कस्तो भाँडामा गर्ने कौसी खेती ?

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

विरुवाका लागि तापक्रम सन्तुलित हुने र राम्ररी सप्रिने भएकाले कौसी खेतीमा स्थानीय उत्पादन माटोको गमलाको प्रयोग बढी उपयुक्त मानिन्छ।

बन्दाबन्दीमा घर बसाइको फुर्सदलाई सदुपयोग गर्दै काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा कौसी खेती गर्ने क्रम बढेको छ । रहरले माटो खेलाउनेहरू मात्र होइन, बसिबियाँलोको रूपमा थालेको खेतीलाई व्यवस्थित र दिगो पार्ने प्रयासमा लाग्नेहरू उत्तिकै छन्।

व्यवस्थित रूपमा घरको कौसी र छतमा तरकारी फलाउन कस्तो प्रकारको भाँडा वा गमला उपयुक्त हुन्छ त भन्नेमा धेरैको जिज्ञासा हुन सक्छ । अहिले धेरैले प्लास्टिकको झोला र गमला प्रयोग गर्ने गरेका छन्, जुन भारत र चीनबाट आयात हुन्छन् । प्रयोग गरिरहेका यी भाँडा विरुवा तथा वातावरणमा असर गर्ने खालको त छैन भन्ने पनि विचार गर्नुपर्ने हुन्छ।

कौसी खेती गर्न सबैभन्दा पहिले घरले थाम्न सक्ने तौललाई ध्यानमा राख्नुपर्छ । त्यसै अनुसार उचित संख्या र उपयुक्त आकारको भाँडा, गमला, फ्रेम र बाकस रोज्नुपर्ने जानकारहरू सुझाउँछन् । बजारमा प्लास्टिकबाट बनेका विभिन्न डिजाइनका गमला र झोलाहरू पाइन्छन् । झट्ट हेर्दा आकर्षक देखिने यिनै प्लास्टिकको संरचना अधिकांशको रोजाइमा पर्ने गरेको छ ।

तरकारी तथा फलफूल विज्ञ डा. सुरेन्द्रलाल श्रेष्ठ विरुवाका लागि प्लाष्टिकका झोला र गमलाभन्दा माटोका भाँडाहरू राम्रो हुने बताउँछन् । “माटोका गमलामा तापक्रमको सन्तुलन मिल्ने भएकाले विरुवा फस्टाउँछ, तर बजारमा पाइने प्लाष्टिकका झोला तथा भाँडा घाम लाग्दा छिटो तातिने र चिसोमा पनि छिटै चिसिने भएकाले विरुवालाई असर गर्छ”, उनी भन्छन्, माटोको गमलाको प्रयोगले स्थानीय उत्पादन प्रवर्धन पनि हुन्छ।

तर, माटोका गमला गह्रौं हुने भएकाले घरमा यसको मात्र प्रयोग अनुपयुक्त हुने डा. श्रेष्ठको भनाइ छ । “कौसी खेती गर्दा घरको भारवहन क्षमतालाई पनि ख्याल गर्नुपर्ने हुन्छ, त्यो हिसाबले हेर्दा विरुवाका लागि राम्रो हुँदाहुँदैसबै माटोको गमला मात्र प्रयोग गर्न सकिंदैन”, उनी भन्छन्।

कृषि ज्ञान केन्द्रका प्रमुख निर्मल गदाल तापक्रम सन्तुलनका लागि माटोको भाँडा तथा गमला राम्रो भए पनि कौसी खेतीमैत्री नभएको बताउँछन् । माटोको भाँडो तथा गमलाको तौल बढी हुने र पातलो बनाउँदा फुट्ने भएकाले प्रयोग गर्न समस्या रहेको उनको भनाइ छ। यसैले विकल्पको रुपमा प्लाष्टिकको गमला तथा भाँडा प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।

गदालका अनुसार, हाल कौसी खेतीका लागि बढी प्रयोग भइरहेका भारत र चीनबाट आयातीत प्लाष्टिकका झोला तथा भाँडा र कोकोपिटको उत्पादन नेपालमै गर्ने तयारी भइरहेको छ। उनले भने, “स्थानीय उत्पादकलाई नै प्रोत्साहन गर्ने गरी प्लाष्टिकको झोला तथा भाँडा उत्पादन गर्ने तयारी छ। नमुना उत्पादन गरी विरुवाको लागि उपयुक्त छ वा छैन भनेर परीक्षण भइरहेको छ।”

गैरसरकारी संस्था गुठीले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा जूम एप तथा फेसबुक लाइभबाट कौसी खेती सम्बन्धी तालिमहरू दिंदै आएको छ । तालिमको क्रममा कौसी खेतीका लागि भार कम हुने र पुराना भाँडाहरूको पुनःप्रयोग गर्न सुझाउने गरेको गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य बताउँछन्। “छत तथा बरन्डामा भार वहन कम गर्न चामलका बोरा, फुटेका भाँडा र पातलो खालका गमलाको प्रयोग गर्न प्रोत्साहन गर्ने गरेका छौंं”, उनी भन्छन् । संस्थाले वातावरणको क्षेत्रमा पनि काम गर्ने भएकाले सकेसम्म प्लाष्टिकका झोला तथा भाँडा प्रयोग नगर्न उत्प्रेरित गरिरहेको श्रेष्ठले बताए।

पानी जम्ने भाँडा भयो भने जरा कुहिन सक्छ । पानी सोस्ने र तापक्रम सन्तुलनका लागि माटोको भाँडा राम्रो भए पनि बढी भार र अन्य कारणले प्लाष्टिकका झोला, ग्रो ब्यागहरुको प्रचलन बढेको उनको भनाइ छ ।

वनस्पति रोग विशेषज्ञ चेतना मानन्धर विरुवा रोप्ने भाँडा तथा गमला प्रयोग गर्दा पानी सोस्ने वा निकास हुनुपर्नेमा ध्यान दिनुपर्ने बताउँछिन् । पानी जम्ने भाँडा भयो भने जरा कुहिन सक्छ । पानी सोस्ने र तापक्रम सन्तुलनका लागि माटोको भाँडा राम्रो भए पनि बढी भार र अन्य कारणले प्लाष्टिकका झोला, ग्रो ब्यागहरुको प्रचलन बढेको उनको भनाइ छ ।

मानन्धर भन्छिन्, “प्लाष्टिकको गमलाभन्दा पनि झोला, ग्रो ब्यागमा बिरुवा रोप्दा वरपर सार्न सहज, माटोको गमलाको तुलनामा सस्तो पर्ने भएकाले पनि यिनको प्रयोग बढेको छ।” अहिले धेरैले हलुका हुने र धेरै माटो अट्ने भएकाले माछा राख्ने क्रेट पनि प्रयोग गरिरहेका छन्।

बागबानी विशेषज्ञ शेख नारायण विरुवा सप्रिन माटोको गमला उपयुक्त भए पनि कौसी खेती गर्दा प्लाष्टिकको झोला वा भाँडाको प्रयोग सहज र सुरक्षित हुने बताउँछन् । “प्लाष्टिकको गमला हावाहुरीले झार्दा हत्तपत्त फुट्दैन र दुर्घटनाको सम्भावना पनि कम हुन्छ”, उनी भन्छन्, “माटोको गमलाको भने तौल बढी हुने भएकाले प्रयोग जोखिमपूर्ण हुन्छ।”

वातावरणविद् डा.भुपेन्द्र देवकोटा अहिले कौसी खेतीसँगै अन्य प्रयोजनमा प्लाष्टिकका सामानको प्रयोग बढ्दै जाँदा तिनको उपयोग सकिएपछि व्यवस्थित विसर्जन गर्न सजग बन्नुपर्ने बताउँछन् । प्लाष्टिक जमीन मुनि गएर माटोको उर्वराशक्ति खराब नगरेसम्म वातावरणमा खतरा नहुने उनको भनाइ छ । “व्यवस्थित विसर्जन र व्यवस्थापन गर्दा तत्कालको लागि समस्या नदेखिए पनि दीर्घकालीन रूपमा भने यसको विकल्प खोज्न जरुरी छ”, उनी भन्छन्।

विभिन्न स्थानीय तहले कौसी खेतीलाई व्यावसायीकरण गर्ने नीति ल्याउँदै गर्दा गुणस्तरीय र टिकाउ खालका प्लाष्टिकका झोला, भाँडा तथा बाकस बनाउनुपर्ने उनको सुझाव छ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏