‘भारतीय तरकारीको आयात रोके हाम्रा दु:खका दिन हराउँथे’

कृषि पो्ट संवाददाता

६ मंसिर, काठमाडौं ।

रूपन्देहीको मायादेवी गाउँपालिका-१ मदैयाका गुणसागर लोधले खेतमा अन्नबाली नलगाएको धेरै वर्ष भयो। मदैया र धमौलीमा चार विगाह जग्गा भएका गुणसागरले वर्षायाममा घरपरिवारलाई खान पुग्ने खेतमा मात्रै धान लगाउँछन्।

बाँकी खेतमा वर्षायाममा फल्ने लहरे तरकारी खेती गर्छन्। हिउँदमा गहुँ, तोरी, मुसुरोजस्ता अन्नबालीको खेती गरेको धेरै सम्झना छैन। धान नरोप्ने खेतमा वर्षायाममा पनि तरकारी खेती गर्ने गुणसागरले धान स्याहारेपछि भने त्यो खेतमा पनि हिउँदे तरकारी लगाउने गर्छन्।

गुणसागर सम्झिने भएदेखि नै उनका बुवा रामगणेश लोध व्यावसायिक तरकारी खेती गर्थे। बुवामात्र होइन उनका बाजे तुलसी लोधले पनि तरकारी खेतीबाटै आफ्नो जिविका चलाए। बुवा र बाजेले गर्दै आएको तरकारी खेतीलाई गुणसागरले निरन्तरता दिइरहेका छन्।

गुणसागरलाई व्यावसायिक तरकारी खेती गर्न श्रीमती चिनियाँ र छोरा वीरेन्द्रकुमार लोधले सघाइरहेका छन्। उनका छोरा वीरेन्द्र पनि एसएलसी पास गरेपछि तरकारी खेतीमै लागेका छन्।

‘जति पढे पनि कमाउने त पैसा नै हो, हामी तरकारी लगाएरै पैसा कमाउँछौं,’ गुणसागर भन्छन्। ५८ वर्षीय गुणसागरले यसपालि पनि तीन विगाह खेतमा काउली र बन्दा लगाएका छन्। सबै खेतमा काउली र बन्दा लगाएका उनले रूपन्देहीका विभिन्न स्थानमा लाग्ने हाट बजारमा बिक्रीका लागि लैजान्छन्।

‘हामी त बुटवल भैरहवा लगेर बिक्री गर्न पाएका छौं, बुवा र बाजे त तरकारी बिक्री गर्न बयलगाडा लिएर फरेनासम्म पुग्नुहुन्थ्यो,’ उनले भने।

मदैयाकै ५० वर्षीय सोमइप्रसाद लोध मालपोत कार्यालय भैरहवामा लेखापढीको काम गर्छन्। कार्यालय खुल्ने दिनमा दिनभर मालपोतमै सेवाग्राहीको सेवामा व्यस्त हुने सोमइ विदाको दिनमा भने तरकारी खेतीमै व्यस्त हुन्छन्। आफूलाई विदाको समयमा मात्रै फुर्सद हुने भए पनि परिवारका अरू सदस्य भने तरकारी खेतीमै व्यस्त हुने उनले बताए। सोमइले पनि एक विगाह खेतमा काउली र बन्दामात्रै लगाएका छन्।

गुणसागर र सोमइमात्र होइन मधेशी समुदायको बाहुल्यता रहेको मायादेवी- १ को मदैया र धमौली गाउँका अधिकांश किसान पुस्तौंदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। ती गाउँका खेतहरू अहिले काउली, बन्दा र ब्रोकाउलीले हरियै बनेका छन्। उनीहरूको आम्दानीको मुख्य स्रोत नै तरकारी खेती बनेको छ।

आफ्नो थोरै खेत हुने किसानले साहुको जग्गा ठेक्का लिएर भए पनि तरकारी खेती गर्छन्। वर्षामा करेला, कांक्रा, घिरौला, लौका, फर्सी, भिण्डीजस्ता तरकारी लगाउने उनीहरू हिउँदमा भने सबै जग्गामा काउली, ब्रोकाउली र बन्दा लगाउने गर्छन्।

‘अहिले लगाएको काउली बिक्री गरेपछि बन्दा लगाउने हो, जेठसम्म हामी बन्दा बिक्री गर्छौं, धान रोप्ने बेला भएपछि असारमा मात्रै बन्दा बिक्री भएर सकिन्छ,’ गुणसागरले भने।

वर्षौंदेखि तरकारी खेती गर्दै आएका उनीहरूले चार वर्षयता भने कृषक समूह नै गठन गरेर तरकारी खेतीलाई अझै बढाएका छन्। २४ जनाको शिवशक्ति कृषक समूहका अध्यक्ष गुणसागर बनेका छन्। समूह गठन गरेपछि तरकारीका लागि बिउ, मल, सिँचाइ र बजारीकरण पनि सहज भएको उनीहरूको अनुभव छ।

उनीहरूलाई तरकारी खेतीतर्फ आकर्षित गर्न लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा २३ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। मायादेवी गाउँपालिकाले पनि गत वर्ष ५ लाख रुपैयाँ दिएको गुणसागरले बताए।

‘प्रदेश सरकार र गाउँपालिकाले दिएको रकमले सिँचाइको लागि बोरिङ गाडेका छौं, कुलो र खोलानजिक नभएकाले सिँचाइको लागि समस्या थियो, बोरिङ गाडेपछि भने आकाशको पानी पर्खिने र हातेपम्प चलाउनु पर्दैन,’ उनले भने।

गुणसागरका अनुसार कृषक समूह गठन गरेपछि पहिले गहुँ खेती गर्ने किसानले पनि तरकारी खेती गर्न थालेका छन्। समूहमा आवद्ध २४ जना किसानले मात्रै मदैया र धमौलीको ३०/३५ विगाह खेतमा काउली र बन्दा लगाएका छन्।

स्थानीय हिरा तेली ७७ वर्षका भए। तीन-चार वर्ष पहिलेसम्म खेती लगाउन खटिने उनी अहिले भने खेतको आलीमा बसेर छोराले लगाएको तरकारी बारी हेरेर दिन बिताउँछन्। छोरा तरकारी बिक्रीका लागि बजार गएको बेला हिराले खेतीको रेखदेख गर्छन्।

गाउँभरिकै किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेपछि अहिले वडा नम्बर १ कै धमौलीमा हरेक दिन बिहान तरकारीको मण्डी लाग्न थालेको छ। धमौलीमा बिक्री नहुने अरू तरकारी बोकेर उनीहरू बुटवल र भैरहवासँगै रूपन्देहीका विभिन्न हाटबजारमा पुग्ने गर्छन्।

‘तरकारी लगाउनेमात्र होइन, बिक्री पनि हामी आफैं गर्छौं, हामीले दुःख गरेको तरकारीबाट अरूलाई किन नाफा खान दिने?’ गुणसागरले भने।

अहिले काउली उत्पादन भइसकेकाले हरेक दिन बिहान १५/२० वटा मोटरसाइकल तरकारी बोकेर बजार जाने गरेको उनले बताए। बुटवल र भैरहवाका तरकारी व्यापारीले थोकमै खरिद गर्न खोजे पनि बिक्री नगर्ने राजमन यादवले बताए।

‘बिरूवा उमार्नेदेखि फलाउने र बिक्री पनि आफैंले गर्न सके बल्ल तरकारीबाट नाफा हुन्छ, बेच्ने बेला व्यापारी खोज्ने हो भने त दुःख जति किसानलाई नाफाजति व्यापारीलाई हुन्छ,’ उनले भने।

रोजगारीको लागि मलेसिया गएका राजमन बुवा विक्रम यादवको मृत्यु भएपछि १० महिनाअघि घर फर्किएका थिए। घर फर्किँदा बुवाले काउली लगाएको १० कट्ठा खेतमा उनले पनि अहिले काउली लगाएका छन्। अलि छिट्टै उत्पादन गर्न सके मूल्य पनि पाउँदा तरकारीबाट राम्रै आम्दानी हुने उनको अनुभव छ। मलेसियामा गत्ता कम्पनीमा काम गर्ने राजमन कोभिडको प्रभाव मत्थर भएपछि भने तरकारी खेतीको जिम्मा आमा शान्ति र श्रीमती सरोज यादवलाई छोडेर मलेशिया फर्किने योजनामा छन्।

‘अलि धेरै खेत भए त यहीँ बसे पनि हुन्थ्यो तर १० कट्ठामा तरकारी लगाएर जिविका चल्दैन,’ उनले भने। अहिले मदैया र धमौलीको अधिकांश खेतमा काउली, ब्रोकाउली र बन्दाले ढाकिएको छ। काउली र ब्रोकाउली फूल लागेर बिक्रीको लागि तयार भइसकेको छ। बन्दा भने केही ढिलो डल्ला लाग्ने भएकाले १५/२० दिनपछि मात्रै बिक्रीका लागि तयार हुनेछ।

अहिले तयार भइसकेको काउली उनीहरूले भदौको अन्तिम साता लगाएका हुन्। त्योभन्दा पहिले खेतमा घिरौंला, करेला, भिण्डी, फर्सी लगाएका थिए। अब काउली बिक्री गरेपछि पुष-माघमै लौका, घिरौंला लगाउने उनीहरूले बताए।

‘अन्यत्र उत्पादन नहुँदै छिटो लगाएर बिक्री गर्न सके पो महंगोमा बिक्री हुन्छ,’ सरोजले भने। पुस्तौंदेखि तरकारी खेती गरी बिक्री गर्दै आएका उनीहरूले तरकारीबाट कति आम्दानी भयो भनेर हिसाब भने राख्दैनन् रे।

‘हिसाब राख्यो भने त तरकारी लगाउँदा नै यति धेरै खर्च भयो भनेर टेन्सन हुन्छ, तरकारी बिक्री हुन थालेपछि पनि त्यही पैसाले घरपरिवारलाई चाहिने सामान किन्छौं,’ गुणसागर भन्छन्,‘वर्षमा खाइपिई गरेर तीन-चार लाख रूपैयाँ बचत हुन्छ। दुई छोरी छन् उनीहरूका लागि पैसा बचत गर्दैछु।’

अन्नबाली लगाउनभन्दा तरकारी खेती गर्न धेरै दुःख नहुने भए पनि बिउ र मल जुटाउन भने धेरै दुःख गर्नुपर्ने उनीहरूको गुनासो छ।

‘तरकारी खेती गर्न त खासै दुःख छैन, किसानको दुःख भनेकै समयमा बिउ र मल नपाइनु हो, समयमा मल र बिउको व्यवस्था सरकारले गरिदिने हो भने हामी धेरै खुसी हुने थियौं,’ गुणसागरले भने।

उनीहरूको अर्को समस्या भनेको भारतबाट आयात हुने तरकारी पनि हो। नजिकै भारतीय सीमा रहेकाले पनि सजिलै भारतको तरकारी नेपाल आउँछ। त्यतिबेला नेपाली उत्पादनले मूल्य नपाउने उनीहरूको दु:खेसो छ।

‘सरकारले भारतीय उत्पादनलाई नियन्त्रण गर्ने हो भने तरकारी खेती गर्ने किसानका दुःखका दिन हराउने थिए,’ सोमइले भने। भारतमा त्यहाँको सरकारले कृषकलाई धेरै अनुदान दिन्छ। त्यसमाथि बिउबिजन र मलनै नेपालभन्दा सस्तो पाइन्छ। त्यसैले भारतीय तरकारी पनि सस्तो हुन्छ। नेपाली किसानलाई भारतीय किसानले झैँ सस्तोमा बेच्दा घाटा हुने उनले बताए।

‘कि त हामीलाई पनि भारतीय किसानलाई जस्तो सुविधा र कममूल्यमा मल र बिउबिजन दिनुपर्‍यो कि भने भारतीय तरकारी आयातमा नियन्त्रण गर्नुपर्‍यो। नभए भारतीय तरकारीसँग हाम्रो प्रतिस्पर्धा गाह्रो छ,’ उनले भने।

मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी भने किसानलाई मध्यनजर गरेर कार्यक्रम बनाउने गरेको बताए। अरू क्षेत्रभन्दा मायादेवीका किसान व्यावसायिक तरकारी खेतीमा आकर्षित भएकाले गाउँपालिकाले उनीहरूको प्रवर्द्धन हुने गरी कार्यक्रम बनाउने गरेको उनको दाबी छ।

‘किसानहरूलाई सिँचाइका लागि बोरिङ, स्प्रे ट्यांकी, मल, बिउ, विषादी र प्रांगारिक मल बनाउन गाउँपालिकाले सघाउँदै आएको छ,’ उनले भने।

चौधरीले उन्नत जातका तरकारीको खेती गरिरहेका किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले कृषि सामग्री अनुदान दिने गरेको बताए। भगवती पाण्डे/ सेतोपाटी

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏