मकवानपुरमा १५ बिघा क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गरिँदै

कृषि पोष्ट संवाददाता

हेटौडा, २६ भाद्र ।

मकवानपुरमा ड्रागन फ्रुटको व्यावसायिक रुपमा खेती सुरु गरिएको छ । हेटौडा जिल्लामा दुई वर्षयता १५ बिघा क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गरिँदै आएको छ ।

ड्रागन फ्रुट खेतीको विस्तार क्रमशः बढ्दै गएको कृषि ज्ञान केन्द्रका योजना अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । जिल्लाको गर्मी ठाउँमा यसको व्यावसायिकरुपमा खेती भइरहेको छ । करेसाबारी, घरको छतमा तथा खेतमा ड्रागन फ्रुटको खेती भइरहेको छ ।

जिल्लाको मनहरि, बकैया, मकवानपुरगढी तथा हेटौँडा उपमहानगरपालिकाका विभिन्न ठाउँमा ड्रागन फ्रुटको व्यावसायिक खेती भइरहेको छ । सबैभन्दा बढी हेटौँडा–११, १२ र १७ मा यसको खेती गरिएको छ ।

ड्रागन एक पटक लगाएपछि २० वर्षसम्म सोही बिरुवाबाट फल दिने गर्दछ । दुई वर्षदेखि ड्रागन खेती गर्दै आउनु भएका मनहरिका हरिशरण अर्याल लगानीअनुसार प्रतिफल प्राप्त भइरहेको बताउनुहुन्छ । उहाँले बाह्र कट्ठा जग्गामा यसको खेती सुरु गर्नु भएको छ ।

ड्रागन प्रतिकिलो ६ सयदेखि ७ सयसम्ममा बिक्री हुँदै आएको छ । नेपालमा पछिल्लो समय ड्रागन फ्रुट खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । हाल दाङ, चितवन, झापा, धनकुटालगायत जिल्लामा व्यावसायिक रुपमा यसको खेती गरिँदै आएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏