पाख्रीबासे कालो बंगुर देशभर फैलाउदै आरोही बंगुर फर्म

कृषि पो्ट संवाददाता

जीवनप्रसाद राई । आरोही बंगुर फर्मका संचालक सन्तोष राई र एन्जिला राई दाम्पती हुन । ओखलढुंगाबाट धनकुटाको हिलेमा आई यही नै स्थायी बसोबास गर्दै आउनु भएका सन्तोष राई बिगत ३ बर्ष देखि बंगुरपालन ब्यवसाय गर्दै आउनु भएको छ । शुद्ध पाख्रीबासे कालो बंगुरलाई देशब्यापी रुपमा फैलाउने कार्यमा सक्रिय रहदै आईरहेका छन । पछिल्लो समयमा उनको ब्यवसायले राम्रो बजार लिदै गएको छ । ३६ का सन्तोष राई ओखलढुंगा मानेभन्ज्याङ गाँउपालिका वडा नम्बर २ र साबिक वाक्सा गाबिस वडा नम्बर ४ का स्थायी बासिन्दा थिए ।

बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा ३ बर्ष र त्यसपछि कतारमा ८ बर्ष बिताएका सन्तोष राईले बैबाहिक बन्धनमा पनि उतै बाँधिए एन्जिला राई संग । भोजपुर होम्ताङका एन्जिला राई धनकुटा १ हिले बसाई आएर धनकुटाकै स्थायी बासिन्दा थिए । एन्जिला राई पनि बैदेशिक रोजगारीकै सिलशिलामा कुवेतमा ४ बर्ष र कतारमा १ बर्षको अनुभव लिएर दुवैजना नेपाल फर्किए । नेपालमा फर्किए पछि के गर्ने ? भन्ने बिषय नै प्रमुख रह्यो । नेपालमै केही ब्यवसाय गर्ने कि फेरि बिदेश नै जाने ? दुवैजनाको मनोक्रान्ति पछि नेपालमै रहने र बंगुर नै पाल्ने निष्कर्शमा पुगे । बिदेशबाट नेपाल आएपछि के गर्ने भन्ने बिषय प्रायजसो बैदेशिक रोजगारीमा पुगेर नेपाल फर्कने नेपालीहरुको कथा हो ।

हाल आरोही बंगुर फर्ममा पाख्रीबासे कालो बंगुरको जम्मा संख्या १ सयको हाराहारीमा रहेको छ । एउटा माउबाट शुरु भएको उनीहरुको ब्यवसाय हाल बढेर सयको संख्यामा पुगेको छ । कृषिजन्य बस्तुको बजारको सुनिश्चितता भएमा त्यो ब्यवसाय फैलादै जाने गर्दछ । समय सापेक्ष परिवर्तन गर्दै लैजादा यसको आधुनीकिकरण पनि संगसंगै हुने गर्दछ । उनको यो पाख्रीबासे कालो बंगुरको ब्यवसायलाई समय सापेक्ष फैलाउदै हाल देशब्यापी संजालमा जोड्न उनी सफल भएका छन ।

बर्दियाको ईश्वरीगंज संग भएको सम्बन्धले हाल उनी एकैपटक धेरैवटा पाठापाठी उपलब्ध गराउन सक्ने पाटीको रुपमा स्थापित भएका छन । हाल उनको फर्ममा दिनाहुजसो मानिसहरु पाठापाठीको लागि आउने गरेका छन । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी गण्डकी प्रदेशबाट समेत उनको फर्ममा बंगुरको पाठापाठीको राम्रोसंगले माग आउने गरेको छ ।

प्रदेश नम्बर एकमा बिस्तारै स्रोत केन्द्रको रुपमा बिकसित हुदै गरेको उनको बंगुर फर्मले क्षमता बिस्तार संगै आधुनिकताको समेत खोजी गरिरहेको आभास हुन्छ । हाल उनको फर्मको क्षमता बार्षिक रुपमा ३ सय पाठापाठी उत्पादन गर्ने रहेको छ । स्थानीय स्तरमा बिक्री गर्न योग्य पाठाको मुल्य ६५००÷– र पाठीको मुल्य ५५००÷– रहेको छ । बार्षिक ३ सय पाठापाठीको बिक्री गर्दा १५ देखि २० लाख सम्मको कारोबार हुने गर्दछ । एउटा परिवार राम्रो संगले चल्न यतिको ब्यवसायले राम्रो नै हुन्छ भने यसलाई ब्यवस्थित तरिकाले फर्मलाई चलाउन बार्षिक ५० लाख देखि १ करोड सम्मको बिक्री हुनै पर्दछ । नत्रभने ब्यवसायिक मर्मलाई छुन सक्दैन ।

नेपालमा बंगुरको मासु सबैभन्दा बढी खपत हुने प्रदेशहरुमा प्रदेश नम्बर १, बाग्मती प्रदेश, गण्डकी प्रदेशहरु हुन । पछिल्लो समयमा कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेश पनि उत्तिकै मात्रामा बंगुरको मासुको माग बृद्धि हुदै गएको अवस्था छ । सबैभन्दा रोचक पक्ष त के भने प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बंगुरको सेकुवा ब्यवसाय गर्न चाहनेहरु धनकुटामा सेकुवा बनाउने तरिका सिक्न आउनका लागि समेत लालायित भईरहेका छन ।

धनकुटा पाख्रीबासे कालो बंगुरले एकसाथ नेपालको धेरै जिल्ला जोड्ने र कृषि पर्यटनको लागि राम्रो भुमिका खेल्न सक्ने संभावना ज्यादै नै रहेको छ । धनकुटा जिल्लाले यसलाई प्राथमिकता दिन सकेमा यहाँको पर्यटकीय गतिबिधि बढ्नुका साथै बंगुरबाट धनकुटाले ठुलो आर्थिक छलाङ समेत मार्न सक्नेछ । जसका लागि आरोही बंगुर फर्म जस्तै अन्य फर्महरु पनि स्थापित हुदै जानु पर्दछ ।

थुप्रै मात्रामा पाठापाठीको माग आउदा उनको फर्मले अन्यत्रको बंगुरपालक कृषकहरु संग समन्वय गरि ठाँउ ठाँउमा पाठापाठी संकलन गरि बिक्री बितरणको र संकलकको समेत ब्यवस्थापन गरिरहेका छन । उनको फर्ममा पाख्रीबासे कालो बंगुरको पाठापाठीको माग राम्रो भएकोले अब निर्धक्क संगले भन्न सकिने अवस्था के आएको छ भने पाख्रीबास कालो बंगुरको भविष्य अब निकै राम्रो संगले बन्दै गएको छ । उहाँको भनाई अनुसार अब यस पेशा वा ब्यवसायमा लाग्ने कृषकहरुको भविष्य निकै राम्रो रहेको बताई रहेका छन ।

पाख्रीबास कालो बंगुरको बिशेषता घरमा मानिसहरुले खाएर उब्रिएको खानेकुरा तथा जंगलमा पाईने सागपात, कन्दमुल खाएर पनि राम्ररी हुर्कन्छ । यसैगरि फर्सी, स्कुस, केराको गानो, धानको ढुटो, मकैको मिठो आदि समेत बंगुरको खुराकको रुपमा लिन सकिन्छ । होटल संचालन गर्नेहरुले समेत पाख्रीबासे कालो बंगुर राम्रो संगले पालेको देखिन्छ । पाख्रीबासे कालो बंगुरको पाचन क्षमता र बढ्ने क्षमता राम्रो भएकोले यसलाई घरायसी दानाको भरमा समेत पालन गर्न सकिने बंगुर हो ।

सन्तोष र एन्जिला राई दाम्पतिको अबको गन्तब्य र योजना :

लामो समय बैदेशिक अनुभवले खारिएका उनीहरु अब बिदेशी सपना बुन्दैनन । अबको एकमात्रै बिकल्प भनेको नेपालमै बंगुर ब्यवसायलाई आधुनिक तरिकाले बिस्तार गर्दै लैजाने नै हो । मानिस धेरै जसो ढुलमुले प्रबृतिले बिग्रने गर्दछ । अब उनीहरुमा कतिपनि ढुलमुल प्रबृति छैन किनकी बिदेश जानु छैन । भने नेपालमा पनि उनीहरुले गतिलो ब्यवसाय नै सम्हालिसकेका छन । अब चरणबद्ध रुपमा बंगुरपालन ब्यवसायलाई नै अघि बढाउने योजना रहेको छ ।

बंगुरको माउ संख्या क्रमिक रुपमा बिस्तार गर्दै जाने र अन्य किसानहरुलाई समेत आफु जस्तै बनाउने उनीहरुको पहिलो प्राथमिकता हो । यसपछि मासु उत्पादनमा समेत संलग्न हुदै नेपालमा बढ्दो बंगुरको मासुको मागलाई आपुर्ति गर्नका लागि धनकुटामा नै बंगुरको मासु प्रशोधन केन्द्र स्थापना गर्ने सम्मको लक्ष्य रहेको बताउँछन । धनकुटा जिल्ला बंगुरको मासुको उत्पादनका लागि राम्रो हावापानी भएको ठाँउ हो भने बंगुरको मासु प्रशोधनको लागि समेत उत्कृष्ट स्थान हो ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏