एउटै गाउँबाट एक करोडको खसीबोका बिक्री

कृषि पोष्ट संवाददाता

बागलुङ, २४ असोज ।

बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस वर्षको दसैँमा एक करोड मूल्य बराबरको स्थानीय जाातको खसीबोका बिक्री भएका छन् । तंग्राममा सञ्चालित वसन्त सहकारी र सप्तारंगी सहकारी संस्थाले स्थानीय कृषकसँग खसीबोका संकलन गरी बिक्री गरेका हुन् । हिमाली क्षेत्रका भेडा च्याङ्ग्राको मूल्य अकासीयपछि उपभोक्ताको रोजाइमा स्थानीय बसीबोका परेका छन् ।

बसन्त सहकारीले २९५ र सप्तरंगीले एक २० वटा बसीबोका बिक्री गरेको बसन्त सहकारी संस्थाको प्रबन्धक हेमा विकले जानकारी दिए । सहकारीमा आवद्ध कृषकबाट खसीबोका संकलन गरी बिक्रीको लागि बागलुङ बजार, पोखरा, गलकोट, काठेखोलाका विभिन्न वडामा बिक्री भएको थियो ।

दुईवटा सहकारीमार्फत् खसीबोका बिक्रीबाट गाउँमा करिब दुई करोड रुपैयाँ भित्र्याएकाे सप्तरंगी सहकारी संस्थाको प्रबन्धक मनु पुनले बताइन् । घरमा उत्पादन भएका खसी बिक्रीको लागि बजार सुनिश्चित भएपछि कृषकहरु हर्षित छन् ।

‘पहिले पहिले समय कटाउन बाख्रा पाल्ने गर्थें’, तग्राम रानीकरङकी कृषक चन्द्रकला पुनले भनिन्, ‘अहिले घर खर्च चल्ने गरी पाल्न थालेकी छु ।’ उनले यसपाली सातवटा बोका बिक्री गरिन् । दुवै सहकारीले आफ्ना सेयर सदस्यसँग २५ किलोसम्मको जिउँदो खसी बोका ४५० र २५ किलो माथिको पाँच सय रुपैयाँमा खरिद गरेका छन् ।

‘पहिलो बजार खोज्दै जानुपर्थ्याे, अहिले ग्राहक घरघरमा आउन थालेका छन्’, प्रबन्धक विकले भनिन्, ‘हिमाली क्षेत्र र तराई भागबाट आउने खसीबोका कम हुँदा स्थानीय उत्पादनले बजार पाएको छ । गाउँघरमा वन चरण गरेको खसीबोकाको मासु स्वादिष्ट र स्वाथ्यको लागि हितकार भएपछि उपभोक्ताले तराई क्षेत्रकाभन्दा लेक क्षेत्रका बसीबोका खोज्न थालेका छन् ।

बसन्त सहकारीमा ६११ र सप्तरंगीमा ३३१ जना सेयर सदस्य छन् । प्रत्येक सेयर सदस्यले बाख्रा पालन गरेको प्रबन्धक पुनको भनाइ छ । बाख्रा पालनको लागि सहकारीले सस्तो व्याजमा ऋण प्रवाह गर्दै आएको छ । दुवै सहकारीले तिहारको लागि पनि बसीबोका तयारी अवस्थाामा राखेक छन् । वसन्तले वार्षिक एक हजार र सप्तरंगीले सात सयवटा बिक्री गर्ने लक्ष्य लिएका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏