गाजर घाँसबाट युरिया बनाउने तरिका

कृषि पोष्ट संवाददाता

कृष्णमुरारी घिमिरे ।

गाजर घाँस,काँग्रेस झार, बंधनिया,चटक चाँदनी (भारतमा) बदमास नंबर एक झार(नेपालमा) नामले चिनिने यो वनस्पति अँग्रेजीमा PARTHENIUM HYSTEROPHOROUS (पार्थेनियम हिस्टेरोफोरस) नामले चिनिन्छ।यसको पात छालाको संपर्कमा आउँदा छाला चिलाउने, फोका उठ्ने र यसको हावाले दमका रोगीहरुलाई असर गर्ने हुन्छ । यही कारणले होला कुनैबेला नेपालमा बदमास नंबर एक झार भनेर चिनिन्थ्यो । यो वनस्पतिको उत्पत्ति भने नेपाल भारतमा नभएर अमेरिका क्यानडा तिर भएको हो भनिन्छ। भारतमा जताततै यहाँ सम्म कि खेती गर्ने जग्गामा समेत फैलेर खेती मास्ने गरेको पाइन्छ । १९५० को दशकमा भारतमा भएको खाद्य संकटका बेला अमेरिका,क्यनाडा बाट गहुँ आयात गर्ने क्रममा यसको बीऊ पनि संगै आएर भारतमा फैलन थालेको थियो।यसको फूल मसिना सेतो, हल्का पहेंलो हुन्छ र बीऊ भुवामा हुने भएकोले हावाको माध्यमबाट जताततै फैलिने क्रममा नेपालमा पनि प्रसार भएको मानिन्छ।

यस्तो ख़राब गुण भएको वनस्पतिलाई पनि राम्ररी सदुपयोग गर्न सके प्राँगारिक खेती गर्ने किसानकोलागि अति उपयोगी पनि बन्न सक्छ। यसको प्रयोगबाट वानस्पतिक विषादी, जैविक युरिया, कम्पोष्ट मल बनाउँन सकिन्छ। गाजर घाँसबाट निम्न तरिकाले प्रयोग गर्न सकिन्छ।

१- गाजर घाँसलाई वानस्पतिक विषादी बनाउन अन्य वनस्पतिसंग मिसाउन सकिन्छ। २- गाजर घाँसबाट वानस्पतिक युरिया (नाइट्रोजन) बनाउन सकिन्छ। ३-गाजरघाँसलाई गोबरसंग मिलाएर उत्तम प्राँगारिक कम्पोष्ट बनाउन सकिन्छ।

यहाँ गाजर घाँसबाट युरिया बनाउने तरिका बताउन खोजेकोछु।

बनाउने तरिका गाजर घाँसलाई मसिनो गरी काट्ने १ के जी गाजर घाँस = १० लिटर वेस्ट डिकम्पोजर को अनुपातले ड्रममा गाजरघाँस राख्ने र गाजर घाँसको तौलको अनुपातमा १:१०को मात्राले वेस्ट डिकम्पोजरले भर्ने र राम्ररी चलाउने। तीन-चार दिन सम्म बिहान बेलुकी लट्ठीले चलाउने २१ दिन पुगे पछि छानेर अर्को भाँडोमा सुरक्षित राख्ने।

बालीको अवस्था हेरेर १५ लिटरको स्प्रेयरमा एक-दुई लिटर पानी वा डिकम्पोजर संग छर्ने।१५-२० दिनको अन्तरालमा यसरी नै छर्ने ।

ख- गाजर घाँसबाट युरिया बनाउन हामीसंग वेस्ट डिकम्पोजर उपलब्ध छैन भने १ केजी गाजर घाँसलाई मसिनो गरी काट्ने र यौटा पोलीड्रममा राख्ने र १० लिटर पानी राख्ने, १० ग्राम फिटकिरी मसिनो गरी पिंधेर राख्ने र राम्ररी चलाएर बन्द गरेर राख्ने।एक दुई दिन खोलेर चलाउने र बन्द गरेर छोड्ने। १५ दिनमा खोलेर लट्ठीले राम्ररी चलाएर पातलो कपडाले छानेर बोतल वा कुनै प्लास्टिकको बट्टा, जर्किनमा राख्ने । बालीमा छर्नको लागि प्रति १५ लिटरको टंकीमा बालीको अवस्था हेरेर १-२ लिटर युरिया झोल पानी वा डिकम्पोजरसंग मिसेर छर्ने। गाजर घाँसबाट युरिया बनाउँदा पानीको सट्टा गोमुत्र प्रयोग गर्न पनि सकिन्छ।सामाग्रीको अनुपात १ केजी: १० लिटर पानी वा पशुमुत्र : १० ग्राम फिटकिरी अनुसार जति पनि बनाउन सकिन्छ।

ग- हामीसंग गाजर घाँस प्रशस्त छ भने धूलो कम्पोष्ट बनाउन पनि सकिन्छ।यसको लागि पक्की टैंक बनाउन पनि सकिन्छ। ३ फिट चौड़ा,३ फिट गहीरो र आवश्यकता अनुसार लामो ईंटा, ब्लक,ढुँगाको टैंक बनाएर प्लास्टर, पनिँग गर्ने।४० क्वीण्टल जति घाँसको लागि २५० केजी आलोगोबरको आवश्यकता पर्छ। ५० केजी गाजर घाँसलाई एक तह राखेर आलो गोबरलाई (२० लिटर पानीमा ६-७ केजी)पानीसंग घोलेर पातलो लेदो बनाएर त्यसमाथि छर्ने,फेरि घाँसको तह राख्ने र गोबरको लेदो छर्कंदै जाने,यसरी राख्दै टैंक भरिए पछि माथिबाट गोबर,भूस र माटो मुछेर टालिने गरी पोत्ने, कहींकतैबाट हावा छिर्नु हुँदैन, हावा छिरेमा गाजरघाँसको बीऊ राम्ररी नपच्न सक्छ र मलसंगै बारीमा पुगेर उम्रन सक्छ।छ महीनामा त्यो घाँस कुहिएर धूलो बन्दछ,र यसलाई छानेर(चालेर) बोरामा प्याक गरेर राख्न/ बेच्न सकिन्छ। आफैंले प्रयोग गर्ने भएमा नचाले पनि हुन्छ।

गाजर घाँस प्रशस्त भएको बेला वा ठाउँमा व्यवसायिक रुपमा पनि मल उद्योग संचालन गर्न सकिन्छ।तर व्यवसायिक भनेर अपरिपक्व मल तयार गरियो भने कम्पोष्ट संगै झारको बीऊ बारीमा पुगेर अर्को समस्या हुन सक्छ। घाँस नफुल्दै उखेलेर प्रयोग गर्न सके बीऊको समस्या हुँदैन। हाल भारतमा समस्याको रुपमा देखिएको गाजर घाँस,छिट्टै नै नेपालमा पनि देखिने संभावना छ, यसरी गाजर घाँसबाट युरिया,कम्पोष्ट मल बनाउने उद्योग चलाउन सके एकातिर घाँस फैलेर बाली नोक्सान गर्न सक्दैन भने वर्षेनी रासायनिक मलकोलागि बाहिरिने पैसा बँच्दछ,जसले राष्ट्रीय अर्थतन्त्रमा पनि टेवा पुग्दछ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏