जुम्लामा मार्सी धान फल्ने खेत बगरमा परिणत, मार्सीको बिउँ नै मासिने जोखिम

कृषि पोष्ट संवाददाता

काठमाडौं, ४ कात्तिक ।

निरन्तरको बर्षापछि आएको बाढीले मार्सी धान फल्ने जुम्लाको फाँट बगरमा परिणत भएको छ । जसका कारण काटेर भित्र्याउन ठिक्क पारेको धान डुबेर नष्ट मात्रै भएको छैन जुम्लाबाट मार्सीको बिउँ नै मासिने जोखिम बढेको छ ।

कृषि बिकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लामा दुई हजार नौ सय हेक्टरमा मार्सी धान खेती गरिएको थियो । त्यसमध्ये दुई हजार हेक्टर जमीनमा लगाएको धान नष्ट भएको छ । बाँकी नौ सय हेक्टरको धानमा पनि क्षति पुगेको छ ।देवकोटाका अनुसार अब किसानहरू बिउका लागि समेत राहतको भर पर्नु पर्ने भएको छ ।

उनका अनुसार कृषिको प्राविधिक टोलीले गरेको प्रारम्भिक सर्भेअनुसार तोपानी र तिला गाउँपालिकामा मात्रै १८ हेक्टर (तीन सय ६० रोपनी) मा लगाएको धान बाली नष्ट भएको छ । यस्तै, रातीमार्सी धेरै फल्ने सिन्जा क्षेत्रका धान सबै डुबानमा परेको छ ।प्रारम्भिक विवरणअनुसार कृषि क्षेत्रमा मात्रै जुम्लामा ६ करोडभन्दा बढीको क्षेति भएको छ ।

यस्तो छ प्रारम्भिक क्षतिको विवरण-प्रशासनले चार दिनदेखिको बर्षा र बाढीले जिल्लाभर पुर्याएको प्रारम्भिक क्षेति विवरण सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसार्इंले प्रस्तुत गरेको क्षेति विवरणअनुसार हिमा गाउँपालिका–६ निवासी रत्ना शाही बेपत्ता भएकी छिन ।तिला र भेरी खोलाले १८ हेक्टरमा लगाएको कालीमार्सी धानमा क्षेति पुगेको छ ।

सिञ्जा क्षेत्रको क्षेति विवरण भने बाँकी छ । प्रजिअ प्रसार्इंका अनुसार तातोपानी र तिला गाउँपालिकामा एक सय ५२ वटा भेडाबाख्रा बाढीले बगाएको छ ।तातोपानी गाउँपालिका–४ को नेत्र ज्योति माविको पक्की भवन, ८० थान डेक्स र पाँच सय मिटर घेराबार, तातोपानी–८ को एक सय ४० र एक सय ५० वाटको माइक्रो विद्युत् पावर हाउस पनि बगाएको छ ।

यसैगरी, तातोपानी गाउँपालिका–७ र ८ को काठेपुल, तातोपानी–४ को ६ वटा काठेपुल, तातोपानी–४ को लिफ्टिङ सिंचाई कुलो, तातोपानी–५ को खानेपानी ट्यांकी, पाइप लाइन, तातोपानी–५ कै कालिका माविको खेल मैदान, एक सय ५० मिटर सडक, तातोपानी–३ को दुई तले घर भत्किएको छ ।

तिला–४ को रामप्रसाद चौलागाईंको खुद्रा पसल, लालबहादुर नेपालीको कच्ची घर, गुठीचौर गाउँपालिकाको कुलो र एक विद्यालयको प्रांगण बगाएको छ । हिमा गाउँपालिका नाग्म गमगडी राजमार्ग अन्तर्गत बड्कीमा पनि २० मिटर सडक पहिरोले बगाएको छ ।

यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकामा ठूलो क्षति भएको जानकारी दिएका छन् । सबैभन्दा बढी तिला गाउँपालिका प्रभावित भएको जिल्ला विपद् समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय प्रमुखहरू, जिल्ला कृषि, पशु सेवा, खानेपानी, विद्युत्, सडक र शिक्षा समन्वय कार्यालयले जिल्लाको प्रारम्भिक क्षति बारे विवरण संकलन गरिरहेको जनाएका छन् ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले तातोपानी र तिलामा एक सय ५२ वटा भेडा बाख्रा बगेको जानकारी आएको बताए । उनले बाढी पहिरो, चट्याङका कारण जुम्लामा पशु चौपाया मरेको बताए ।शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मकर भण्डारीले तातोपानीस्थित नेत्र ज्योति मावि बगरमा परिणत भएको बताए ।

खानेपानी, नेपाल विद्युत् प्राधिकरण, डिभिजन सडक कार्यालयलगायतका प्रमुख तथा प्रतिनिधिहरूलाई प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले संगठित भएर प्रभाबित नागरिकलाई सहयोगमा लाग्न अनुरोध गरेका छन् । उनले भने, ‘यो विवरणअनुसार संघीय सरकारलाई राहत, विशेष प्याकेज र बजेट छुट्टयाउन पहल गर्ने बताए ।

प्रदेश सांसद पदमबहादुर रोकायाले क्षति धेरै भएकाले प्रदेश सरकारले समेत विशेष सहयोग गर्नु पर्ने जोड दिए । यस्तै प्रहरी नायव उपरीक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठले समेत जिल्लाको वस्तुगत अवस्थाको जानकारी दिएका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏