विदेशबाट फर्किएका युवाको किबी खेतीमा आकर्षण

कृषि पोष्ट संवाददाता

तेह्रथुम, २८ भदाै ।

विदेशबाट फर्किएका तेह्रथुमका युवाहरू किबी खेतीतर्फ आकषर्ण बढ्न थालेको छ । थोरै जमिनमा धेरै आम्दानी हुने भएकाले किबी खेतीतर्फ किसानहरू आकर्षित बनेका हुन् । जिल्लाको ग्रामिण भेगहरूमा यतिबेला किबी खेतीको विस्तार हुनेक्रम बढ्दो छ । नयाँ फल भएकाले पनि किबी खेतीलाई किसानले विस्तार गर्दै गएका छन् ।

घमाइलो तथा मलिलो माटोमा उत्पादन हुने भएकाले किसानको प्राथमिकतामा किबी खेती परेको हो ।खेतीलाई विस्तार गर्दै गाउँलाई किबी पकेट क्षेत्रको रुपमा विकास गर्दै आएको किसान गोविन्द बागदासले बताए । जिल्लाको म्याङलुङ र लालीगुराँस नगरपालिकाका साथै छथर गाउँपािलकामा किबी खेती किसानको रोजाइमा पर्न थालेको हो ।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरू पनि यो खेतीमा रमाइरहेका छन् । आठ वर्ष साउदी बसेर फर्किएका म्याङलुङ १ ओख्रे टंकवहादुर खत्रीले किबीलाई व्यावसायिक खेती गर्ने उद्देश्यका साथ बगानमा बिरुवा लगाएको बताउँछन् ।

एउटै बगानबाट वर्षको एकदेखी ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । अर्गानिक रुपमा उत्पादन भएको किबीको माग बढ्दो छ । यहाँ उत्पादन भएको किबी प्रतिकिलो दुई सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏