ठले पुरानो प्रविधिबाट वैज्ञानिक ढङ्गले फोहोरमैला व्यवस्थापन गर्नु नै यस विधिको विशेषता भएको बताउनुभयो ।
यसरी तयार पारिएको मललाई नगरपालिकाले किसानलाई सहुलियत मूल्यमा बिक्री वितरण गर्ने जनाएको छ । फोहोरबाट मल बनाउनुको उद्देश्य भक्तपुरलाई सफा राख्ने हो । नगरपालिकाको फोहोर व्यवस्थापनकै क्रममा कुहिने र नकुहिने फोहोर अलग अलग सङ्कलन गर्दै आएको छ । तालिममा ३० जना सहभागी छन् । उनीहरू सबैजना नगरपालिकाकै कर्मचारी हुन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरको फोहोरमैला व्यवस्थापन परम्परागत प्रविधिलाई नयाँ प्रविधिमार्फत रूपान्तरण गर्ने प्रयास स्वरूप यो प्रविधि अपनाएर मल बनाउन लागेको बताउनुभयो । नगरको फोहोर व्यवस्थापनमा दैनिक १५० भन्दा बढी सफाइ मजदुरहरू क्रियाशील छन् ।

भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष एवं वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्वले फोहोर व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै भक्तपुर नपाले वैज्ञानिक ढङ्गले कुहिने फोहोरलाई गन्धरहित किसिमले व्यवस्थापन गर्न विभिन्न ठाउँको अध्ययन अवलोकनपछि रिकिसी विधि अपनाएको बताउनुभयो ।

रिकिसी कम्पोस्ट प्लान्टका प्राविधिक सल्लाहकार किमुरा गोरोले भक्तपुरलाई विश्व जगतमा सफा, सुन्दर र व्यवस्थित नगरको रूपमा परिचित गर्न फोहोरमैला व्यवस्थापनको उचित विधि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏