जनकपुरमा माछा र मासु बिक्रीमा प्रतिबन्ध !

कृषि पोष्ट संवाददाता

१७ मंसिर, जनकपुर ।

विवाह पञ्चमीको अवसरमा नाै दिनका लागि जनकपुरमा माछा-मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । १७ देखि २६ मंसिरसम्म जनकपुरधाममा माछा-मासु र मदिराको बिक्री-वितरण नगर्न जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गरेको छ । ‘जनकपुरधाममा प्रवेश गर्ने मुख्यद्वार र सीमा एवं जनकपुरधामस्थित परिक्रमा र परिक्रमा क्षेत्रभित्र माछा-मासु र मदिराको बिक्री वितरण, सेवन तथा कारोवार गर्न पूर्णरूपमा निषेध गरिएको छ ।

सप्ताहव्यापी मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरेले बताए ।

सुरक्षाका लागि बाहिरबाट थप चार सय पचास सुरक्षाकर्मी मगाइएको छ । बाह्रबिघा मैदान, जानकी मन्दिरलगायतका स्थानलाई सिसिटिभीले समेत निगरानी गरिने व्यवस्था मिलाइएको उनले बताए ।

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत
हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ । हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत हुने तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताउनुभयो ।

जिल्लाका कतिपय ठाउँमा गहुँबाली छर्न बाँकी रहेकाले पानी परेपछि किसानले सहज भएको कृषि विकास कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नभएर गहुँ छर्न पाएका थिएनौँ । वर्षापछि गहुँ छर्ने तयारी गरेका छौँ तिला गाउँपालिका–१ का स्थानीयवासी माने रावतले भन्नुभयो, “पानी परेकाले ज्यादै खुसी छौँ ।” सिँचाइको अभाव भएको ठाउँमा गहुँबाली खेतमा उत्पादन भएको थिएनन् । सिँचाइ सुविधा नभएको ठाउँका लागि हिउँदे वर्षाले सघाएको छ । ”

गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलकादेखि स्याउका नयाँ बिरुवालाई राहत गरेको छ । हिउँदे फलफूलका बिरुवा रोप्ने समय आएको छ । फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक छ ।

अत्यधिक जाडो

वर्षाले जुम्लाको उच्च लेकाली क्षेत्रमा जाडो बढाएको छ । केही क्षेत्रमा हिमपात भए पनि धेरै समय नरोकिएको स्थानीयवासीले बताएका छन् । वर्षासँगै जिल्लाको धेरैजसो ठाउँमा जाडो बढेको छ । जाडोले जनजीवन प्रभावित भएको चन्दननाथ नगरपालिका स्थानीयवासी राकेश शाहीले जानकारी दिनुभयो । बिहीबारदेखि लगातार हल्का वर्षा भइरहेको छ ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏