एक हजारबाट सुरु गरेको व्यवसायले करोडपति बनायो

कृषि पोष्ट संवाददाता

अत्तरिया –

व्यवसायबाट धेरै पैसा कमाउन धेरै लगानी आवश्यक पर्छ भन्ने आम मानिसहरुको बुझाइ हुन्छ। धेरैजसो पैसा नै छैन कसरी व्यवसाय गर्ने भन्ने प्रश्नै प्रश्नमा जीवन बेथित गर्दछन् भने कोही पैसा भएर पनि व्यवसाय गर्ने आँट गर्न सक्दैनन्। जसको नतिजा उनीहरु देश, विदेशमा जागिर खोज्न भौतारिन्छ। जसले गर्दा विभिन्न सास्ती पनि खेप्नुपर्छ।

यसरी भौतारिने अहिलेको युवा पुस्ताका लागि अपवाद हुन २८ वर्षीय प्रेमराज भट्ट। कैलालीको गोदावरी नगरपालिका– २ अत्तरिया घर भएका भट्ट अहिले करोडौंको कारोवार गर्ने युवाका रुपमा चिनिन्छन्। जो १० वर्ष अगाडि १ हजार रुपैयाँका लागि आफै भौतारिन्थे। डोटीको जोरायल गाउँपालिका- ३ मा जन्मेका भट्टले १४ वर्षमा आफ्नो जन्मघर छोडेका थिए। कक्षा नौमा अध्ययन गर्दा गर्दै उनी घरमा जानकारी नै नदिई कैलालीको अत्तरियामा रहेको दिदीको घरमा आएका थिए। बसमा आउने टिकटसमेत नहुँदा उनी दिनभर हिँडेर अत्तरिया पुगेका थिए।

‘आर्थिक रुपमा जति अवरोध भोगे पनि आफ्नो सोचलाई मर्न दिइन । मैले तत्कालको आर्थिक अवस्थाको मात्र चिन्ता लिएको भए, अहिले भारतका कुनै गल्लीमा चौकीदारी गरिरहेको हुन्थेँ । मानिस गरिब परिवारमा जन्मनु गल्ती होइन् । तर, मर्ने बेला पनि गरिब हुनु गल्ती हो ।’

घर छोड्नु त्यति बेला उनका लागि बाध्यता थियो। ‘म पढाइमा एकदमै राम्रो थिएँ। कक्षा १ देखि नै प्रथम हुन्थेँ। ३ दिदीको बिहे भइसकेको थियो। बुवा र दाइ भारतमा काम गर्नुहुन्थ्यो। घरमा म र आमा बस्थ्यौँ ’, उनले भने, ‘सबै कुरा सामान्य चलिरहेको थियो। तर, एक दिन आमा जंगलमा घाँस काट्न गएका बेला रुखबाट लड्नुभयो। आमा घाइते भएपछि उपचारका लागि धनगढी ल्याइयो। लामो समयसम्म उपचार चल्यो। त्यसपछि मैले घरमा एक्लै बस्नुपर्ने भयो। घरको सबै काम गर्नुपथ्र्यो।’

उनले १४ वर्षकै उमेरमै घरको सबै जिम्मेवारी आफ्नो काँधमा आएपछि पढाइ बिग्रियो। घरमा बसेर मनमा खिन्नता हुन थालेपछि घर छोडेर अत्तरियामा रहेको दिदीको घरमा आएको उनी बताउँछन्।

किन्न नसक्दा स्कुलमा छुट्टै ‘ड्रेस’
कक्षा नौ मा पढ्दा पढ्दै पहाडबाट तराई झरे पनि उनलाई पढाई नछोड्न घरबाट दबाबआयो। त्यसपछि उनी दिदीकै घरमा बसेर पढाइलाई निरन्तरता दिन अत्तरियामा रहेको दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा भर्ना भए।

‘अत्तरिया बजार क्षेत्रमा बसेर पढ्न सक्ने अवस्था त थिएन तर, दिदीको सहयोगले म यहाँ पढ्न पाएँ’, उनले भने, ‘त्यतिबेला विद्यालयमा जसोतसो भर्ना भए पनि मैले नयाँ ड्रेस किन्न सकिनँ। नयाँ लुगा किन्न नसकेकाले म पहाडमा कक्षा ९ मा पढ्दा जुन ड्रेस लगाउँथे त्यही ड्रेस लगाएर पढेको थिएँ। विद्यालयमा मेरो छुटै ड्रेस थियो।’

भट्टले सानैदेखि कृषि क्षेत्रमा काम गर्ने सोच बनाएका थिए। त्यही सोचलाई मूर्त रुप दिन उनले १० कक्षा उर्तिण गरेपछि थप अध्यय नगर्नै आवश्यक परे कृषि विषयमा पढ्ने योजना बनाए। कृषिमै उच्च शिक्षा अध्ययन गर्नका लागि आर्थिक अवस्था कमजोर भएका कारणले उनले १५ महिने जेटिए पढ्ने सोच बनाए।

‘मैले आर्थिक रुपमा जति अवरोध भोगे पनि आफ्नो सोचलाई भने मर्न दिइन। मैले तत्कालको आर्थिक अवस्थाका बारेमा मात्रै चिन्ता लिएको भए अहिले भारतको कुनै गल्लीमा चौकीदारी गरिरहेको हुन्थेँ’, उनले भने, ‘मानिस जन्मदै गरिब जन्मनु उसको गल्ती होइन्। तर, मर्ने बेला पनि गरिब हुनु उसको गल्ती हो भनेर सोच्थेँ।’

विभिन्न आर्थिक सीमितता अवरोध पार गरेर कृषि जेटिए उत्तीर्ण गरेका भट्टले त्यसपछि भने आयआर्जन गर्ने बाटो खोज्न थाले। ‘जेटिए पढ्नको लागि पनि जसोतसो खर्च जुटाएको थिएँ। जेटिए पढेपछि मैले जागिर खाने सोच बनाएँ। तर, जागिर खानका लागि केही पनि सफलता हात लागेन’, उनले भने, ‘मैले जागिर खाएर व्यवसाय गर्नकै लागि रकम जुटाउने योजना थियो। तर, जागिर खाने योजना सफल भएन।’

अनी सुरु भयो १ हजारको व्यवसाय
जोश थियो, जाँगर थियो, सीप पनि थियो। व्यवसाय गर्ने सोच पनि थियो। तर, उनीसँग व्यवसायका लागि लगानी थिएन। जुन आम युवाको साझा समस्या हो।

त्यसका लागि उनले सानो जुक्ती निकाले। त्यो थियो थोरै लगानीबाट सुरु गर्न सकिने च्याउँ खेती। १० वर्ष अगाडि भट्टले च्याउ खेतीगर्दा अत्तरिया क्षेत्रमा यसको व्यवसायिक खेती सुरु नै हुन सकेको थिएन। त्यो समयमा धेरैलाई घरमै च्याउ उत्पादन गर्न सकिन्छ भन्ने पनि थाहा थिएन्। त्यही समयमा उनले च्याउ खेती सुरु गरे। त्यो पनि १ हजारको लगानीमा।

‘मैले साथीभाइबाट एक हजार रुपैयाँ सापट लिएर च्याउको खेती सुरु गरेको थिएँ। आफू बस्ने कोठामै पलङ मुनी ४ पोका च्याउ राखेको थिएँ’, ती दिन सम्झदै उनले भने ‘एक हजार लगानी गरेको त्यो च्याउ खेतीबाट मैले ३ हजार कमाए। त्यसले मलाई कृषिमा झन् बढी आकर्षित गर्यो।’ उनको च्याउ खेती विस्तार हुँदै गयो। सँगसँगै उनले त्यही समयमा विद्यालयमा गएर च्याउ खेतीका बारेमा तालिम पनि दिन थाले। विभिन्न सामुदायिक वनले पनि च्याउ खेती सम्बन्धी तालिम दिन उनलाई बोलाउन थाले।

जग्गा भाडामा लिएर च्याउ खेती
आयआर्जन बढ्दै गएपछि उनले जग्गा भाडामा लिएर कृषिफर्म दर्ता गरेर व्यवसाय बढाउने सोच बनाए। जसका लागि दिदी÷भिनाजुको स्वामित्वमा रहेको जग्गा कृषि बैंकमा राखेर ऋण लिन प्रक्रिया अगाडि बढाए। ‘बैंकले मलाई त्यती सहज तरिकाले लोन दिन मानेन्। त्यतिबेला १८/१९ वर्षको थिएँ। कम उमेर भएकाले पनि बैंकलाई पत्याउन गाह्रो भयो। निकै प्रयास पछि दुई लाख लोन पास भयो’, उनले भने, ‘त्यसपछि मेरो व्यवसायीक कृषि गर्ने योजना अगाडि बढ्यो। मैले च्याउसँगै कुखुरा पालन र बंगुर पालन व्यवसाय सुरु गरेँ।’

व्यवसाय बढ्दै गएपछि कुरिलोको खेती सुरु गरँे। उनी व्यवसायबाट भएको सबै नाफा व्यवसाय थप्नमै लगानी गर्नथाले। जसले गर्दा व्यवसाय बढ्दै गयो। ‘जहाँ इच्छा त्यहाँ उपाय। आर्थिक अवस्था नाजुक भए पनि कहिल्यै हरेस खाइनँ’, उनले भने, ‘सायद त्यसैले होला १० वर्षे व्यवसायिक यात्रामा कहिल्यै पछाडि फर्केर हेर्नु परेन।’ कृषि व्यवसाय सुरु गरेको ५ वर्षमा १० हजार कुखुरा पालनसँगै करिब ६ विघा जग्गामा कुरिलो खेती विस्तार गरेका उनले अहिले आफ्नै कुखुराको दाना बिक्री गर्नेे पीके पोल्ट्री एण्ड कृषि सप्लायर्स पनि संचालन गरेका छन्।

कृषि सप्लायर्सको वार्षिक २५ करोड कारोबार
कृषि सप्लायर्सबाट मात्रै वार्षिक २० देखि २५ करोडको कारोबार हुने गरेको उनको भनाइ छ। पछिल्लो समय दानाको कारोबार बढ्न थालेपछि उनले आठ जना साथीसँग ५ करोडका दरले ४० करोड लगानी गरेर रोयल फिड उद्योग नै संचालनमा ल्याएका छन्।

च्याउ खेतीबाट सुरु भएको उनको कृषि यात्राले अहिले कृषि क्षेत्रकै उद्योगीको रुपमा पहिचान बनाइसकेको छ। बस चढ्ने भाडा नहुँदा पहाडबाट हिँडेर तराई झरेका भट्ट अहिले आफ्नै कारमा हिँड्ने गरेका छन्। उनले अत्तरिया र धनगढी बजार क्षेत्रमा घर बनाइसकेका छन्। तराईंमा एक धुर जग्गा नभएका उनले १० वर्षकै अवधिमा २ बिगा जग्गा पनि जोडिसकेको बताए।

उनले भारतमा रोजगारी गर्ने बुवा र दाइ पनि अहिले आफूसँगै काममा सघाउने गरेको बताए। उद्योगबाहेक अहिले प्रत्यक्ष रुपमा ९ जनाले र दर्जनौले अप्रत्यक्ष रुपमा रोजगार पाएका छन्।

उचित नीति नबन्दा युवा बेरोजगार
नेपालमा धेरै सम्भावना भए पनि प्राकृतिक श्रोत साधनको उचित प्रयोग गर्न सक्ने नीति नबन्दा अहिले पनि धेरै युवा बेरोजगार बस्नु परेको उनी बताउँछन्।

‘नीति निर्माण गर्ने ठाउँमा सकारात्मक सोच भएको क्षमता भएको मान्छे नहुँदा नेपाल गरिब भएको छ। जसका कारण म पनि पछिल्लो समय यो नीति निर्माण गर्ने ठाउँमा पुग्नुपर्छ भनेर राजनीतिमा पनि सहभागी हुन थालेको छु’, उनले भने, ‘नेपाल प्रकृतिले सम्पन्न भएपनि देश गरिब हुनुको कारण निती निर्माण सही नहुनु हो।’

उनले अहिले युवा व्यवसायी बन्न नसक्नुको कारण साहसको अभाव, जोखिम लिन नसक्नु र राज्यले लगानी सुरक्षाको ग्यारेन्टी गर्न नसक्नु भएको बताए। जसका कारण नेपाल तरकारीदेखि साना वस्तुमा पनि भारतमा निर्भर रहनु परेको उनको बुझाइ छ।

तपाई हरु संग पनि कृषि समचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पाउनुहोला 🙏