पौरखी कमला : महिनामा बिक्री गर्छिन् २ लाखको दूध

कृषि पो्ट संवाददाता

काठमाडौं ।

सफलताका लागि विश्वविद्यालयको डिग्रीको सार्टिफिकेट जरुरी छैन भन्ने दरिलो उदाहरण हुन् कमला जोशी ।

साधारण लेखपढ मात्रै गरेकी कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीकी ३१ वर्षीया कमला जोशी हाल व्यावसायिक पशुपालनमा फड्को मार्दै गएकी छन् । उनी व्यवसायमार्फत मनग्यै कमाइ गर्न सफल भएकी छन् ।

उनका पति रमेशदत्त जोशी ट्रक चालक हुन् । छोराछोरी, देवरसहित उनको ५ जनाको परिवार छ । अचल सम्पत्तिको नाममा पुर्खाले जोडेको १ कठ्ठा जमिन छ तर हाल उनी आफ्नै पौरखले महिनामा २ लाख रुपैयाँ बढीको कारोबार गर्छिन् ।

फलतः उनी केही गर्नलाई ठूलै धनराशी र डिग्रीको सार्टिफिकेट होइन, हिम्मत, इच्छाशक्ति र लगनशिलता भए पुग्छ भन्ने बलियो उदाहरण बनेकी हुन् ।

६ वर्षअघिसम्म उनको परिवारमा जीविकोपार्जनको माध्यम खेतीपाती र पतिको कमाइबाहेक केही थिएन । घरखर्च जोहो गर्न उनलाई मुस्किल हुन्थ्यो तर केही न केही व्यवसाय त गर्नैपर्छ भन्ने सोचका साथ उनी २०७३ सालदेखि भूमिराज कृषि तथा पशुपालन फर्म दर्ता गरी गाईपालन व्यवसाय गर्दै आएकी छिन् ।

सानो लगानीबाट शुरू गरेको फर्मबाट हाल मासिक २ लाख बढीको दूध बिक्री हुँदै आएको कमला बताउँछिन् ।

शुरूमा ३ वटा भैंसी र २ वटा गाई किनेर ३ लाख रुपैयाँबाट व्यवसाय शुरूआत गरेको उनको फर्ममा हाल २२ वटा ठूला गरी २५ वटा उन्नत प्रजातिका गाई छन् । उनको व्यवसायमा हालसम्म ६५ लाख रुपैयाँ लगानी पुगेको छ ।

व्यवसायको शुरूआती अवस्था सुनाउँदै कमला भन्छिन्, ‘आयस्रोत केही थिएन श्रीमानको कमाइबाहेक । के गरौं, के गरौं ? लाग्थ्यो । गुजारा चलाउन धौंधौं हुन्थ्यो । शुरूमा त बंगुर पाले । पाठासहित ३५ वटा पुर्‍याएको थिएँ । सम्भावना धेरै देखिए पनि बंगुरपालनले समस्या आए जस्तो लाग्यो । पछि हाम्रा समाजमा बाहुनले बंगुर पाल्नु हुँदैन पनि भन्न थालेपछि गाई भैसीपालनतर्फ लागियो । पछि मैले चिनेका कञ्चनपुरको सुडाका विष्णु पौडेलको गाई फर्ममा गएँ । उहाँबाटै व्यवसाय गर्ने धेरै हौसला मिल्यो । एउटा गाई त त्यहाँबाट र अरु अन्य ठाउँबाट गरी ५ वटा गाई र भैंसीपालनबाट व्यवसाय शुरू गरेकी हुँ । शुरूमा भैंसी पनि पालें तर हाल गाई मात्रै छन् ।’

व्यवसायले आकार लिँदै गएपछि उनले हाल आफ्नै कमाइले १ कठ्ठा जमिन किनेर पक्की घर, पक्की गाई गोठ, गोदाम, एउटा बाइक र एउटा स्कुटी पनि किन्न सफल भएकी छन् भने २ विघा जमिन भाडामा लिई गाईलाई चाहिने घाँसखेती पनि गर्दै आएकी छन् । उनले जग्गाको प्रतिविघा भाडा वार्षिक ६० हजार तिर्दै आएको बताइन् ।

उनको हालको दिनचार्य नै साँझबिहान दूध दुहुनु हो । उनको फर्मबाट दैनिक १२० लिटर दूध उत्पादन हुन्छ । त्यही दूध स्कुटीमा लगेर डेरीसम्म पुर्‍याउनु उनको मुख्य दिनचर्या हो ।

‘दूध र पानीको भाउ बराबरै लाग्छ’

उनले हास्दै खुशी साटिन्, ‘मेरो दैनिक काम नै खाना पकाउनु । दूध दुहुनु र डेरीसम्म पुर्‍याउनु हो । धेरै गर्न नसकेपछि व्यवसायले मलाई खुशी दिएको छ । सन्तुष्ट छु ।’

उनले उत्पादित दूध वाणीकै बडिमालिका डेरी, अत्तरियास्थित सुदूरपश्चिम डेरी र दुग्ध विकास केन्द्रमा पुर्‍याउँदै आएकी छन् ।

दूधको भाउ नपाउँदा मन खिन्न हुने गरेको उनी सुनाउँछिन् । उनी अगाडि थप्छिन्, ‘दूध उत्पादन गर्न धेरै मेहनत लाग्छ हजुर तर दूधको रेटै छैन । बजारमा पानी २५–३० रुपैयाँ लिटर बिक्छ नि तर हाम्रो दूध प्रतिलिटर ५२ रुपैयाँमा बिक्री हुन्छ । पानी र दूधको रेट बराबरै लाग्छ ।’

गएको लकडाउनमा धेरै घाटा व्यहोर्नुपरेको उनी बताउँछिन् तर संकटको परिस्थितिसँग जुध्दै व्यवसायलाई गति दिँदै आएको उनले बताइन् ।

उनी सबै खर्च कटाएर मासिक करीब ४०–५० हजार रुपैयाँसम्म मुनाफा गर्दै आएकी छन् ।

बाख्रा पनि सँगसँगै, आफ्नै डेरीको सपना !

आफ्नै व्यवसायबाट स्वरोजगारसँगै मालिक तथा उद्यमी बनेकी उनले २ जनालाई रोजगारी पनि दिएकी छन् । आगामी दिनमा धेरैलाई रोजगारी दिने उनको सपना छ ।

उनी गाईपालनसँगै बाख्रापालन पनि गर्दै आएकी छन् । उनीसँग हाल ११ वटा बाख्रा छन् । उनी अझै गाई र बाख्राको संख्या बढाउने र रोजगारी सिर्जना गर्ने योजना सुनाउँछिन् ।

‘अहिलेसम्म त २ जनालाई रोजगारी दिएकी छु । बाख्राको संख्या बढाएर थप २ जनालाई रोजगारी दिने योजना छ,’ उनले भनिन् ।

निकट भविष्यमा कुनै निकायको सहयोग पाएको अवस्थामा र व्यवसायले प्रगति हासिल गर्दै गए आफ्नै डेरी सञ्चालन गर्ने योजना रहेको उनले बताइन् ।

‘दूधमा धेरै फाइदा छैन । दूधबाट अन्य पदार्थ बनाउन सके फाइदा छ । कम्तीमा पनि आफ्नो फर्मको दूध आफ्नै डेरीमा राख्न पाए हुन्थ्यो जस्तो लाग्छ । १ जना कालिगढ राखेर डेरी स्थापना गर्ने सोच छ,’ उनले भनिन् ।

कृषि क्षेत्रमा सरकारबाट धेरै किसानले विभिन्न किसिमको अनुदान पाएको देखेको बताउने उनी आफू भने स्थानीय तहको केही सहयोगबाहेक अन्य निकायबाट सहयोग पाउन नसकेको बताउँछिन् ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपरका प्रमख पानसिंह ठगुन्नाले जोशीलाई आफूहरूले जिल्लाको सफल महिला उद्यमीको रूपमा पहिचान गरेको बताउँछन् । लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏