भैंसीको पकेट क्षेत्र बन्दै पनौती नगरपालिका

कृषि पो्ट संवाददाता

काभ्रे, ३ कात्तिक ।

सहरको पुँजी गाउँसम्म ल्याउने भरपर्दो स्रोतको रुपमा दुग्ध व्यवसाय विस्तारसँगै काभ्रेको पनौती भैंसी पकेट क्षेत्रको रुपमा विकास भएको छ । पनौती नगरपालिकाले साझेदारीमा पाडी वितरण कार्य, सुत्केरी भैंसीलाई भत्तालगायत किसानमैत्री कार्यक्रम सुरु गरेसँगै नगर भैंसी पकेट क्षेत्रको रुपमा विकास भएको हो ।

भैंसीको संख्यालाई संरक्षण गर्न र दूध उत्पादनमा निरन्तरता दिलाउन, भैंसीको आनुवांशिक गुणलाई संरक्षण गर्न र रोजगारी सिर्जना सहित पनौतीलाई दुधालु भैंसीको स्रोत केन्द्रका रूपमा विकास गर्न नगरको नीति कार्यक्रम तथा बजेटमै समावेश गरेर ‘भैंसी संरक्षण र संवद्र्धन’ कार्यक्रम समावेश गरिएको छ ।

भैंसीको संरक्षणका लागि नगरले कृषकलाई भैंसी सुत्केरी भत्ता, पाडी वितरण, पाडापाडीको जन्म दर्ता, गोठ/खोर सुधारका लागि अनुदान, पशु बीमा प्रिमियर शुल्कमा ५० प्रतिशत अनुदान, पशु आहाराका लागि घाँस बीउ वितरण र प्रविधि हस्तान्तरण लगायतका कार्यक्रम मार्फत किसानलाई आकर्षित गर्दै आइरहेको छ ।

किसानमैत्री अभियानले पनौतीमा सामूहिक रुपमा खेती तथा पशुपालनप्रति पनौतीबासी मात्रै नभएर अन्यत्रबाट पनि आएर सामूहिक रुपमा खेती र पशुपालनमा लागेका थुप्रै उदाहरण पाइन्छ । यसले निरन्तरता पाउनुपर्छ र गाउँबाटै समृद्धि आउनुपर्छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏